सुप्रिया मां
कोरोना भाइरसले ल्याएको महामारीबाट हामीले धेरै कुरा सिक्यौं र सिक्दै छौँ । भनिन्छ संकटले दुःख मात्र ल्याउँदैन धेरै अवसरहरु पनि लिएर आउँछ । यो महामारीबाट हामीले जीवनलाई कसरी राम्रो बनाउने र अझै राम्रोसँग जीउन हामीले के गर्न सकिन्छ भन्ने कुरा सिक्यौँ । जीवनलाई सार्थक बनाउन धेरै कुराहरुमा ध्यान दिनुपर्ने रहेछ । हामीले चाहेमा अब जीवनलाई अझै सार्थक बनाउन पनि सक्छौँ ।
यो महामारी फैलिनुभन्दा अगाडि हाम्रो जीवन अर्कै तरिकाले चलिरहेको थियो । कुनै प्रतियोगिता जित्न दौडिएझैँ हामी दौडिरहन्थ्यौँ । स्वास्थ्यभन्दा महत्वपूर्ण हामीलाई अरु कुराहरु लागेको थियो । हामीसँग पैसा होस्, समाजमा इज्जत होस्, धेरै साथीहरु हुन भन्ने लाग्थ्यो, तर शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ रहनु सबैभन्दा पहत्वपूर्ण रहेछ भन्ने कुरातिर ध्यान कम गएको थियो । स्वस्थ रहनु जीवनको सबैभन्दा पहिलो मूल्य हो, अरु सबै कुरा त्यसपछि मात्र आउँछ ।
अब हाम्रो जीवनको अर्थ बदलिएको छ । लामो जीउनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ हुनु पर्दोरहेछ भन्ने थाहा लाग्यो, किनकि कोरोना जस्ता भाइरस आउँदा र सबैतिर रोगको महामारी फैलिँदा उनीहरु नै बाँचेका छन्, जसको स्वास्थ्य राम्रो छ र जसको रोग प्रतिरोधक शक्ति (Immunity) बलियो छ । सबै प्रकारका रोगहरुसँग उनीहरु नै लड्न सक्छन्, जस्को रोग प्रतिरोधक शक्ति बलियो छ । शरीरको रोग प्रतिरोधक शक्ति बलियो हुनु सबैभन्दा महत्वपूर्ण कुरा रहेछ । शरीरको प्रतिरोधक शक्ति कसरी बडाउने र स्वस्थ कसरी रहने यो हाम्रो चिन्तनको विषय हो ।
हाम्रो शरीरले धेरै प्रकारका हर्मोनहरु (Hormones) बनाउँछ । हाम्रो सकारात्मक र नकारात्मक भावनालाई हामीभित्र उत्पादन भएको हर्मोनले पनि प्रभाव पार्दछ । हामी खुशी हुँदा, रमाउँदा, उत्साहित हुँदा, उत्प्रेरित हुँदा, शान्त र आनन्दित हुँदा, गहिरो निन्द्रामा हुँदा र कसैसँग प्रेममा हुँदा शरीरले एक प्रकारको हर्मोन उत्पादन गर्छ र शरीरमा फैलिन्छ । यस्ता हर्मोनले हाम्रो शरीरको रोग प्रतिरोधक शक्ति बढाएको हुन्छ र हामीलाई रोग लाग्नबाट बचाउँछ ।
जस्तै सेरोटोनिन हर्मोन (Serotonin Hormone), यसलाई feel good hormone पनि भनिन्छ । अर्थात खुशी र रमाइलो महशुस गराउने हर्मोन हो, यो । हामी खुशी हुँदा र रमाउँदा यो हर्मोन बढ्दै जान्छ । यो शरीरमा प्रशस्त छ भने हामीलाई खुशी, उत्प्रेरणा, रमाइलो, आनन्द र मनमा शान्त अनुभव हुन्छ । तनाव, चिन्ता, डर, भयजस्ता कुराहरु कम हुन्छ र हाम्रो शरीरको रोग प्रतिरोधक शक्ति पनि बढेको हुन्छ ।
मेलाटोनिन हर्मोन (Melatonin Hormone), यसलाई sleep hormone पनि भनिन्छ । यसले शरीरलाई आराम (relax) मा लैजान्छ । हामीलाई गहिरो निन्द्रामा जान, खुशी हुन, रमाउन, मनलाई शान्त राख्न र आनन्दको अनुभव गर्न सहयोग गर्छ र यसले शरीरको प्रतिरोधक शक्ति पनि बढाउँछ ।
डोपामाइन हर्मोन (Dopamine hormone), यो हर्मोनले पनि हामीलाई खुशी, रमाइलो, उत्साहित, उत्प्रेरणा र मनलाई शान्त बनाउँछ । चिन्ता, तनाव र उदासीपन कम गर्छ र हामीलाई अल्जाइमर र डिप्रेशनजस्ता रोग हुन दिँदैन । यसले हामीलाई जे काम गर्न पनि उत्प्रेरित बनाउँछ । यसले शरीरको रोग प्रतिरोधक शक्ति पनि बढाउँछ ।
विकास हर्मोन (Growth hormone), यो हर्मोन पिट्यूटरी ग्रन्थीले बनाउँछ । यो प्रोटिन हर्मोनले हाम्रो शरीरलाई बढ्नमा सहयोग गर्छ । हामीलाई बूढो हुनबाट बचाउँछ । शरीरका कोशहरुलाई मर्न दिँदैन र रोग लाग्न दिँदैन । यसले पनि हामीलाई खुशी र आनन्दतिर जान सहयोग गर्छ ।
आँक्सिटोसिन हर्मोन (Oxytocin hormone ), यसलाई love hormone पनि भनिन्छ । यो हर्मोन पिट्यूटरी ग्रन्थीले बनाउँछ र हामीलाई प्रेममा जान र प्रेमको महशुस गर्न सहयोग गर्छ । यसले हाम्रो रोग प्रतिरोधक शक्ति पनि बढाउँछ ।
त्यस्तै DHEA, GABA, Endorphins नामका अरु पनि धेरै प्रकारका हर्मोनहरु शरीरले बनाउँछ । यस्ता सबै हर्मोनहरुको काम हामीलाई खुशी, उत्साह, उत्प्रेरणा, प्रेमल, रमाइलो, मनमा शान्त र अनन्दित गराउनु र हाम्रो रोग प्रतिरोधक शक्तिमा बृद्धि गर्नु हो ।
यस्ता जीवनदायिनी शक्ति हामीभित्रै छ । हामीले त्यसलाई सक्रिय गर्न जान्नु पर्छ । हामीले जीवन जीउन नजानेर यस्ता हर्माेनहरु उत्पादन हुन नपाएर त्यसै रहेका छन् । जीवन जिउने तरिकामा केही परिवर्तन गरेर यसलाई सक्रिय बनाउन सकिन्छ र रोग प्रतिरोधक शक्ति बढाएर स्वस्थ रहन सकिन्छ । जान्ने मानिसहरुले यस्ता जीवनदायिनी शक्ति बढाएर आफू स्वस्थ रहेका छन् ।
हामी बाहिरको संसारमा दैनिक जीविकोपार्जनका लागि भौतारिँदाभौतारिँदै हामीलाई तनाव, निराशा, उदासीपन, चिन्ता, बेचैनी, डर, भय, त्रास र दुःखहरुले घेर्छन् र शरीरले हामीलाई तत्काल त्यो अवस्थाबाट बचाउन विपरित प्रकारका हर्मोनहरु जस्तै कर्टिसोल हर्मोन (Cortisol hormone), एड्रिनलिन हर्मोन (Adrenaline hormone) जस्ता हर्मोन बनाउनु पर्ने हुन्छ र यस्ता हर्मोन धेरै उत्पादन हुँदा मुटुको चाल बढ्ने, श्वासप्रश्वास छिटोछिटो हुने, रक्तसञ्चार प्रवाह बढाउने, मानिसलाई बुढ्यौलीतिर लैजाने जस्ता धेरै प्रकारका दीर्घरोगहरु हुन थाल्छ । यस्ता हर्मोनहरु शरीरले बनाउँदा अरु राम्रा खालका हर्मोनहरु सबै बन्द हुन्छन् र हाम्रो रोग प्रतिरोधक क्षमता कम हुँदै जान्छ ।
हामीलाई खुशी, रमाइलो, उत्साहित, उत्प्रेरणा, शान्त, प्रेमल, आनन्दित र गहिरो निन्द्रामा जान सहयोग गर्नेे खालका हर्मोनहरु शरीरमा बढाएर सबै प्रकारका रोगहरुसँग लड्नसक्ने रोग प्रतिरोधक शक्ति यसरी पनि बढाउन सकिन्छ ।
१. संतुलित र सात्विक भोजन गर्ने
भोजन र शरीरले बनाउने हर्मोनको गहिरो सम्बन्ध छ । शरीर र मनलाई स्वस्थ राख्न संतुलित, सात्विक र पोषिलो आहारको ठूलो भूमिका रहेको छ । सन्तुलित आहार (प्रोटिन, कार्बोहाइड्रेट्स, फ्याट्स, फाइवर) र फलहरु जस्तै कागती, सुन्तला, अनार, मौसम, अमला, अंगुर, अम्बाजस्ता फलहरुसँगै भिटामिन्सहरु जस्तै भिटामिन्स सी, भिटामिन्स डी, भिटामिन्स बी १२, बी ६ तथा जिंकजस्ता सबै तत्वहरु रहेको आहार लिन आवश्यक छ ।
आहारबाट प्रशस्त पोषकतत्व लिन सकिएन भने बजारमा पाइने सप्लिमेन्ट पनि लिनुपर्ने हुन्छ । यसले रोग प्रतिरोधक शक्ति बढाउँछ । कलाकार र खेलाडीहरुले आफू युवा रहिरहन र आफूलाई स्वस्थ राख्न यस्ता सप्लिमेन्टमा धेरै पैसा लगाएका हुन्छन् । हाम्रो देशमै पाइने मसला र जडिबुटीहरुजस्तै प्याज, लसुन, ज्वानो, बेसार, टिमुर, मरिच, दालचिनी, जिरा, धनिया, गुर्जोजस्ता कुराहरुले पनि रोग प्रतिरोधक शक्ति बढाउँन सहयोग गर्छन् ।
शरीरको आवश्यकतालाई ध्यानमा राखेर खाने हो, जिभ्रोको स्वादका लागि मात्र खाने होइन । सात्विक भोजन बनाएर, मैले अमृत खाँदै छुँ भन्ने भावनाले र खान पाएकोमा अस्तित्वप्रति अहोभाव गर्दै खानुपर्छ । त्यसरी खाएको भोजन हाम्रा लागि अमृत सरह हुन्छ ।
२. आफूलाई रमाइलो लाग्ने कुनै खेल खेल्ने
शरीरलाई चाहिने जीवनदायिनी हर्मोनहरु बन्नका लागि मन रमाएको, उत्साहित, प्रेरित, प्रेमल र खुशी हुन अत्यन्त आवश्यक छ र साथसाथै शरीरको पूर्ण व्यायाम पनि भएको हुनुपर्छ । खेल खेल्ने हो भने यो दुईवटै आवश्यकता पूरा हुन्छ । खेल खेल्नु सबै भन्दा राम्रो व्यायाम हो । कुनै प्रतियोगिता जित्नका लागि खेल खेल्ने होइन, खेल रमाइलोका लागि खेल्ने हो । राम्रा हर्मोन बन्नका लागि खुशी हुने र रमाउने किसिमका खेलहरु र शरीरलाई पनि पूर्ण व्यायाम हुने किसिमका खेल खेल्नुपर्छ ।
घरभित्र खेलिने खेलभन्दा घर बाहिर खेलिने खेलले शरीरको पूर्ण व्यायाम गर्छ । साथीहरु जम्मा भएर वा एक्लै खेल खेल्ने र त्यो खेलमा उत्साहित हँुदै रमाउने हो भने राम्रा हर्मोन बन्दछन् । खेलबाट तनाव भएमा राम्रा हर्मोन बन्न पाउँदैन र त्यो खेल साधारण व्यायाम मात्र हुने छ । दिनको एकघण्टा यस्ता खेल खेल्ने मानिसहरुको जीवनदायिनी हर्मोनहरु तीन सय प्रतिशत (तीनगुणा) सम्म बृद्धि भएको पाइएको छ र रोग प्रतिरोधक शक्ति पनि धेरै भएको पाइएको छ । निरोगी भएर लामो समय बाँच्नका लागि खेल खेल्नु पर्छ । विभिन्न रिसर्चहरुले यो कुरा पत्ता लगाइसकेका छन् ।
३. योगाभ्यास र व्यायाम गर्नु
खेल खेल्न मौका मिलेन भने योगाशन वा व्यायाम गर्नुपर्छ । योगाशन वा व्यायाम गरेर त्यसमा रमाउने हो भने पनि हाम्रो शरीरमा राम्रा हर्मोनहरु बन्दछन् । योगासनहरुले शरीरको पूर्ण व्यायाम गर्छ र यो धेरै महत्वपूर्ण छ । आफूलाई मनपर्ने कुनै शारीरिक व्यायाम पनि गर्न सकिन्छ । व्यायाम गर्ने जिमखानाहरु प्रशस्त खुलेका छन् । दिनको एकघण्टा योगाशन वा व्यायाम गर्ने हो भने जीवनदायिनी हर्मोनहरु तीन सय प्रतिशत (तीनगुणा) सम्म बृद्धि गर्न सकिन्छ ।
योगाभ्यासले रोग प्रतिरोधक शक्ति बढ्दोरहेछ भन्ने कुरा थाहा पाएर अहिले पश्चिमी मुलुकहरुमा योगाभ्यास धेरै प्रख्यात हुँदै गएको छ । हाम्रा ऋषिहरुलाई यो कुरा धेरै पहिलादेखि नै थाहा थियो । कुनै पनि क्रियाकलापबाट शरीर सक्रिय भइरहनु पर्छ, मन खुशी र रमाएको हुनुपर्छ ।
४. प्राणायाम र ध्यान
गहिरो ध्यानमा जाने हो भने शरीरका जीवनदायिनी हर्मोनहरु बाह्रसय प्रतिशत (बाह्रगुणा) सम्म बृद्धि गर्न सकिन्छ भन्ने कुरा विभिन्न रिसर्चबाट थाहा भइसकेको छ । सबै प्रकारका रोगबाट बच्न प्राणायाम र ध्यान गर्नु सबैभन्दा उत्तम उपाय हो । ध्यानले मानिसलाई मृत्युको मुखबाट पनि फर्काउन सक्छ । ठूला–ठूला रोग लागेका र मृत्युको मुखमा पुगेका मानिसहरु पनि ध्यान गरेर बाँचेका धेरै उदाहरणहरु छन् । प्राणायामले शरीरमा अक्सिजनको मात्रा बढाउँछ र राम्रा हर्मोनहरुको प्रवाह बढ्छ । प्राणायाम र ध्यानले रोग प्रतिरोधक शक्ति बढाउँछ र रोग लाग्न दिँदैन । रोग प्रतिरोधक शक्ति बढाउँछ दैनिक पैतालिस मिनट ध्यान गर्न अत्यन्त आवश्यक छ ।
सन्तुलित र सात्विक भोजन गर्नु, आफूलाई रमाइलो लाग्ने कुनै खेल खेल्नु, योगाभ्यास र व्यायाम गर्नु र प्राणायाम र ध्यान गरेर शरीरका जीवनदायिनी हर्मोनहरु बृद्धि गर्न सकिन्छ । यसरी रोग प्रतिरोधक शक्ति बढाएर सबै प्रकारका रोग लाग्नबाट बच्न सकिन्छ । आजलाई यत्ति नै, हरि ॐ !
सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।