गोरक्ष समाचारदाता
दाङ, ३ असार । नेपाली कांग्रेसका सांसदहरुले संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् । ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणका सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयहरुमा नेपाल सरकारले गरेका काम र तयारीका सम्बन्धमा संसद्लाई स्पष्ट पार्न र जनस्वास्थ्यमा थप संकट आउन नदिन तत्काल सरकारलाई मार्गनिर्देश गर्न अपरिहार्य भएकाले’ सो प्रस्ताव दर्ता गरिएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिएका छन् । प्रस्तावमा खाँडका साथै कांग्रेसका सांसद्द्वय पुष्पा भुसाल र गगनकुमार थापाले हस्ताक्षेर गरेका छन् ।
उनीहरुले दर्ता गराएको प्रस्तावमा सरकारलाई १० बुँदामा ध्यानाकर्षण गराउनुपर्ने उल्लेख छ । संक्रमण परीक्षणको गतिमा तीव्रता र दायरा फराकिलो बनाउने, आरडिटी परीक्षण रोक्ने, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्था मादण्डको कार्यान्वय र त्यसका लागि स्थानीय सरकारलाई आर्थिक, प्राविधिक सहयोगका साथै जनशक्ति उबलब्ध गराउने, प्रभावकारी कन्ट्याक्ट ट्रेसिङका लागि चुस्त प्रणालीको विकास गर्ने, कोरोना उपचारको जिम्मा पाएका अस्पताललाई आवश्यक उपकरण तथा औषधि उपलब्ध गराउने, स्वास्थ्यकर्मीको सुरक्षा सामग्रीको उपलब्धता तथा उपचार सहज बनाउन ‘क्रिटिकल तालिम’को व्यवस्था गर्ने जस्ता विषयहरुमा सरकारको ध्यानाकर्षण गराउनका लागि सो प्रस्ताव दर्ता गराइएको प्रस्तावमा उल्लेख छ । यसैगरी मनोशामाजिक परामर्शको स्थानीय तहसम्ममा नै व्यवस्था गर्ने विषय पनि कांग्रेसका सांसद्हरुले दर्ता गराएको प्रस्तावमा उल्लेख छ ।