नीति कार्यक्रमका लागि सर्वदलीय छलफल,स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्न सुझाव

तुलसीपुर, ३ असार । तुलसीपुर उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षका लागि ल्याउन थालेको नीति तथा कार्यक्रमका बारेमा छलफल गरिएको छ । यहाँका विभिन्न राजनीतिक दलका प्रमुख र सांसदसँग नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने कुराका बारेमा परामर्श गरिएको हो ।

कार्यक्रममा सुझाव राख्दै प्रदेश सभा सदस्य शंकर गिरीले स्थानीय आवश्यकताको बोध गरेर नीति तथा कार्यक्रम आउनुपर्ने कुरामा जोड दिए । उनले स्थानीय सरकारले सरकार जस्तो नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए । अहिलेको मूल आवश्यकता कोरोनाबाट नगरलाई सुरक्षित राख्नुपर्ने भएको भन्दै उनले कोरोना लक्षित बजेटमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

बुद्धिराम भण्डारीले बस्ती व्यवस्थापनका ध्यान दिनुपर्ने कुरामा जोड दिए । व्यवस्थित शहर अहिलेको आवश्यकता भएको उनले भने । विदेशबाट आएकालाई रोजगार प्रदान गर्नका लागि कृषिलाई प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो ।

नेपाली कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काले नीति राम्रो भएर मात्रै नहुने बताउँदै कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए । विकासमा समावेशीकरण आवश्यकता भएको उनको कथन थियो । त्यस्तै पूर्व नगरप्रमुख ढुण्डीराज लामिछानेले फोहर व्यवस्थापनका लागि जग्गा पहिचान गरेर काम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

स्वच्छ नगर सबैको आवश्यकता भएको उनको भनाइ थियो । यसैगरी कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि रिजालले समावेशिता, समानता र सहभागितामूलक विकासमा सबैले जोड दिनुपर्ने बताए । उनले नयाँ नीतिमा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा विषय प्रवेश गराउँदै नगरप्रमुख घनश्याम पाण्डेले सबै पक्षका कुरालाई समेटेर नीति तथा कार्यक्रम ल्याउन लागेको बताए । उनले सरकार सबैको हो भन्ने अनुभूति दिलाउन आफू कटिवद्ध हुने कुरामा समेत जोड दिए । ‘हामीले महामारीसँग लड्दै विकासलाई अगाडि बढाउनु छ, तथापि चुनौतीका बीचमा हामीसँग सम्भावनाहरु पनि प्रशस्त रहेका छन्’, उनले भने । कार्यक्रममा नेकपाका कृष्णप्रसाद भुसाल, खुसीराम चौधरी, शेषुराम भण्डारी, नेपाली कांग्रेसका भीमबहादुर भण्डारी र जगत खड्का, जनमोर्चाका भरत भण्डारी, जनता समाजवादी पार्टीका जीवन भण्डारी, राप्रपाका श्यामलाल पोख्रेललगायतले मन्तव्य राखेका थिए ।