नारायणप्रसाद श्रेष्ठ
संस्कृति र संस्कार हाम्रो जीवनको आधार हो, राष्ट्रको पहिचान हो । जबसम्म संस्कृति र संस्कार जीवन्त रहन्छ, हाम्रो पौराणिक मान्यताभित्रको सभ्यताले सिकाएको हाम्रो आचरण र व्यवहारमा शुद्धता रहन्छ, तबसम्म हाम्रा मूल्य र मान्यता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आदर्श भएर प्रस्तुत हुने अवसर भइरहन्छ । तसर्थ, अविवेकी र स्वार्थपरक चिन्तनले ल्याउने गलत मानसिकता तथा मर्यादित जीवनशैलीमा आउने संकुचनलाई हटाई अघि बढ्न हामीले हाम्रो मौलिकपन र स्थानीय, परम्परागत संस्कृति, संस्कार, चालचलन, आदर, समभावलाई कायम राखी अघि बढ्नु पर्छ । तब मात्र हामीले हाम्रो आदर्शता कायम गर्न सक्छौँ, सकारात्मक चिन्तन अगाडि बढाउन हामी सफल रहन्छौँ । यही विचार हामीले अघिल्लो अंकमा यहाँहरुसमक्ष राखेका थियौँ ।
परापूर्वकालदेखि विकसित हुँदै आइरहेको हाम्रो संस्कृति र संस्कारले हामीलाई बाबुआमा, गुरु ईश्वरका रुप हुन्, नारी जगत लक्ष्मी र अर्धअङ्गको रुप हो भनी स्वीकार्न सिकाएको थियो । दाजुभाइ, दिदीबहिनीबीचको नाता विश्वास र भरोषामा आधारित छ । बाबुआमा, नाता, कुल, कुटुम्बप्रतिको हाम्रो भावना पवित्रतामा आधारित छ । यही कुरा हामीलाई हाम्रो संस्कृति र संस्कारले सिकाएको थियो । नेपाललाई सर्वोच्च हिमशिखर रहेको बुद्ध जन्मेको शान्ति क्षेत्र, हिन्दू राष्ट्र भनी विश्वसामू परिचय गराएको थियो । विश्वसमुदाय हाम्रो मौलिक संस्कृति र संस्कार हेर्नकै लागि नेपाललाई असल गन्तव्यको रुपमा पहिचान भएको थियो । तर अहिले हामी हाम्रो संस्कृति र संस्कारलाई फेरबदल गर्ने नाममा आमाबाबु, दाजुभाइ, दिदीबहिनीसँगको पवित्र नातामा धमिरा लगाउँदै छौँ ।
दिनदहाडै नारी अस्मितामाथि खेलवाड गर्दै छौँ । पवित्र बन्धनमा रहेको दाजु बहिनीको नाता क्षणिक वासनातिर मोडीई उच्छृंखलतातर्फ प्रवेश गरेको अवस्था छ । हाम्रो चालचलन र संस्कारमा क्षणिकताले प्रश्रय पाइरहेको छ । आधुनिकताको बहस गर्दै बृद्ध आमाबुबाले सजाएको सपनामा दाग लगाउने काम गर्दै छौँ । यति मात्र होइन, बाबुआमाले पसिना बगाई आर्जन गरेको सम्पत्तिमा हैकम चलाउँदै उनीहरुकै अपमान हुने गरी बृद्धाश्रमको बास गराउँदै छौँ ।
वातावरणमा शुद्धता ल्याउन र समाजमा देखिएका विकृतिलाई क्रमशः कम गर्दै असल संस्कारको विकास गर्ने नाममा हाम्रो पौराणिक सत्यभित्र लुकेको सभ्यतालाई बिर्सँदै छौँ । हाम्रो आध्यात्मिक सत्यभित्र रहेको मूल्य र मान्यतालाई कोरा भावनातिर डो¥याउने दुस्शाहस गर्दै छौँ । पौराणिक सत्यभित्र शृंगारिएको हाम्रो पवित्र मनलाई एकीकृत गर्ने नाममा गलत संस्कृतिलाई अँगाल्दै आफ्नो अस्तित्वमाथि नै प्रश्न चिह्न खडा गर्दै छौँ ।
सत्सँगको माध्यम भाइचाराको अभिबृद्धि गरी बाँच्न र बचाउने सिकाउने हाम्रो असल संस्कार र हिन्दू संस्कृतिको मान्यतालाई कुल्चने संस्कृतितर्फ हाम्रो ध्यान आकृष्ट हुँदै छ । आदर, सत्कार र सम्मान दिने हाम्रो परम्परागत मान्यता लोप हुने संस्कृतितर्फ हाम्रो ध्यान आकृष्ट हुँदै छ । हाम्रो मन, वचन र कर्म रकममा सटही भइरहेको छ । कुरै खाने कुरै लाउने भनेझैँ उद्योगबिनाको फोस्रो गफ र रवाफमा आफूलाई ठूलो मान्छे बनाउँदै छौँ ।
दूध कहाँ पाइन्छ भनेर कुनै बच्चालाई सोध्ने हो भने डेरीमा पाइन्छ भन्ने किसिमको संस्कार विकास गर्दै छौँ । धान फल्छ कि चामल फल्छ त्यो कुराको शिक्षा नवप्रतिभाले बुझ्न सकेका छैनन् । नेपाल र नेपालीको शीर उच्च राख्ने हाम्रो राष्ट्रियताप्रतिको मोहभन्दा पार्टी मोहले हाम्रो पहिचान धमिलिँदै छ । शिक्षालाई संस्कारसँग जोड्ने नारा किताबमा सीमित राखिएको छ । बच्चालाई व्यावहारिक शिक्षाभन्दा आयातीत उडन्ते शिक्षा प्रणालीतर्फ हाम्रो सोच बढेको छ ।
प्रतिभाको अवमूल्यन हाम्रो विशेषता नै बनेको छ । उच्च हिमशिखर र बुद्धको देश, हिन्दू राष्ट्र भनेर चिनिएको हाम्रो मुलुकको संस्कृति मेटाउनेतर्फ हामी स्वयम् उद्धत छौँ । नीति र नैतिकता हराइसकेको छ । क्षणिक स्वार्थ र लालचमा हामी हाम्रो संस्कृतिलाई अरुको पोल्टामा पार्दै छौँ । मानव सेवा नै माधव सेवा हो भन्ने आध्यात्मिक सत्यको यथार्थ बुझ्दाबुझ्दै पनि हाम्रो धर्म र संस्कृतिलाई अरुले संरक्षण गरिदिओस् भन्दै छौँ ।
नेतृत्वको असक्षमताले बिग्रँदै गएको हाम्रो संस्कृति र संस्कारमाथि हामी स्वयम् औँला उठाउँदै छौँ र भन्दै छौँ परिवर्तन समयको माग हो ।
हाम्रो अस्तित्व के हो ? शृष्टिको उत्कृष्ट रचनाभित्रको मानवीय मूल्य र मान्यता के हुन् ? हामीले समाजलाई कसरी परिमार्जित गरी सामाजिक सुसंस्कृति कायम गर्न सक्छौँ ? त्यसतर्फ हाम्रो ध्यान कमै गएको छ । हाम्रो दायित्व के हो ? हाम्रो सुरुवात र अन्त्य कसरी भइरहेको छ ? हाम्रो भविष्य हामी आफैले नसपारे अरु कसले सपारिदेला ? जस्ता चुनौतीपूर्ण कार्यतर्फ हाम्रो खासै ध्यान जान सकेको छैन । विवेकशील भएर पनि हामी अनभिज्ञता प्रकट गर्दै छौँ ।
श्रम र पसिनाबिना आनन्दको परिकल्पना गरी आफैलाई अन्याय गर्दै छौँ । यति मात्र कहाँ हो र ? असल संस्कारको विकास गर्ने नाममा देखावटी र बनावटीतर्फ हाम्रो ध्यान आकृष्ट भएको छ । दया र माया मुखले होइन व्यवहारले देखाउन सक्नुपर्ने बेला हामी केवल वचन र देखावटी संस्कृतिलाई प्रश्रय दिइरहेका छौँ । निराशामा होइन आशा र भारोषामा जिउन सिक्नुपर्छ भन्ने नैतिकता कमजोर भइरहेको छ ।
दृष्टिकोणलाई दोषमुक्त बनाउन सकेका छैनौँ । तसर्थ, यस अवस्थामा हामी चनाखो बन्नै पर्छ । निराशामा होइन आशाको दियो बालि लोप हुन लागेको हाम्रो संस्कृति र संस्कारलाई जीवन्तता दिन हामी स्वयम् जागृत हुनुपरेको छ । परिवर्तनको सम्वाहकको हैसियतले समयको गतिसँगै देखापर्ने चुनौतीलाई अवसरको रुपमा प्रयोग गरी हाम्रो संस्कृति हाम्रो संस्कार भनी प्रत्येक आत्माले आफूलाई परिचालन गर्नुपरेको छ । मानवीय संवेदनशीलता र आत्मालाई ठेस पुग्ने कार्य कदापि गर्नु हुँदैन । कसले पो आफ्ना बच्चालाई बिग्रेको हेर्न चाहन्छ र ? सबैले सकारात्मक चिन्तन गरेकै हुन्छन् । तर सोचौँ, बच्चा रोएको अवस्था हामीले उसको रोदनलाई खुशीमा परिणत गर्न मोवाइल (मन्दविष)जस्ता आधुनिक प्रवृत्तिभित्र रुमलिन उत्साह गर्दछौँ ।
झुठ र असत्य बोल्न हामी स्वयम् सिकाउँछौँ । असल संस्कार सिकाउने नाउमा आफूभन्दा मान्यजनलाई दिनुपर्ने आदर दिन सिकाउँदैनौँ । आधुनिकताको नाममा विलाषीतर्फ हाम्रो संस्कारलाई परिस्किृत गर्दै छौँ । प्रत्येक कुरामा व्यापारीकरण हुँदै छ ।
तसर्थ, अब हामी हाम्रो समाजले क्षणिक रुपमा स्वीकार्दै गएको छाडा संस्कृतिलाई रोक्न जागृत हुने अवस्था आएको छ । नाङ्गो हुने संस्कृतिलाई रोकी मूल्य र मान्यताभित्र आधारित संस्कारको परिमार्जनतर्फ हाम्रो ध्यान पुग्नुपरेको छ । हिन्दू संस्कृतिले सिकाएको असल संस्कृति र संस्कारतर्फ अब हामीले पाइला चाल्नै पर्छ । मानिस आफै स्वयम् भ्रष्ट हुँदैन । उसलाई गलत आचरणतर्फ आकृष्ट गर्नु भनेको गलत संस्कार र गलत चिन्तनले हो । भौतिक सुविधा र मोहले हो । त्यसैले भौतिक मोहले थिचेर देखिएको वर्तमान अवस्थालाई पुनःजीवित गर्न हामीले हाम्रो परिवारबाटै असल संस्कारको विकास गर्नु अहिलेको आवश्यकता देखिएको छ ।
समाज परिवर्तनको नाममा देखिएका विकृतिलाई हटाई आध्यात्मिक सत्यभित्रको श्रद्धाले परिपोषित चिन्तनतर्फ उत्प्रेरित भई क्षणिकतालाई तिलाञ्जली दिनु परेको छ । क्षणिक स्वार्थलाई हटाई परम्परालाई परिमार्जित गर्नुपरेको छ । आयातीत धर्म र संस्कृतिले ल्याउने विकृति हटाई नैतिक चरित्रवान् बन्नु अहिलेको आवश्यकता छ । आफू भलो त जगत भलो भन्ने सत्यलाई अँगाल्दै आफैबाट हाम्रो संस्कार, हाम्रो स्वाभिमान, हाम्रो संस्कृति हाम्रो प्रतिष्ठा भनी आफूलाई समर्पित गर्नुपरेको छ । शिक्षालाई संस्कारमा जोडी सुरुदेखि नै आत्मसत्य उजागर गर्ने विचार अब हामी सबैको जिम्मेवारी हुनुपरेको छ । सुख, दुःख जीवन हो भन्ने बुझी सुख, दुःखमा नआत्तिई र नमात्तिई धैर्य र सहनशील भई हाम्रो आदर्श हाम्रो सम्मान नारालाई सार्थक बनाउनु छ ।
तबमात्र हामीले चाहेको परिवर्तित संस्कारले हामीलाई उचाईमा पु¥याउने सक्छ । प्रेम र सद्भावमा अधारित जीवनशैली हाम्रो असल संस्कार र संस्कृति हो । यस कुरालाई गम्भीर रुपले चिन्तन गर्नु आजको आवश्यकता हो ।