अमरराज आचार्य
दाङ, ३ असार । सरकारले जिल्लाका ४ स्थानीय तहमा क्वारेन्टाइन स्थापना, व्यवस्थापन तथा मर्मतका लागि ३१ लाख ४ हजार ८ सय रुपैयाँ विनियोजन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लाका ४ वटा स्थानीय तहहरुलाई यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार गढवा गाउँपालिकाका लागि ३ लाख २४ हजार एक सय ७५ रुपैयाँ, बबई गाउँपालिकाका लागि ९ लाख ७५ हजार ८ सय ७५ रुपैयाँ, शान्तिनगर गाउँपालिकालाई १० लाख एक हजार ६ सय रुपैयाँ र लमही नगरपालिकालाई ८ लाख ३ हजार एक सय ५० रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ । मन्त्रालयले देश भरका एक सय ७६ वटा स्थानीय तहमा क्वारेन्टाइन स्थापना तथा व्यवस्थापन र मर्मतका लागि निकासा दिन निर्धारण गरेको हो ।
एक सय ७६ वटा स्थानीय तहका लागि १३ करोड २२ लाख ५६ हजार ८ सय २५ रुपैयाँ निर्धारण गरेको छ । यसैगरेर देशका २० वटा स्थानीय तहहरुमा होल्डिङ सेण्टर स्थापना तथा व्यवस्थापन र मर्मत सुधारका लागि निकासा दिन रकम निर्धारण गरेको हो । यसका लागि २ करोड ७७ लाख २३ हजार रकम निर्धारण गरेको जनाएको छ ।
कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि स्थानीय तहहरुले स्थापना तथा व्यवस्थापन गरी सञ्चालनमा रहेका क्वारेन्टाइनहरुको मर्मत सुधार गर्न, क्वारेन्टाइनहरुलाई निर्धारित मापदण्ड वमोजिम थप व्यवस्थित गर्ने कवारेन्टाइनमा बसेका व्यक्तिहरुको बन्दोवस्त र खानपिन व्यवस्थापन गर्ने आवश्यकता अनुसार स्वास्थ्य जाँच गर्नेलगायतका लागि रकम निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।
जिल्लामा स्थानीय तहहरुले बनाएका क्वारेन्टाइनहरु सरकारले बनाएको मापदण्डअनुसार सञ्चालनमा आउनसकेका छैनन् । धेरैलाई एकै स्थानमा राखिँदा कोरोना भाइरस संक्रमण थप बढेको क्वारेन्टाइनमा बसेकाहरुले बताउँदै आएका छन् । धेरै एकै स्थानमा बस्नु पर्दा शौचालय तथा खानेपानीको समेत समस्या भोग्दै आएका छन् । उनीहरुले साबुन, मास्क तथा सेनिटाइजर समेत पाउन नसकेको उनीहरुको गुनासो रहेको छ । क्वारेन्टाइनमा बसे पनि घरबाटै खाना ल्याएर खाने गरेका छन् ।