Goraksha

National Daily

जाममा फस्यो किट बोकेको गाडी, रोकियो पिसिआर परीक्षण

खेमराज रिजाल
दाङ, ५ असार । नयाँ मेसिन थपिएसँगै दैनिक एक हजार व्यक्तिको पिसिआर परीक्षण गरिने तयारी भइरहेकै बेला पिसिआर परीक्षणका लागि आवश्यक रिएजेण्ट किटको अभावमा विहीवार रातिदेखि यहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण नै रोकिएको छ । करिब ४ हजार जति संकलित स्वाब परीक्षणको काम रोकिएपछि क्वारेन्टाइनमा बसेका नागरिकको पनि स्वाब निकाल्ने काम रोकिएको हो ।

‘रिएजेण्ट किटको अभावमा गय रातिदेखि पिसिआर परीक्षण रोकिएको हो, किट नआएसम्म परीक्षण सुरु हुने अवस्था छैन’–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत झन्कार लामिछानेले गोरक्षलाई बताए । हिजो साँझ काठमाडौंबाट हिंडेको सामान अझै आई नपुगेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार राजमार्गमा आएको पहिरोका कारण पिसिआर रिएजेण्ट किट बोकेको गाडी जाममा परेको हो ।

संघीय स्वास्थ्य मन्त्रालयले ट्रान्सपोर्टको गाडीमा पठाएको किट सडकमा पहिरो खसेका कारण रोकिएको बताइएको छ । ‘पिसिआर किटजस्तो सामग्रीहरु कार्गो गाडीमा पठाउनु र समयमै आई नपुग्नु अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो, नागरिकको स्वास्थ्य सेवामा खेलवाड हो’—दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले भने । बढीमा चार लाख रुपैयाँ खर्च गरे मुलुकका कुनै पनि भागमा हेलिकोप्टरबाटै पनि स्वास्थ्य सामग्री पठाउन सकिने अवस्था भएको यो कामलाई सही भन्न नसकिने भुसालको भनाई छ । तर अत्यावश्यक सामान बोक्ने साधनलाई कहीँ नरोक्ने नीति लिएको राज्यले स्वास्थ्य सामग्री बोक्ने गाडीलाई समयमै गन्तव्यमा पु¥याउने कामलाई भने वेवास्ता गर्नु चरम लापरवाही हो ।

काठमाडौंबाट विहीवार साँझ हिंडेको गाडी मुग्लिन नारायणघाट सडकखण्डको जलवीरेमा खसेको पहिरोले घण्टौँ रोकिएको थियो । सयौँ अन्य ट्रकहरुबीचको जाममा पहिरो हटाइए पनि एक किलोमिटर अघिसम्म पुग्न करिब तीन घण्टा लागेको किट बोकेर आउँदै गरेका गाडी चालक बिनोद भण्डारीले गोरक्षलाई बताएका छन् । उनका अनुसार अत्यधिक जामका कारण मुग्लिन नारायणघाट सडकखण्ड पार गर्न मात्रै करिब १७ घण्टा लागेको थियो ।

‘औषधि बोकेको गाडी हो, प्राथमिकतामा बाटो खुलाइदिनुस्’ भनेर प्रहरीलाई धेरै आग्रह गरे पनि आफूले प्राथमिकता पाउन नसक्दा शुक्रवार विहान ढिलो गरी चितवनमा पुगेको चालक भण्डारीले बताए । रातीको समयमा आपूm धेरै समय जाममा फसेको कार्यालयका अधिकारीहरुलाई बताउन खोजे पनि कसैको फोन उठ्न नसकेको उनले गुनासो गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी र सुर्खेतका विभिन्न औषधि बोकाएर पठाएको चालकले बताएका छन् । यस अघि रेफ्रिजेरेटर बोक्ने ट्रक आकारको गाडीलाई स्वास्थ्य मन्त्रालयले पछिल्लो समयमा विभिन्न जिल्लामा खोप सामग्रीहरु बोक्ने प्रयोजनमा लगाएको बताइएको छ । सोही गाडिले अहिले विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्थाहरुमा पिसिआर रिएजेण्ट किट समेत बोक्दै आएको चालकले बताएका छन् । ‘मलाई पनि कत्ति मनप¥या छैन, यस्ता अत्यावश्यक सामान त अन्य छिटोछरितो साधनमा पठाए पनि हुन्थ्यो नि’—चालक भण्डारीले भने । आफू धनगढीसम्म पुगेर आज साँझ नै काठमाडौं फर्कने तयारी गरेको बताउने चालक भण्डारीले जाममा पर्दा खानापानीको समेत समस्या भएको बताए । घण्टौँ जाममा पर्दा पनि गाडी बन्द गर्न नमिल्ने भएकाले इन्धनको समेत धेरै खपत भएको उनको अभिव्यक्ति थियो । चौबीसैघण्टा फ्रिजमा राख्नुपर्ने खोपहरु बोक्ने गाडी भएकाले गाडीमै अटोमेटिक फ्रिज व्यवस्थापन भएको पनि उनको अभिव्यक्ति थियो ।

जताजतै ढिलासुस्ती र मनोमानी
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमण नियन्त्रणमा मुलुकको १० अर्बभन्दा बढी रुपैयाँ खर्च भए पनि व्यवस्थापकीय काममा मनोमानी र ढिलासुस्ती भएका कारण परीक्षणका कामहरु आशानुरुप हुनसकेका छैनन् । यो समस्या क्वारेन्टाइन व्यवस्थापन, स्वाब संकलन तथा परीक्षण र नतिजा सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनमै पनि देखिएको छ ।

सुरुमा त जिल्लामा कोरोना भाइरसको पिसिआर परीक्षण नै उपलब्ध थिएन । त्यसपछि सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर मेसिन उपलब्ध गराएपछि यहीँ नै पिसिआर परीक्षण हुन थाल्यो । शंकास्प्रद संक्रमितहरु थपिँदै जाँदा एउटा मेसिनले आवश्यक मात्रामा पिसिआर परीक्षणलाई थेग्न सकेन । त्यसपछि थप अर्को मेसिन पनि जडान भई सञ्चालनमा आएको थियो । यसमा पनि किटको अभाव देखिएपछि फेरि परीक्षण नै रोकिने अवस्था सिर्जना भएको हो ।

स्वाब निकाल्ने प्रक्रियामै बेला–बेलामा समस्या भएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताएका छन् । सुरुमा बेलझुण्डी कोरोना अस्पताललाई स्वाब निकाल्ने र सम्बन्धित स्थानमा लगेर परीक्षणको नतिजा उपलब्ध गराउने जिम्मेवारी थियो । तर जनशक्ति अपुग भएको भन्दै कोरोना विशेष अस्पताल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा थप स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिइयो । तर पनि आवश्यक मात्रामा उपयुक्त समयमा स्वाब लिन नै नआउने गरेको गुनासाहरु क्वारेन्टाइन व्यवस्थापकहरुले गरेका छन् । एक जना क्वारेन्टाइनका व्यवस्थापकले गोरक्षलाई भने– ‘क्वारेन्टाइनमा राखिएको २४ दिनसम्म पनि स्वाब निकाल्न कोही आएका छैनन्, जनप्रतिनिधिलाई भन्दा मेसिन प्याक भएको बताइरहेका छन् ।’ सबै निकायको ढिलासुस्तीको शिकार आम नागरिक बन्दै आएका छन् ।