Goraksha

National Daily

गञ्जागोल सडक विस्तार योजना

खेमराज रिजाल

दाङ, १७ मंसिर । बजेटको अपर्याप्तता तथा वातावरणीय जोखिमलाई कारण देखाउँदै भारतीय सरकारले उपलव्ध गराएको आर्थिक सहयोगले हुने सडक विस्तार समेत गञ्जागोल अवस्थामा देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल भ्रमणमा आएका बेला उद्घोष गरिएको सहयोग रकमले दाङ जिल्लाको लमहीदेखि घोराही हुँदै सल्यान जिल्लाको कपुरकोटसम्म चारलेन सडक विस्तार हुने सरकारले त्यसैवेलाको नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो ।

पछिल्लो सरकारले बजेट र वातावरणलाई कारण देखाउँदै लमहीदेखि घोराही हुँदै कपुरकोटसम्मको फोरलेन विस्तार परियोजनालाई खुम्च्याएको छ । यससँगै यो सहयोग रकमले घोराहीको बबई खोलापुलदेखि तुलसीपुरसम्म सडक विस्तार योजना शुरु भएको छ । त्यसमा पनि सबै स्थानमा सडक चारलेनको स्वरुपमा हुने छैन । कतै चारलेन त कतै दुईलेन गरेर विनियोजित बजेट खर्चगर्ने तयारी नेपाल सरकारले गरेको छ । यसका लागि नेपाल सरकारले लमहीमा भालुवाङ–बाग्दुला, चनौटा–कृष्णनगर र लमही–घोराही–तुलसीपुर सडक योजना कार्यालय दाङको स्थापना गरेको छ । परियोजना कार्यालयले काम शुरु गरिसकेको छ । सो परियोजनाले यी तीनै सडकखण्डको स्तरोन्नतिको मोनिटरिङ गर्ने बताइएको छ ।

बबइखोला–कटुवाखोला चारलेन
– डिकेपम्प–सर्राको थापा चोक चारलेन
– झारवैरा–खैरा चोक चारलेन
– दूधरास–हात्तीखौवा चारलेन

परियोजना कार्यालयका इन्जिनियर पारस हमालले दिएको जानकारी अनुसार भारत सरकारको सहयोगको जम्मा १ करोड, ७ लाख ९६ हजार ९ सय १० अमेरिकी डलरमा काम हुनेगरी ठेक्का सम्झौता समेत भैसकेको छ । त्यसको आधिकारिक ठेक्का भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राइटक्चर प्रालिले लिएको छ । सो प्रालिले कुन–कुन स्थानमा कुन–कुन निर्माण कम्पनीलाई पेटी ठेक्का दिएको भन्ने विषयमा आधिकारिक जानकारी नभएको परियोजनाको कार्यालयले जनाएको छ । सो बजेटबाट घोराही–तुलसीपुर सडक खण्डका बीच–बीचका केही बजारीक्षेत्र मात्र चारलेनका रुपमा विस्तार हुनेछ ।

सन् २०१९ जनवरी २८ मा ठेक्का सम्झौता भएको सडक विस्तार योजना सन् २०२१ अगस्ट ११मा निर्माण सम्पन्न भैसक्नुपर्ने छ । तर सडक क्षेत्रमा रहेका रुख हटाउने, खानेपानीका पाइपलाइन व्यवस्थापन गर्ने, विद्युत पोल व्यवस्थापन गर्ने तथा दूरसञ्चारका संरचना व्यवस्थापन गर्ने जिम्मा भने नेपाल सरकारलाई रहेको छ । चोरलेनको काम शुरु भैसके पनि नेपाल सरकारका तर्फबाट हुनुपर्ने कुनै काम अघि बढ्न सकेको छैन । ६ महिनाको अवधिमा नेपाल सरकारको तर्फबाट रुखमा टाँचा लगाउने काम मात्र भएको उपभोक्ताहरुले बताएका छन् ।

परियोजना कार्यालयका अनुसार बबई खोलादेखि कटुवाखोला पुलसम्म चारलेन सडक निर्माण हुनेछ । किनकि कटुवाखोलादेखि डिके पम्पसम्म सडक डिभिजन कार्यालयले यसअघि नै चारलेन सडक निर्माण गरिसकेको छ । सो सडकलाई यथावत राखिने छ । निर्माण कम्पनीले अर्को पार्ट डिके पम्पदेखि सर्राको थापा चोकसम्म चारलेन बनाउने छ । सर्राचोकदेखि नारायणपुरको झारबैरा चोकसम्म सडक दुईलेनमात्र हुनेछ । त्यसको व्यवस्थापन नेपाल सरकारले गर्नेछ ।

परियोजनाले फेरि नारायणपुरको झारबैरा चोकदेखि खैराचोकसम्म चारलेनको सडक बनाउने छ । खैरा चोकदेखि दूधरास चोकसम्म फेरि सडक दुईलेनमै खुम्चिने छ । दूधरास चोकदेखि हात्तीखौवा चोकसम्म भने फेरि चारलेनकै सडक बन्ने परियोजना कार्यालयले जनाएको छ । त्यसका लागि सडक विस्तारका लागि पर्खाल लगाउने काम तुलसीपुर क्षेत्रबाट शुरु भइसकेको छ । यद्यपि सडक पर्खाल सबै स्थानमा निश्चित चौडाइमा नभएको स्थानीयबासीले गुनासो गर्दै आएका छन् । किन कतै दुईलेन कतै चारलेन ? भन्ने जिज्ञासामा परियोजनाका इन्जिनियर हमाल भन्छन्– ‘यो प्राविधिक प्रतिवेदन र बजेटको अवस्था हेरेर नेपाल सरकारले नै गरेको निर्णय हो, बाँकी काम अर्को चरणमा पनि हुन सक्छ ।’ कपुरकोटमा भर्खरै सडक पिच भएको तथा मसौट उकालोको क्षेत्रमा पनि सडक चौडा गर्ने उपयुक्त अवस्था नभएकाले त्यसका विषयमा विकल्प सोचिरहेको पनि इन्जिनियर हमालले बताए ।

कस्तो हुने छ, चार लेन सडक ?
प्राविधिक प्रतिवेदन अनुसार चारदेन सडक २१ मिटरको चौडाइमा रहने छ । तर त्यसमा १४ मिटर मात्र कालोपत्रे गरिने छ । सडकको केन्द्रबाट एकातर्फ साढे १ मिटर र अर्कोतर्फ साढे १ मिटर गरी जम्मा ३ मिटरको ग्रिनवेल्ट हुनेछ । त्यसमा आवश्यकता अनुसारका रुखहरु रोपिने छ । ग्रिनवेल्टबाट एकातिर ७ मिटर र अर्कोतर्फ पनि ७ मिटर चौडाइको सडक कालोपत्रे हुनेछ । त्यसमा मात्र सवारीसाधन गुड्न पाउने छन् । दुवैतर्फ बाँकी रहेको दुई÷दुई मिटर सडकलाई सोल्जर र ड्रेनका रुपमा प्रयोग गरिने छ । त्यसैमा पैदल यात्रुहरु पनि हिँड्न सक्नेछन् । स्तरोन्नति हुन बाँकी रहेको सडकखण्डलाई भने सडक विभागले कम्तीमा ७ मिटर कालोपत्रे गरी दुईलेनको सडक निर्माण गर्नेछ ।