मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको डिपिआर तयार
गोरक्ष समाचारदाता
दाङ, १७ मंसिर । १५ करोड बढीको लगानीमा घोराहीमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र बन्न लागेकोे छ । ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही शाखाले प्रदेशमै पहिलो पटक घोराही उपमहानगरपालिका वडा नं. १५को मधुवन टोलमा बहुउद्देश्यीय ध्यान केन्द्र निर्माण गर्न लागेको हो । त्यसको डिपिआर तयार भइसकेको बताइएको छ ।
ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराहीले मंलगबार पत्रकार सम्मेलनको आयोजना गरी आध्यात्मिक पुनर्जागरण केन्द्रका बारेमा जानकारी दिएको हो । समाजसेवी देवराज पाण्डेले प्रदान गरेको साढे ७ कठ्ठा जमिनमा बहुउपयोगी ध्यान केन्द्र निर्माण गर्न लागेको राजयोग प्रशिक्षक एवं सूचना सञ्चार एवं प्रचार प्रसार समितिका संयोजक माधव तिमिल्सेनाले जानकारी दिएका छन् । त्यसमा आध्यात्मिक, शैक्षिक, धार्मिक एव पर्यटकीय केन्द्रका रुपमा उपयोग गर्ने गरी डिपिआर तयार पारिएको ब्रह्माकुमार तिमल्सेनाले बताए । अत्याधुनिक भवनमा भूमिगत कार पार्किङ, आध्यात्मिक संग्रहालय, आवास निवास, विभिन्न क्षमताका सभा हल र एउटा विशाल अडिटोरियमसमेत रहने भएको छ । त्यस्तै अत्याधुनिक सुबिधा सम्पन्न भवनमा करिब ५ सय ५० क्षमताको अडिटोरियम हल र करिब २५० क्षमता भएको आवासीय भवन निर्माण हुने बताइएको छ ।
मानव मनको चेतना अध्यात्मसँग जोड्दै मूल्य शिक्षा र आध्यामिकताको विषयमा अध्ययन गराउने उद्देश्यले केन्द्रको निर्माण गर्न थालिएको तिमिल्सेनाले बताए । त्यस्तै राजयोगद्वारा सम्पूर्ण स्वास्थ्य, हिंसाग्रस्त एवं पीडित मानव समाजलाई शान्तिको दीर्घकालीन मार्ग प्रदान गर्न, पर्यटीकय केन्द्रका रुपमा विकास हुन थालेको घोराहीलाई आध्यात्मिक तथा सांस्कृतिक नगरीको रुपमा विकास गर्नका लागि आध्यामिक केन्द्रको निर्माण हुन थालेको बताए ।

२१ गते शिलान्यास
यसैबीच बहुउद्देश्यीय आध्यामिक केन्द्रको यही मंिसर २१ गते विधिवत रुपमा भवनको शिलान्यास गरिने भएको छ । भवनको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल र राजयोगिनी ब्रह्माकुमारी परणिता दिदीले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र घोराहीले जनाएको छ । शिलान्यास कार्यक्रमलाई सफल बनाउनका लागि विभिन्न समिति गठनसँगै प्रचार–प्रचारको कामलाई तीव्रता दिइएको समेत ब्रह्मकुमार माधव तिमिल्सेनाले जानकारी दिएका छन् । जनस्तरबाट संकलित रकमबाटै भवन निर्माणको कामलाई अघि बढाइएको भन्दै भवन निर्माणको कार्यमा सहयोग गर्न तिमिल्सेनाले सम्पूर्णलाई आग्रह गरेका थिए ।
ब्रह्माकुमारी गीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेय, नेपाल निर्माण व्यवसायी संघ प्रदेश नं. ५ का अध्यक्ष बलिभद्र राना, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, पर्यटन विकास केन्द्र दाङका उपाध्यक्ष डा. लोकराज पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
