सुरेशकुमार परियार
रुकुम जाजरकोटमा प्रेमको नाममा भएको घटना हाम्रो समाज र सामाजिक चेतनाको स्तर देखाउने एक ज्वलन्त उदाहरण हो । संविधानले सबै जातजाति, धर्म, लिङ्ग, उँच–नीचको भेदलाई समाप्त गरिसकेको छ । यस्तो अवस्थामा आफूलाई ठूलो जात मान्ने मूर्ख पाखण्डीहरुको मानवता विरोधी क्रुर घटनाले समाजमा भाइचारा सामाजिक सद्भावनामा दखल पु¥याउने निन्दनीय कामबाट प्रत्येक नेपालीको शीर शरमले लज्जित बनाई झुकाइदिएको छ ।
यस्तो घृणित अमानवीय क्रुर घटना घटाउने अपराधीहरुमाथि हदैसम्मको सजाय हुन आवश्यक छ । यद्यपि अहिले यो मुद्दामा बहस जारी छ । तर, यदि यसमा कुनै राजनीतिक आग्रह वा पूर्वाग्रहका कारण सजाय रोकियो भने समाजका यस्ता पाखण्डी, मूर्ख, अपराधी तथा विवेकहीनहरुको हौसला बढ्नसक्छ । अपराधीलाई कडाभन्दा कडा सजाय गरी सामाजिक सद्भाव, भाइचारा स्थापित गर्न नेपाल सरकार प्रतिबद्ध हुनुपर्छ । पीडितलाई उचित क्षतिपूर्ति र सामाजिक सुरक्षाको जिम्मा पनि सरकारको दायित्व हुन्छ ।
जब मानिस एउटा शिशुको रुपमा जन्मिन्छ, उसलाई थाहा हुँदैन कुन जातमा जन्मिएँ । अनि उसलाई यो पनि थाहा हुँदैन कि, गरिबीमा जन्मिएँ वा धनी परिवारमा । किनकि जन्म–मृत्यु श्रृष्टिको अनवरत नियम हो । रामायणमा भगवान रामले तल्लो जातकि माताको हातको जुठो फल खाएर आफ्नो भोक मेटाए । भगवानले जातपात उँचनीच केही भनेको छैन । हामी सबै श्रृष्टिकै परिणति हौँ । तर, विभेदको आडम्बर किन ? आदि कवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदनमा ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भनेका छन् ।
फेरि मानिस–मानिसमा विभेदको खाडल किन ? दलित भएकै कारण प्रेम गर्न नपाउने ? शान्त मन ध्यान पूर्वक दिमाग लगाएर सोचौं सानो ठूलो जातबीच के मा भिन्नता छ ? श्रृष्टिकर्ताले श्रृष्टिको रचना गर्दा तल्लो जात माथिल्लो जात भनेर गरेको होइन । तैपनि सर्वश्रेष्ठ बुद्धिमान प्राणी मनुष्यबीच विभेद छ । पशुपन्छिमा माया, प्रेम, दया, करुणा र आपसि सद्भाव त हामिले देख्खने गरेकै छौँ । फेरि मानिसहरुमा किन क्रोध इष्र्या र जातको घमण्ड अनि विभत्स हत्या ? एकपटक पीडित परिवारको पीडा, विभत्स हत्या गरिएकाहरुको स्थानमा अपराधीहरुले आफूलाई राखेर सोचून् अनि थाहा हुनेछ त्यसको पीडा ।
तिमीहरुले दिएको क्रुर याताना मानवताको हद नाघेर गरिएको त्यो हत्याको घटना हेर्दा माफी दिन सकिने कुनै ठाउँ नै छैन । देशमा सबै सबै प्रकारका विभेदको अन्त्य भइसकेको छ । तर, अझैं यो जातीय विभेद रहिरहनु अज्ञानता हो कि वा धर्मको अहंकार ? र, अन्तमा यस्ता क्रुर, मानवतता विरोधी घटनाहरु फेरि नदोहोरियून् भन्नका लागि दोषीमाथि कारबाही हुन जरुरी छ । समाजमा सद्भाव, प्रेम र भाइचारा कायम राख्न सबै प्रतिवद्ध रहौँ ।
(लेखक दलित गैरसरकारी संस्था समन्वय समिति पूर्व अध्यक्ष)