विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण शुरु

दाङ,३ असार । दाङका ४ सय २३ सामुदायिक विद्यालयहरुमा विद्यार्थीलाई पुस्तक वितरण कार्य शुरु गरिएको छ । १० कक्षासम्मका विद्यार्थीहरुका लागि विद्यालयहरुले आ–आफ्नो सुविधा र सहजतालाई ख्याल गरेर पुस्तक वितरण गर्न थालेका हुन् ।

असार १० गतेसम्म यसरी पुस्तक वितरण गरिसक्ने गरी वितरण कार्य अगाडि बढाइएको छ । विद्यालयहरुमा क्वारेन्टाइन बनाइएका कारण कतै विद्यार्थीको घरमै पुगेर पुस्तक उपलव्ध गराइएको छ भने कतै सम्पर्क शिक्षक वा कर्मचारी तोकी उनीहरुसँग सम्पर्क गरेर पुस्तक लिन विद्यार्थीहरुलाई भनिएको छ ।

क्वारेन्टाइन नगराइएका विद्यालयहरुमा भने विद्यालयमै विद्यार्थीलाई बोलाएर सामाजिक दूरी कायम गर्दै पुस्तक वितरण थालिएको सम्बन्धित विद्यालयहरुले जनाएका छन् । नियमित पठनपाठन कहिलेबाट हुने भन्ने निश्चित नभए पनि पुस्तक पाएपछि विद्यार्थीहरुले घरमै अध्ययन गर्न सक्ने अवसर पाउनेछन् ।

यद्यपि अनलाइन कक्षालगायतका वैकल्पिक उपायहरुद्वारा विद्यार्थीहरुलाई पढाउने अभ्यास थाल्नेतर्फ प्रयासहरु भने सम्बन्धित विद्यालयहरुले गर्न थालेको जनाइएको छ ।