दिप्तीशिखा चौधरी
दंगीशरण, ३ असार । दंगीशरण गाउँपालिकामा उत्कृष्ठ सासु–बुहारीलाई सम्मान गरिएको छ । दंगीशरण गाउँपालिका–५ ले आफ्नो वडामा उत्कृष्ठ सासु–बुहारीलाई सम्मान गरेको हो ।
वडा कार्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । परिवार राम्रो भएमा मात्र समाज राम्रो हुन सक्छ भन्ने उद्धेश्यले वडाले यस खालको कार्यक्रम संचालन गरेको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिएका छन् ।
समाजमा सासु–बुहारीको सम्बन्ध राम्रो हुदैन भन्ने भनाईलाई चिर्नका लागि वडा कार्यालयले नौलो खालको कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष गौतमले जानकारी दिए । ‘हाम्रो समाजमा सासु–बुहारी बिच हुने झगडा, घृणा, ईष्र्यालाईृ चिर्नका लागि वडाले फरक खालको कार्यक्रम गरेको हो’–वडा अध्यक्ष गौतमले भने–‘यो समाजका लागि एक उदाहरणीय कार्यक्रम बन्ने विश्वास छ ।
यस प्रकारको कार्यक्रमले समाजलाई पक्कै पनि परिवर्तन ल्याउनेछ ।’ उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मान पाएकी कुन्तीदेवी श्रेष्ठ आफुलाई उत्कृष्ट सासु बुहारीको रुपमा सम्मान गरेको भन्दै खुशी व्यक्त गरिन । त्यस्तै नन्दी गिरीले हामी जस्तै हरेक घरका सासु–बुहारीले सम्मान पाउँन भन्दै वडाले संचालन गरेको यो कार्यक्रम राम्रो लागेको बताईन ।
कार्यक्रममा वडाका ८ जना सासु–बुहारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव प्रेमप्रकाश चौधरीले गरेका थिए ।