भूवन पोख्रेल
लकडाउनकै समयमा अहिले युवाहरुको भीड सडक प्रदर्शनमा छ । सामाजिक सञ्जालमार्फत जुटेका युवाहरुको ‘अब त अति भयो, अभियान राजधानी काठमाडौंमा मात्र केन्द्रित नभई उपत्यकाका विभिन्न सहरहरुमा सरकारविरुद्ध नाराबाजी र आन्दोलनमा सडकमा ओर्लिइएको छ । ए सरकार ! जिम्मेवार बन भन्दै आन्दोलनमा अघि बढेको युवा भीड आक्रोशित देखिन्छ । ती युवा समूह स्वतःस्फूर्त मानव साङ्लो बनाएर प्रदर्शनमा जुटेका छन् । सर्वसाधारणको पीडामा देखाएको सरकारको र रवैया विरुद्ध युवाहरु आन्दोलित भएका छन् ।
स्वास्थ्य सामग्री खरिदमा पारदर्शीता नभएको, कोरोनाको कहरमा पनि भ्रष्टाचार भएको, जबर्जस्ती रुपमा थोपरिएको कर, सुकुम्बासी आयोग खारेजीको माग एमसीसी सम्झौता खारेजीको माग, आरडिटी परीक्षण तत्काल रोकेर पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने आदि माग राखेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । नेपालमा जुन राजनैतिक परिवर्तन भयो तर त्यसले सामाजिक परिवर्तनलाई सम्बोधन गर्न सकेन । विभेदकारी सामाजिक व्यवस्थालाई राज्यले तोड्न नसकेका कारण युवाको भीड आक्रोशित बन्न पुगेका हुन् ।
कोरानाको कहरकाबीच पनि यसरी प्रदर्शन र भीड सडकमा ओर्लनुलाई सामान्य अवस्था मान्न सकिँदैन । सरकार जुन मात्रामा संवेदनशील हुनुपर्ने हो त्यति मात्रामा नहुँदा कतै युवाहरुको भीडलाई गलत नेतृत्व दिएर अघि बढाउने र संक्रमणको स्थिति ल्याउन नसक्ला भन्न सकिँदैन । युवाहरु स्वतःस्फूर्त रुपमा आन्दोलित भएका हुन् वा यसमा अराजक तत्वको घुसपैठ त छैन ? यसमा बेलैमा सरकारले युवाको मागलाई बुझेर सम्बोधन गरी आक्रोश शान्त बनाउनेतर्फ अग्रसर हुनु जरुरी छ ।
नेपालको झण्डा बोकेर नागरिकको आक्रोश सडकमा पोखिँदा सरकार मुकदर्शक बनेर बस्न मिल्दैन । जसरी नागरिकको आवाजलाई दमन गेको छ त्यसको परिणाम घातक हुनसक्छ । नागरिकका कुण्ठा सडकमा यस्तो असामान्य परिस्थितिमा पोखिनु पक्कै पनि शुभ संकेत होइन । यसरी समूहमा सामाजिक दूरी नराखी प्रदर्शन गर्दा संक्रमणको सम्भावना जोखिमपूर्ण बन्दै जान्छ । महामारीका बेला सरकारले राखेको लकडाउनको पालना नगरी र सरकारको आदेशलाई अवज्ञा गर्दै, सरकार विरुद्ध युवा सडकमा ओर्लिइएका छन् । यदि बेलैमा माग सम्बोधन नभए आन्दोलनले अर्को रुप नलेला भन्न सकिँदैन ।
पक्कै पनि युवा राज्यको कामकारवाहीबाट असन्तुष्ट छन् । सरकारको तर्फबाट सुनुवाई भएको छैन । युवाहरुले राजनीतिक दलप्रति वितृष्णा देखाएका छन् । व्यवस्था फेरिए पनि उही अनुहार छ । भ्रष्टाचार बढ्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने गरेकाले सरकार जिम्मेवार नबनेकोले नागरिकको धयको बाँध फुट्न थालेको हुनसक्छ । युवाहरु बेरोजगार हुन आफ्नो भविष्य सुनिश्चित नदेखेर आक्रोशित बन्न पुगेको ।
अपेक्षा गरे अनुसारको परिवर्तन नहुनाले युवा पिढी निराश छन् । पुरानै अनुहार कुर्सीमा छन्, युवाहरुले सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएका छन् । युवाहरुको व्यवस्थाप्रतिको वितृष्णा भन्दा पनि नेताहरुका गलत प्रवृत्तिप्रतिको वितृष्णा हो । नेताहरुप्रति वितृष्णा बढ्दा बढ्दै युवाहरु कतै व्यवस्थाप्रति पनि वितृष्णा बढ्न सक्छ । परिवर्तनका ठूला नारा बोकेका व्यक्ति पदमा पुगेपछि लोकतान्त्रिक संस्कारलाई बिर्सन्छन् । सरकारले १० अर्ब कोरोना नियन्त्रणमा खर्च गरेको सही जवाफ दिन सकेको छैन ।
नागकिको प्रश्नको सही जवाफ दिन त सरकारले पनि सही तरिकाले काम गर्न सक्नुपर्छ । सरकारले जनतालाई विश्वास दिलाउन सकेको छैन । विश्वास एउटा ऐना हो, जो एकचोटि फुटेपछि जोडिँदैन । सरकारले जनतालाई दुःखमा पनि खुशीको आभाष दिलाउन सक्नु पर्दथ्यो । आफ्नो गल्ती लुकाउन आफैलाई धोका दिनु हो । तसर्थ, सरकार पारदर्शी बन्न सक्नुपर्छ । आहिलेको कोरोना कहरको जटिल परिवेशमा सरकार एक कदम अगाडि बढेर, कडा मिहिनेत गरेर, परीक्षणको दायरा बढाएर आफ्नो कामको परिचय दिन सक्नु पर्दथ्यो । खालि यसो ग¥यौँ, उसो ग¥यौँ भनेर बोलेर होइन ।
यदि सरकारले आफू कहाँ छु भन्ने थाहा पाएको भए, आफू को हूँ भन्ने पनि बुझ्न सक्दथ्यो । सरकारले आफूलाई जनताको अगाडि कसरी राम्रो देखाउने भनेर प्रयास गर्नुको सट्टा राम्रो कामलाई निरन्तरता दिनेतर्फ पाइला चाल्न सक्नुपर्छ । दुइतिहाईको वहुमत प्राप्त सरकार यसरी बाँच्नुपर्छ कि त्यो सरकारको जीवन्तताले अरुलाई प्रेरणा मिलोस् । यदि सरकारले सही काम गर्दछ भने केही कुरासँग पनि डराउनु पर्दैन । लक्ष्यबिनाको राजनीति हार्छ भने उत्साह बिनाको राजनीति मर्छ । जित्नु मात्र सफलता होइन, महान बन्नु नै सही मूल्यांकन हो । यदि सरकार सफल हुन चाहन्छ भने आफूलाई नढाँट्ने नियमको सधैँ पालना गरे हुन्छ । जनताभन्दा सरकार सानो हो । जनता जनार्दन हुन्, तसर्थ सरकारले जनआकांक्षा पूरा गर्ने र सम्यमित अभिव्यक्ति दिनुपर्छ । रोप्ने खुर्सानी तर आशा गर्ने सुन्तलाको ।
चुनावमा धेरै आश्वासन देखाउने र सपना बाँड्ने जसरी पनि चुनाव जितेर सत्तामा पुग्ने तर सरकारमा पुगेपछि जनआकांक्षालाई सम्बोधन नगर्ने जस्ता प्रवृत्तिका कारण जनता आक्रोशित बन्न पुगेका छन् । सरकारमा पुगेपछि यति मात्र काम गर्न सक्छु, मुलुकमा सीमित स्रोधसाधन छ यसैलाई परिचालन गर्ने हो भनी यथार्थ घोषणा र प्रतिबद्धता देखाउनु पर्नेमा चुनाव जित्नका लागि वर्तमान सरकार आफ्नो यथार्थ धरातल बिर्सेर आदर्शका नारा लगायो जसको परिणाम जनताले दुइतिहाईको वहुमत दिएर जिताए ।
सरकारमा गएपछि यति मात्र काम गर्छु, तपाईंहरु जिताउन चाहनुहुन्छ भने जिताउनुहोस्, चाहनुहुन्न भने नजिताउनुहोस् भनी जनविश्वास लिन सक्नुपर्छ ।
एक निराशावादीले हरेक अवसरमा कठिनाई देख्छ र एक आशावादीले हरेक कठिनाईमा अवसर देख्छ भनेझैँ सरकारले वर्तमान संक्रमणकालीन अवस्थामा जनताको स्वास्थ्यको जिम्मेवारी सरकारले लिन्छ भन्ने आशा जनतामा जगाउन सक्नु पर्दथ्यो । यदि प्रधानमन्त्रीले आफूले भनेजस्तो भएको छैन भने हेरेर नबसी आफै उठेर मुलुकको परिवर्तनमा जुट्नु पर्छ ।
मुलुक अहिले कोरोना संक्रमणको जोखिममा छ । क्वारेन्टाइन अस्तव्यस्त छन् । क्वारेन्टाइनमै जाँचबिनै मानिस मरिरहेका छन् । क्वारेन्टाइनमै महिला हिंसाका घटना भइरहेका छन् । जनता खुला आकाशमुनि खानापानी नपाएर भोक र रोगले मरिरहेका छन् । यस्तो संवेदनशील घडीमा सरकार नागरिकको स्वास्थ्यप्रति खेलवाड गरेको र जिम्मेवार बन्न नसकेको देखिन्छ । युवापुस्ता राज्यको कामकारवाहीबाट असन्तुष्ट छन् । सरकारको तर्फबाट नागरिकका गुनासा सुनुवाई भएका छैनन् । यदि युवापुस्ताका मागलाई बेलैमा सम्बोधन नगर्ने हो भने कुनै शक्ति हाबी हुने तथा राजनैतिक घुषपैठ हुनसक्छ । त्यसर्थ सरकार सचेत हुनुपर्छ ।
राष्ट्र निर्माणको ऐतिहासिक क्षणमा सबै नागरिक एकजुट भई एकताको सन्देश दिनुपर्नेमा सरकार विरुद्धका नाराबाजी सडकमा ओर्लिनुलाई पक्कै पनि शुभसंकेत मानिँदैन । राष्ट्रिय एकता, देशभक्ति, सार्वभौमिकता र अखण्डताका लागि सबै राजनैतिक दल एक ठाउँमा उभिएर संविधान संशोधन गरी नयाँ नक्सा पारित गरेको ऐतिहासिक कदममा जनताले पनि सरकारको साथमा साथ मिलाउँदै सरकारको होस्टेमा नागरिकको हैसे हुने हो भने मात्र गुमेको नेपाली भूमि छिमेकी मुलुक भारतसँग वार्ता र सम्वादद्वारा फिर्ता ल्याउन सक्ने थियौँ ।
सरकारका कमीकमजोरी थुप्रै छन् । हरेक चीजमा भ्रष्टाचार र अनियमितता देखिन्छ । जनताको स्वास्थ्यमाथि खेलवाड भएको छ, तर पनि सरकारले गरेको जुन राष्ट्रिय सहमति जुटेको नयाँ नक्सा पारित गर्ने ऐतिहासिक कदम छ यसलाई सबैले राष्ट्रिय एकता र समर्पणको भाव देखाउन सक्नुपर्छ । राष्ट्रिय एकता कसैले कसैलाई दिएर प्राप्त हुने वस्तु होइन यो त व्यक्तिभित्र स्वतःस्फूर्त रुपमा उत्पन्न हुने देशभक्तिको भावना हो । यो ऐतिहासिक क्षणमा सरकारका गलत कामकारवाही उजागर गरेर आन्दोलित हुनुभन्दा राष्ट्रिय एकताको सन्देश दिनुपर्ने हो । कोरोनाको कहर सकिएपछि अर्थात् नेपाली भूमि फिर्ता गर्न सपल भएपछि अन्य असन्तुष्टिका पक्षहरु उजागर गर्ने समय आउँथ्यो ।
युवा पिढीका गुनासा थुप्रै छन्, सरकारसँग र असन्तुष्टि पनि व्यापक छ तर विरोध गर्नका लागि यो लकडाउनको समय र सीमाविवादलाई समाधान गर्न देखाउनुपर्ने एकताबद्धताको क्षणमा उपयुक्त होइन, विरोधका स्वर उराल्नु । कोरोना संक्रमणको भयावह स्थितिमा नागरिक आन्दोलित भई सडकमा उराल्नु अत्यन्त जोखिमपूर्ण हुन्छ । कोरोनाको दृष्टिले मात्र नभई छिमेकी मुलुकमा एकताको सन्देश दिनका लागि पनि सरकारका गलत कामकारवाहीलाई पनि यो समयमा ठूलो रुप दिएर, मानव सागर सडकमा पोखिनुले पनि सरकारसँग जनता आक्रोशित भएको सन्देश बाहिर जान्छ र सरकारका गतिविधिको सर्वत्र आलचेना हुन्छ । त्यसर्थ राष्ट्रिय एकताको सन्देश दिनका लागि एउै स्वर हुनुपर्छ ।