दोषीलाई कानुनी दायरामा ल्याउ : राष्ट्रिय मानवअधिकार आयोग

दाङ,२ असार । राष्ट्रिय मानवअधिकार आयोगले कैलालीमा क्वारेन्टाइनमा बसेकी महिलामाथि भएको सामुहिक बलात्कारको घट्नाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सचिव तथा प्रवक्त देव भट्राईले एक विज्ञप्ति निकालेर घट्नाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन समेत आग्रह गरेका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलालाई त्यही कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकले सामुहिक बलात्कार गरेका थिए । ‘घट्नामा संलग्न दोषीलाई तत्काल काुनी दायरामा ल्याउन र क्वारेन्टाइनहरुमा यसप्रकारका घट्नाहरु नदोहोरिने सुनिश्चित गर्न, बलात्कृत भएको भनिएकी महिलाको शीघ्र स्वास्थ्य परीक्षण तथा पिसिआर परिक्षण गरी सामाजिक मनोसामाजिक विमर्श प्रदान आग्रह गर्दछौ’–विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै आयोगले दोषीलाई कारवार्ही गर्दै पीडितलाई उचित राहत तथा क्षेतिपूर्ती प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले यसअघि विश्व संगठनको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन सम्वन्धी मापदण्ड एव क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन सम्वन्धी मापदण्ड लागु गर्न नेपाल सरकारलाई पटक पटक आग्रह गर्दा पनि नहुनु दुःखद भएको जनाएको छ ।

साथै राज्यकै निकायबाट सञ्चालित क्वारेन्टाइनभित्रै यस्ता जघन्य अपराधका घट्ना हुनु अत्यन्त दुःखद् पक्ष भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त घट्ना नेपालको संविधानको धारा ३८ र १८ मा उल्लेख गरिएको मौलिक हक र नेपाल पक्ष भएको महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि १९७९ विपरित भएको समेत उल्लेख गरिएको छ ।