समयमै परीक्षणको प्रबन्ध मिलाऊ
स्वाब परीक्षणमा ढिलाई भएको गुनासो आइरहेको छ । परीक्षण ढिलो हुँदा सामान्यतया क्वारेन्टाइनमा बस्ने अवधिभन्दा बढी नागरिक त्यहाँ बस्नु परिरहेको छ । यस्तो बेलामा परीक्षण किट सकिएर तथा समयमै आई नपुगेर परीक्षण नै रोकिनु भनेको दुःखद् कुरा हो । समयमै किट ल्याई पु¥याउने तौरतरिका हेर्दा व्यवस्थापकीय क्षमता र गाम्भिर्यता पटक्कै देखिएन । यहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ मेसिन थपिएसँगै दैनिक एक हजार व्यक्तिको पिसिआर परीक्षण गरिने तयारी भइरहेकै बेला पिसिआर परीक्षणका लागि आवश्यक रिएजेण्ट किटको अभाव हुँदा करिब ४ हजार जति संकलित स्वाब परीक्षणको काम रोकिएको छ । रिएजेण्ट किटको अभावमा रोकिएको परीक्षणको काम किट नआउँदै सुरु हुन सक्दैन । किट भने ट्रकबाट आउँदै बाटोमा छ ।
संघीय स्वास्थ्य मन्त्रालयले ट्रान्सपोर्टको गाडीमा पठाएको किट सडकमा पहिरो खसेका कारण रोकियो, जसक कारण यहाँ परीक्षण प्रभावित नै हुन पुग्यो । पिसिआर किटजस्तो सामग्रीहरु कार्गो गाडीमा पठाउनु र समयमै आई नपुग्नु अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो । नागरिकको स्वास्थ्य सेवामा खेलवाड हो । किट यो संकटका बेलामा अत्यावश्यक कुरा हो । यो स्टकमै राख्नुपर्ने हो । सकिनु र ल्याउँदाखेरि बाटोमै अलपत्र पर्ने अवस्था आउनुले लापरवाही प्रष्ट्याउँछ । बढीमा चार लाख रुपैयाँ खर्च गरे मुलुकका कुनै पनि भागमा हेलिकोप्टरबाटै पनि स्वास्थ्य सामग्री पठाउन सकिन्छ । यसो नगरेर अत्यावश्यक सामान बोक्ने साधनलाई कहीँ नरोक्ने नीति लिएको राज्यले स्वास्थ्य सामग्री बोक्ने गाडीलाई समयमै गन्तव्यमा पु¥याउने कामलाई भने वेवास्ता गर्नु चरम लापरवाही हो । काठमाडौंबाट विहीवार साँझ हिंडेको गाडी मुग्लिन नारायणघाट सडकखण्डको जलवीरेमा खसेको पहिरोले घण्टौँ रोकिएको थियो । गाडीका चालकले सम्बन्धित निकायमा सम्पर्क गर्दा पनि खासै रेस्पोन्स नपाएको गुनासो गरे । त्यहाँ खटिएका प्रहरीहरुले पनि सहयोग नगरेको चालकको गुनासो रह्यो । यसरी अत्यावश्यक सामान पु¥याउने प्रक्रियामा राज्यका संयन्त्रहरुको कमजोरी खुलस्त देखियो ।
स्वास्थ्य मन्त्रालयले चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी र सुर्खेतका विभिन्न औषधि त्यसरी नै पठाएको छ । दाङ आउन त यो हालत भयो भने अझ पश्चिम पुग्न के अबस्था होला ! यस्ता कुरामा सबै संयन्त्रहरु सजग बन्न जरुरी छ । दुईवटा ल्याव जडान भइसकेपछि अब कुनै वहानामा परीक्षण नरोकिने गरी प्रबन्ध मिलाउन आवश्यक छ ।
