दाङ, ३ असार । नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको हो ।
संक्रमित मध्य हालसम्म नेपालमा २० जनाको मृत्यु भएको छ भने एक हजार १६७ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्याका कारण उनलाई ३० जेठमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । १ असारमा उनको स्वाब संकलन गरिएको थियो ।
थप रिपोर्ट नआउँदै त्यही दिन साँझ उनको मृत्यु भयो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।