जाममा फस्यो पिसिआर परीक्षण किट बोकेको गाडि

खेमराज रिजाल
दाङ, ५ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण रोकिएको छ । करीव ४ हजार जति संकलित स्वाव परीक्षणको काम रोकिएपछि क्वारेन्टाइनमा बसेका नागरीकहरुको पनि स्वाव निकाल्ने काम रोकिएको हो ।

‘रिएजेण्ट किटको अभावमा गएरातीदेखि पिसिआर परीक्षण रोकिएको हो, किट नआएसम्म परीक्षण सुरु हुने अवस्था छैन’—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत झंकार लामीछानेले गोरक्षलाई बताए । हिंजो सांझ काठमाण्डौबाट हिंडेको सामान अझै आइनपुगेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार राजमार्गमा आएको पहिरोका कारण पिसिआर रिएजेण्ट किट बोकेको गाडि जाममा परेको हो ।

संघीय स्वास्थ्य मन्त्रालयले ट्रान्सपोर्टको गाडिमा पठाएको किट सडकमा पहिरो खसेका कारण रोकिएको बताइएको छ । ‘पिसिआर किट जस्तो सामाग्रिहरु कार्गो गाडिमा पठाउनु र समयमै आइनपुग्नु अत्यन्तै दुर्भाग्यपुर्ण अवस्था हो, नागरीकको स्वास्थ्यसेवामा खेलवाड हो’—दाङ उद्योग वाणिज्यसंघका अध्यक्ष नारायण भुषालले भने । बढिमा चार लाख रुपैया खर्चगरे मुलुकका कुनैपनि भागमा हेलिकोप्टरबाटै पनि स्वास्थ्य सामाग्रि पठाउन सकिने अबस्थामा भएको यो कामलाई सही भन्न नसकिने भुसालको भनाई छ ।

काठमाण्डौबाट विहिवार सांझ हिंडेको गाडि मुग्लीन नारायणघाट सडक खण्डको जलवीरेमा खसेको पहिरोले घण्टौं रोकिएको थियो । सयौं अन्य ट्रकहरुबीचको जाममा पहिरो हटाइएपनि एक किमि अघिसम्म पुग्न करीव तीन घण्टा लागेको किट बोकेर आउँदै गरेको गाडीका चालक विनोद भण्डारीले गोरक्षलाई बताएका छन् । उनका अनुसार अत्यधिक जामका कारण मुग्लीन नारायणघाट सडक खण्ड पारगर्नमात्रै करीव १७ घण्टा लागेको थियो ।

संभवतः शुक्रबार सांझसम्म पिसिआर रिएजेण्ट किट बोकेको गाडि लमहीसम्म आइपुग्ने र लमहीबाट उनले ल्याएका किट बक्स राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिसिभ गर्ने छ ।