खेमराज रिजाल
दाङ, ३ असार । जिल्ला विपद् व्यवस्थापन समिति तथा कोरोना संकट व्यवस्थापन समिति दाङको संयुक्त बैठकले जिल्लामा संक्रमितको संख्या अनपेक्षित रुपमा बढ्न थालेपछि भीडभाड कम गराउने उपायहरु अवलम्बन गर्ने निर्णय गरेको छ । यसैगरी संक्रमण समुदायमा फैलिइसकेको वा नसकेको कुराको एक साताभित्रै एकिन गरी लकडाउनको स्वरूपमा पुनरावलोकन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सरकारले कुनै पनि एक जिल्लामा कम्तिमा २ सयभन्दा बढी संक्रमितहरु देखिएको अवस्थामा सो क्षेत्रलाई रेडजोन मानी त्यस स्थानमा लकडाउनका साथै सम्बन्धित क्षेत्रलाई शिल गर्नसक्ने, कफ्र्यु आदेश जारी गर्नसक्ने तथा आवतजावत र भीडभाड कम गर्न सेना परिचालन समेत गर्नसक्ने बताएको थियो ।
त्यसैअनुसार दाङमा पनि संक्रमण फैलिएको अवस्थामा अवस्था अनुमान गरी सम्बन्धित क्षेत्रलाई सिल गर्ने तयारी सो बैठकले गरेको छ । ‘आजै संक्रमितहरुको क्षेत्रलाई सिल गर्ने निर्णय भएको छैन, तर आन्तरिक मुभमेण्ट कम गर्नका लागि प्रहरी प्रशासनले लकडाउनलाई धेरै कडाई गर्ने छ’–बैठकपछि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने । ‘संक्रमण बढी देखिएका वडाहरुलाई सिल गर्ने कि भन्ने कुरा पनि उठेको हो, तर एक सातासम्म हेरौँ र अघि बढौँ भन्ने धेरैको कुरा आएपछि थप त्यस्तो निर्णय भएन’–बैठकमा सहभागी नेकपाका अध्यक्ष टीकाराम खड्काले भने ।
जिल्लामा स्वाब परीक्षणको दरलाई बढाउन तथा समुदायस्तरमा पनि परीक्षणको दायरा बढाउन कन्ट्याक्ट ट्रेसिङलाई थप प्रभावकारी बनाइने निर्णय पनि बुधवारको बैठकले गरेको छ । ‘यसका लागि आवश्यक पिसिआर किट उपलब्ध गराउन प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्ने भएको छ’–प्रमुख जिल्ला अधिकारी रिजालले भने ।
बुधबारको निर्णयपछि पनि यस अघि सरकारले खोल्न नहुने भनिएका सबै प्रकारका व्यावसायिक प्रतिष्ठान बन्द नै हुनेछन् । कुनै पनि पसल तथा होटल व्यवसाय विहीवारदेखि लागू हुने गरी साँझ ५ बजेदेखि खुल्न पाउने छैनन् । होटलहरुमा आवासीय बसोबासको व्यवस्थापन गर्न पाइने छैन । सरकारले तोकेवमोजिम खाना/खाजा प्याकिङ गरेर बेच्न मात्रै होटलहरुलाई बैठकले छुट दिएको हो । दर्जनभन्दा बढी नागरिक भेला हुनेखालका कुनै पनि गतिविधिहरु गर्न पाइने छैन । फुटबल, फुटसल, जिमखाना, कस्मेटिक्स, व्यूटीपार्लरलगायतका स्थलहरु खुल्ने छैनन् ।
निजी सवारी साधनहरु भने यसअघि सरकारले तोकेको सामाजिक दूरीको मापदण्ड कायम गरेरै जोर–विजोर मात्र चल्नपाउने छन् । तर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा गृहमन्त्रालय तथा स्थानीय प्रशासनको पास अनिवार्य चाहिने बताइएको छ ।
बैठकले कोरोनाको संक्रमणमा निधन भएका व्यक्तिको शव सम्बन्धित व्यक्तिको स्थायी ठेगाना भएको पालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ । अन्य स्थानमा संक्रमितको व्यक्तिको शव गाड्दा विरोध समेत आइरहेकाले बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी शव व्यवस्थापनका लागि घोराही र तुलसीपुर उपमहानगरपालिकाले एक÷एकवटा शव वाहन र एक/एकवटा एम्बुलेन्स खरिद प्रक्रियालाई तत्काल अघि बढाउने पनि निर्णय गरिएको छ । लमही नगरपालिकामा रहेको एक्बुलेन्सलाई तत्कालका लागि जिल्ला संकट व्यवस्थापन समितिको सम्पर्कमा राख्ने पनि निर्णय भएको छ ।
बैठकले जिल्लामा कोरोना संक्रमितहरुको प्रभावकारी उपचार गर्नका लागि परीक्षण विधि बढाउन दुई दिनभित्रै रिएजेण्ट कम्तिमा पनि दश हजार व्यक्तिको परीक्षण गर्ने गरी जिल्लामा ल्याउने, दैनिक एक हजार व्यक्तिको पिसिआर परीक्षण सार्वजनिक गर्ने गरी तयारी गर्ने, क्वारेन्टाइनहरुलाई थप व्यवस्थित गर्ने, संक्रमितहरुका लागि सम्बन्धित क्वारेन्टाइनमै आइसोलेशन बनाउने, सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्ने, यसैगरी वर्षातको समय भएकाले बाढीपहिरोको जोखिमबाट बच्नका लागि वडा–वडामा सचेतना फैलाउने, बाढी पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाई उद्धार कार्यलाई व्यापक बनाउने, यसका लागि प्रचार–प्रसार गर्न नेपाल पत्रकार महासंघसँग समन्वय गर्ने, बजारमा व्यवसायीहरुलाई सचेत र सजग बनाउन उद्योग वाणिज्य संघ र च्याम्बरसँग समन्वय गर्ने, गाउँपालिकाहरुमा सचेतना कार्यक्रम अन्तर्गत माइकिङ गर्न सम्बन्धित गाउँपालिकासँग समन्वय गर्ने निर्णय गरेको छ ।
जिल्लाका प्रमुख राजनीतिक दलका प्रमुख, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघ तथा स्थानीय पालिका प्रमुखहरुको समेत सहभागिता र जिल्ला सुरक्षा समितिका अधिकारीहरु समेतको संलग्नतामा सम्पन्न बैठकमा एक हप्ताभित्र परीक्षण गर्न बाँकी सबैको परीक्षण गरेर पनि रिर्पोट बाहिर ल्याउने गरी तयारी गर्न अवश्यक वातावरण बनाउने विषयमा पनि छलफल थियो । क्वारेन्टाइनमा बसेकाहरुमध्ये नेगेटिभ आएकाहरु घर जाने छन् भने पोजेटिभ देखिएकाहरुको उपचार सुरु गर्ने गरी रणनीति बनाउने सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।
सुन तथा कपडा व्यवसाय बन्द
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि सुनचाँदी पसल तथा सिलाई व्यवसाय बन्द गरिएको छ । लकडाउन खुकुलो भए पनि सञ्चालनमा आएका व्यवसाय जिल्लामा संक्रमितहरुको संख्या बृद्धि भएसँगै बन्द भएका हुन् । घोराही क्षेत्रमा सुनचाँदी व्यवसाय बुधवारदेखि बन्द भएका छन् । घोराही क्षेत्रका सम्पूर्ण सुनचाँदी पसल अर्को निर्णय नहुँदासम्म बन्द हुने सुनचाँदी व्यवसायी समितिले जनाएको छ । पसल बन्द हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा याचना गरेको छ ।
यसैगरेर सिलाई तथा कपडा व्यवसायी संघ दाङले जिल्लाभरका सम्पूर्ण कपडा व्यवसाय विहीवारदेखि बन्द गर्ने भनेको छ । संघको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । ग्राहकवर्गसँग दूरी कायम गरी काम गर्ने नसकिने भएको व्यवसाय खोलेर आफूलगायत घरपरिवार समेत असुरक्षित हुने भएकाले सहज वातावरण नहुँदासम्म बन्द गर्ने निर्णय गरेको हो । बैठक संघका अध्यक्ष चुर्णबहादुर नेपालीको अध्यक्षतामा भएको थियो ।