इन्द्र डि.सी.
दाङ, ३ असार । लकडाउनलाई खुकुलो बनाए तापनि सडकमा हुलका हुल निस्कने अवस्था भने आउन नदिने उद्देश्यले देशभर सवारी साधनमा ‘जोर–बिजोर प्रणाली’ लागू भयो । काठमाडौंमा यस्तो अभ्यास थुप्रै पटक भए तापनि दाङमा भने यो नौलो अभ्यास हो । यो प्रणाली अनुसार जोडा दिनमा जोड अंकका निजी साधन र बिजोडा दिनमा विजोर अंकका निजी सवारी साधन मात्र सडकमा गुड्ने छन् । प्रहरीले यो प्रणाली लागू गर्न सडमा उभिएर जाँचलाई तीब्र बनाउन थालेको छ ।
बुधवार विहान प्रहरीले घोराही–तुलसीपुर सडकखण्डको पर्सेनीमा जाँच थाल्दा क्षणभरमै सवारी साधनको लाइन नै लाग्न पुग्यो । अधिकांश सवारी साधन सरकारले लागू गरेको जोर–विजोर प्रणाली अनुरूप सञ्चालन भएका थिएनन् । प्रहरीले केही सयम ती साधनलाई होल्ड गरेर नै राख्यो । होल्ड गरेर राखेका सवारी चालकलाई जोर–विजोरको बारेमा सम्झाएर गन्तव्यमा पठाइएको चेकजाँचमा खटिएका प्रहरी अधिकारीले बताए ।
कोरोना संक्रमणसँगै सुरु भएको लकडाउनलाई खुकुलो बनाउँदै सरकारले असार १ गतेदेखि निजी सवारी साधनको लागि जोर–विजोर प्रणाली सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम रेग्मीका अनुसार जोर–विजोर प्रणाली लागू गरिए पनि यसबारे सबैलाई सूचना भने नपुगिसकेको आफूहरुको अनुभव रहेको बताए । ‘हामीले जाँच गर्दा धेरैले थाहा नपाएर चलाएको बताउनुभयो, ती सबैलाई केहीबेर होल्ड गरेर सचेत पार्ने काम गरेका छौँ’–प्रमुख रेग्मीले भने । उनका अनुसार मंगलवार जिल्लाभर एक सय ३१ सवारी चालकलाई जोर–विजोरको बारेमा सचेत पार्ने काम भएको थियो ।
बुधवार घोराही क्षेत्रमा ५० र तुलसीपुरको पर्सेनी क्षेत्रमा ३० जनालाई सचेत पार्ने काम भएको छ । जिल्लाका धेरै ठाउँमा यो काम भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जोर–विजोरको पालना नगरी साधन चलाउनेलाई प्रहरीले समाउँदा कसैले विरामी बोकेको वहाना गराउने, कसैले औषधि लिने र कसैले मरेको ठाउँमा जाने वहाना समेत गर्ने गरेका छन् । ‘जाँचका क्रममा एक जनाले आफन्त मरेको ठाउँमा जान लागेको छु भनेर भन्यो, पछि बुझ्दा त्यसो रहेनछ’–जाँचमा खटिएका एक प्रहरी जवानले भने–‘गन्तव्यमा पुग्नको लागि सवारी चालक प्रहरीलाई छल्न समेत तयार छन् ।’ जोर–विजोरको पहिलो पटकको अभ्यासमा धेरै अन्योलमा पर्नु स्वाभाविकै भएको ठानेर प्रहरीले सम्झाएर छोड्ने गरेको छ । ‘जिल्लाको लागि यो नयाँ नियम हो । त्यो भएर हामीले सचेत पार्ने काम गर्दै आएका छौँ’ ट्राफिक प्रहरी प्रमुख रेग्मीले भने ।
उनकाअुनसार प्रहरीले अहिले सडकबाट कोरोना र सडक दुर्घटनासम्बन्धी सचेतना दिने गरेको छ । ‘जोर–विजोरसँगै अनिवार्य मास्क प्रयोग, सामाजिक दूरी र सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनालाई प्राथमिकता दिने गरेका छौँ’ उनले भने । प्रहरीले जोर–विजोर प्रणाली लागू गर्नुको लागि माइकिङ समेत थालेको छ । धेरै व्यक्तिबाट अन्योलताको आवाज आएपछि त्यो चिर्नको लागि प्रहरीले सचेतनाको कामलाई प्राथमिकता दिएको प्रमुख रेग्मीले बताए । प्रहरीका अुनसार मोटरसाइकलमा चालक मात्र र निजी सवारी साधनमा चालक सहित ३ जना राखेर चल्न पाउने व्यवस्था गरेको छ । मोटरसाइकलमा चालक मात्र बस्न पाउने नियमको आलोचना भए पनि सरकारले अझै सुधार गरेको छैन ।