कोरोना संक्रमणका सन्दर्भमा दाङ जिल्ला पाँच नम्बर प्रदेशको सम्भवतः सबैभन्दा बढी जोखिमका जिल्ला बनेको छ । संक्रमित हुनेहरुको संख्या दैनिकजसो बढिरहेको छ । भारतलगायत अन्य तेस्रो मुलुकहरुबाट आउने नागरिकलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्न सकिएको छैन । क्वारेन्टाइनमा राखिएकाहरुलाई पनि व्यवस्थित रुपमा बसोवासको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा पर्याप्त प्रयोगशाला र आवश्यक किट र रिएजेण्टको अभावका कारण तोकिएको समयमा कोरोनाको पिसिआर परीक्षण हुन सकिरहेको छैन । यो अवस्थाले क्वारेन्टाइनमा बसेकाहरुले समेत विद्रोह गर्ने अवस्था देखएको छ । व्यवस्थित क्वारेन्टाइन नहुँदा एक व्यक्तिमा देखिएको संक्रमण पूरै क्वारेन्टाइनमा बस्नेहरुलाई सरिसकेको अवस्था छ । त्यसको पुष्टि समेत मंगलवारको परीक्षण रिपोर्टमा भइसकेको छ । यससँगै संक्रमणलाई व्यवस्थित गर्ने र थप संक्रमण हुनसक्ने अवस्थामा विशेष ध्यान पु¥याउने सवालमा भने स्थानीय सरकारले अर्थपूर्ण व्यवस्थापनमा लागेको अवस्था देखिएको छैन ।
जिल्लामा एकपछि अर्को क्षेत्रमा संक्रमितहरु बढिरहेको सन्दर्भमा सरकारी मापदण्ड अनुरुप जिल्लालाई सिल गरी संक्रमणलाई नियन्त्रण गर्ने अवस्था सिर्जना हुनु पर्दछ । आन्तरिक मुभमेन्टलाई कम गर्नेतर्फ स्थानीय सरकार र स्थानीय प्रशासनको ध्यान केन्द्रित हुन सकिरहेको छैन । सरकारले खोल्न नहुने भनिएका व्यावसायिक प्रतिष्ठान र संस्थाहरु पनि धमाधम खुलिरहेका छन् । आम नागरिक स्वनिर्णयको अवस्थामा छन् । सामाजिक दूरी कायम गर्ने र सुरक्षित व्यवसाय सञ्चालन गर्नेतर्फ व्यवसायीहरु लागेको अवस्था छैन । राजमार्ग क्षेत्रमै खुलेआम होटल व्यवसायहरु सञ्चालनमा आउनथालेका छन् । यो अवस्थाले विश्वव्यापी महामारीका रुपमा रहेको कोरोनाको संक्रमण अब समुदाय स्तरसम्मै फैलने सम्भावना पनि प्रचुर देखिएको छ । समुदाय स्तरसम्मै कोरोनाको संक्रमण फैलिएको अवस्थामा अहिलेको स्वास्थ्य प्रणालीले त्यसलाई थेग्न सक्ने अवस्था रहँदैन । किनकि जिल्लामा व्यवस्थापन गरिएका बढीमा दुई सय संक्रमितलाई उपचार सेवा प्रदान गर्नसक्ने भनिएका आइसोलेशन बेडहरु सबै भरिभराउ भइसकेका छन् ।
यो विकराल अवस्थालाई मध्यनजर गर्दै जिल्ला विपत् व्यवस्थापन समितिको बैठक सोमवार बसेपछि बजारमा हुने मुभमेन्टलाई कम गर्न केही निर्णय गरेको छ । दिनभर खोल्दै आएका पसलहरुलाई विहीवारदेखि लागू हुने गरी साँझ ५ बजेपछि पूर्णरुपमा बन्द गर्ने निर्णय र कोरोना परीक्षणको दायरा बढाउन थप मेसिन खरिद र थप किट व्यवस्थापन गर्ने भनिएको छ । तर जब संक्रमण समुदाय स्तरसम्म फैलिइसकेको हुन्छ, त्यो अवस्थामा अहिलेको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने हुन्छ । यो अवस्था आउन नदिन संक्रमण फैलन नदिनु नै हो । अझै पनि औषधि र कुनै पनि खोप कोरोना भाइरसका विरुद्धमा पत्ता नलागिरहेको अवस्थामा रोग लाग्नै नदिनु नै हो । यसका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउनु एउटा उपाय हो भने अर्को उपाय भनेको लकडाउनको प्रभावकारी कार्यान्वयन मात्रै हो । स्थानीय प्रशासन र स्थानीय सरकारले लकडाउनको पालनालाई यो समयमा विशेष ध्यान दिनु आवश्यक छ । समाजिक दूरी कायम गरौँ, भीडभाडमा नजाऔँ । कोरोनाको संक्रमणलाई समुदाय स्तरसम्म फैलनबाट रोकौँ ।