खेमराज रिजाल
दाङ, ३ असार । सरकारका अंगहरुलाई अझैसम्म भ्रम के छ भने कोभिड–१९ को संक्रमण भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुमा मात्रै छ । उनीहरुलाई सुरक्षितरुपमा उपचारसेवा दिएर उपचार गर्न सकेमा संक्रमण महामारीका रुपमा समुदायस्तरसम्म फैलन सक्ने छैन ।
२ मिटर टाढा रहेको व्यक्ति, सुरक्षित भएर उपचारमा संलग्न स्वास्थ्यकर्मीलगायत हावाका माध्यमबाट संक्रमण फैलने छैन । कोभिड–१९ को संक्रमणका सन्दर्भमा अझै पनि फरक–फरक अनुसन्धानका फरक–फरक रिपोर्टहरु सार्वजनिक भइरहेका छन् ।
यसै साता विश्व स्वास्थ्य संगठन नजिकका चिकित्सक तथा अन्य विकसित मुलुकहरुका स्वास्थ्य अनुसन्धाताहरुले गरेको सर्वेक्षणमा भने सबैभन्दा पहिले कोभिड–१९ भाइरसको उत्पत्ति भएको चाइनाको वुहान प्रान्त, कोरोनाको उच्च संक्रमण झेलिसकेको इटली र न्युयोर्कमा हावाबाट पनि संक्रमण फैलने प्रशस्तै प्रमाणहरु प्रस्तुत भएका छन् ।
चिकित्सकहरु भन्छन्– ‘जुनसुकै इन्फेक्टेड पार्टमा भाइरस टच भयो भने सहजै यसको संक्रमण शरीरभरी फैलन सक्छ । ती हाम्रो शरीरका जुनसुकै अंगहरु होऊन् ।गालामा पाकिरहेको डण्डीफोर संक्रमित हातले छोएको अवस्था होस् वा कानको प्वालमा संक्रमण भएको अवस्थामा भाइरस छोएको हातले छोएमा पनि कोरोना भाइरसको संक्रमण शरीरमा फैलन सक्छ ।
नाक कोट्याउँदा होस वा आँखा चिलाउँदा र नरम तालुबाट पनि भाइरस पस्ने अधिक संक्रमण देखिएको छ । तीन महिनाको अथक प्रयासपछि संक्रमणमुक्त भएको चीनको राजधानी वेइजिङमा फेरि कोभिड–१९ को संक्रमण देखिन थालेपछि विश्व समुदाय फेरि ठूलो त्रासमा रहेको छ । जोखिमको सामना गर्न गम्भीर बहसहरु भइरहेका छन् ।
नेपालमा भने नागरिकदेखि सरकारसम्म कोही पनि सचेत र गम्भीर छैनन् । फितलो क्वारेन्टाइन व्यवस्थापन, उपयुक्त पिपिईको अभाव तथा आवश्यकताअनुसार समयमै परीक्षणको नतिजा आउन नसक्दा पूरै समुदायस्तरमा कोरोनाको संक्रमण फैलन सक्ने चेतावनी यहाँका चिकित्सकहरुले दिएका छन् । ‘क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखियो भनिनु एउटा नमुना मात्र हो, परीक्षण नगरिएका संक्रमितहरु धेरै हाम्रो समुदायभित्र छिरिसकेका छन्’, यहाँका एकजना बालरोग विशेषज्ञ डा. किशोर खत्रीले भने ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाका जनप्रतिनिधिहरुसमेत अहोरात्र खटिइरहेको अवस्थामा पनि क्वारेन्टाइन व्यवस्थापनमा होस् वा संक्रमणपछिको लकडाउनले भोकमरीको समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउने सवालमा सरकार कतै चुकेको जस्तो देखिएको पनि उनको अभिव्यक्ति थियो ।
‘भारतलगायत अन्य मुलुकबाट आएका नागरिकहरुलाई जब सामुदायिक क्वारेन्टाइनमा राखिएको छ भने हरेकलाई कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र घर पठाउने वा आइसोलेसनमा लैजाने भन्ने निर्णयमा स्थानीय सरकार पुग्नुपथ्र्यो, तर हतारमा अपरिपक्क निर्णयहरु हुँदैछन्, डा. खत्री भन्छन्– ‘स्थानीय तहमा भएका यस्ता यावत् त्रुटिले समुदायस्तरसम्मै संक्रमणको जोखिम पुगिसकेको छ ।
‘संक्रमणले यस्तो भयावह अवस्था पनि आउने छ कि हामी हरेकका घर–घरमा कोरोनाका संक्रमित हुनेछन्, उपचार गर्नका लागि आइसोलेसन बेडहरु पुग्ने छैनन्, यो गम्भीर अवस्थामा आफै सुरक्षित हुनेतर्फ पनि नागरिकहरु लाग्नु उपयुक्त हुनेछ’, डा. खत्री भन्छन् । डा. खत्री नेपाल मेडिकल एशोसियशनमा पनि आवद्ध चिकित्सक हुन् ।
बालरोग विशेषज्ञ भएका नाताले पनि उनले यो संक्रमणको भयावह अवस्थामा बालबालिका र बृद्धबृद्धाहरुलाई संक्रमणको सम्भावित स्थानबाट अत्यन्तै टाढै राखी दैनिक जीवनयापनको व्यवस्थापन मिलाउन पनि स्थानीय नागरिकहरुलाई सुझाव दिएका छन् । स्वास्थ्यकर्मी मात्र होइन, सुरक्षाकर्मी, अन्य कार्यालयहरुमा काम गर्ने कर्मचारी तथा बैंक तथा वित्तीय संस्था आसपासका नागरिकहरुमा समेत कोरोना भाइरसको संक्रमण भित्रभित्रै सल्किइसकेको हुनसक्ने पनि ती चिकित्सकको चेतावनी छ ।
क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनको जिम्मा पनि विशेषगरी स्थानीय सरकारलाई नै रहेको र कोरोना परीक्षणको रिपोर्ट नै नआएको अवस्थामा क्वारेन्टाइनमा राखिएका नागरिकहरुलाई घर पठाइन नहुने पनि उनको तर्क थियो । ‘राज्यले सकेसम्म भरथेग गरेको देखिन्छ, किनकि राज्यसँग अन्य विकसित मुलुकहरुमा जस्तो साधन र स्रोत पनि छैन तर नागरिक सचेतना अझै पनि कमजोर नै देखिनु दुर्भाग्य हो’, अर्का बालरोग विशेषज्ञ तथा प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुर भन्छन् ।
नागरिकहरुलाई कोरोनाको त्रास देखाएर राज्यले भोकमरीको अवस्था ल्याउन नचाहने बताउँदै डा. ठाकुरले कोरोना भाइरसको संक्रमणबाट जोगिन रोग प्रतिरोधात्मक क्षमताको विकाश गर्न स्वयम नागरीकहरु लाग्नुपर्ने सुझाव दिन्छन् । ‘आयुर्वेद विधामा धेरै प्रकारका भाइरसबाट जोगिने उपायहरु नभएका होइनन्, तर नागरिकहरुले दैनिक खानपानमो व्यवस्थापन र नियमित योगा र प्रणायामलाई ध्यान दिएको अवस्था मैले पाएको छैन’, डा. ठाकुरले भने– ‘यदि संक्रमण समुदायमै फैलिएर व्यापक भयो भने राज्यले लकडाउनभन्दा पनि कडा मोड ल्याउन बाध्य हुने अवस्था नआउला भन्न सकिन्न ।
सरकारले दैनिक जनजीविकालाई केही सहज बनाउन केही–केही उद्योग, व्यापारिक प्रतिष्ठान तथा कार्यालयहरु खोल्ने र केहीलाई अझै पनि बन्द नै रहने बताए पनि नागरिकहरुले जवर्जस्तरुपमा नखोल्ने भनिएका संस्थाहरुसमेत सञ्चालनमा ल्याएका छन् ।
गाउँ–गाउँमा दर्जनौं युवा भेला भएर भलिवल खेलिरहेका दृश्य होऊन् वा राजमार्गमै प्रहरी बिट अगाडि खुलेका होटल रेष्टुरेण्ट, सबैले लकडाउनको उपहास गरिरहेका छन् । ‘कुनै पनि स्थानमा सामाजिक दूरी कायम भएको तथा सेफ््टी भएर काम गरेको मैले देखेकै छैन’, एकजना प्यारामेडिक्सले भने । क्लिनिकमा स्वास्थ्य उपचार गर्न आउने बिरामीले समेत मास्क लगाएर आउने गरेका छैनन् । तिर्खा मेटाउन फेरि होटलमै पानी माग्न थालिसकेका छन् ।