मधुसूदन सुवेदी
यहाँ सत्ता, अठ्ठा, नैला र दैला भन्ने वित्तिकै जुवातासको प्रशंग नजोड्नुहोला र पत्रिकामा पनि जुवातासका प्रशंग चलाउन थालियो भनेर नजान्नुहोला, नमान्नुहोला र नठान्नुहोला । यो विकृतिरुपी जुवाताससँगको प्रशंग किमार्थ होइन । यो त केवल संयोगको पुष्टि र संयोगको नजिक भएकोले यसलाई उठान गरिएको हो । यहाँ (सत्ता) भन्नाले देश सञ्चालन गर्ने विधि र प्रक्रिया हो भने देशको राज्यभार ग्रहण गर्ने थलो सत्ता हो ।
यहाँ अठ्ठा भन्नाले सत्तामा चलखेल गर्ने व्यक्ति तथा सत्ताधारी व्यक्तिहरुको संलग्नता, उनीहरुको पद, कुर्सी र उनीहरुले आफ्नो कोकरुपी कुर्सीलाई भाग्न र थाक्न नदिन गरिएको अठ्याउने कोशिस र प्रयास हो । अर्थात् हामीले नेपालको सत्ताधारी भूमिमा हिजोदेखि नै देख्दै आएको रमिता र मेला के हो भने सत्ताको मत्तामा माया, मोह, प्रेम, स्नेह, बासना र तृष्णा जागेर त्यसलाई जोगाउन गरिएका अनेकौँ प्रयास, कसरत, अभ्यास र कुर्सी दौडका खेल हुन् ।
यही सत्ता र अठ्ठामा लागेर नै देशको विकास र समृतिमा ओझेल परेको कुरा सर्वत्र छिपेको छैन । यहाँ नैला भन्नाले नवग्रह वा नौ ग्रहका अवस्था हुन् भने यहाँ दैला भन्नाले हिजोदेखि आजसम्म देश र जनतालाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा भोगेका दशा हुन् । समिष्टमा भन्नुपर्दा सत्ता र अठ्ठा नेताका लागि बलवान् भए भने नैला र दैला जनताका लागि बलवान भए । देशका शासक वर्ग सत्ताको लिप्सा, सत्ताको मोह र सत्ताको सुविधामा चुर्लम्म डुबेर तपसिलका कुरा जान्न नसक्दा र तपसिलका कुरा थाहा पाउन नसक्दा जनतामा नवग्रह हावी हुन गयो । जसका कारण जनतामा जाग्नुपर्ने जोश, जाँगर र हिम्मत पलाउनुको सट्टा सुक्दै र मर्दै गयो ।
नौ ग्रहका पनि आ–आफ्नै भूमिका छन् । जसअनुसार सूर्य ग्रहलाई ऊर्जाको रुपमा मानिन्छ । यो सूर्य कमजोर हुँदा जनतामा भएको ऊर्जा कमजोर हुँदै गयो । त्यसैले चन्द्रमालाई मनको कारक मानिन्छ । चन्द्रमा कमजोर हुँदा जनताका मन कमजोर बन्दै गयो र मनमा एक किसिमको भय र त्रासले डेरा जमाएर बस्यो । मंगल ग्रह भन्नाले शक्ति तथा इम्युनिटी पावरको ग्रह हो । यो मंगल कमजोर हुँदा जनताका आन्तरिक सोच, विचार, भावना सबै कमजोर बन्दै गयो र भोलिका दिनमा म यो गर्छु र ऊ गर्छु भन्ने मनोबल नै हराएर जान थाल्यो ।
बुध ग्रह भन्नाले विद्या र बुद्धिको कारक ग्रह हो । यो ग्रह कमजोर हुँदा जनता बुद्धि तथा विवेकले काम गर्न नै सकेन । कुन कुरा राम्रो तथा कुन कुरा नराम्रो भन्ने विवेक चलाउन नै सकेनन् । जसले गर्दा जनता एक प्रकारका अनिर्णयको बन्दी बन्दै गए । बृहस्पति ग्रह भनेको व्यक्तित्वको कारक ग्रह हो । यो ग्रह कमजोर हुँदा जनताले आफ्नो भूमिका, अधिकार, आफूले पाउने अधिकारसमेत ठम्याउन सकेनन्, जान्न सकेनन् र जनता जनार्दन भनेको कुरा बुझ्न सकेनन् । शुक्र ग्रह भनेको धन, सम्पत्ति तथा भौतिक सुख–सुविधाको कारक ग्रह हो । यो ग्रह कमजोर हुँदा जनताले कहिले पनि आफूले चाहेको सुन्दर महलमा सुख, शान्ति र समृद्धिका साथ आफ्नो जीवन बिताउन पाएनन् ।
सधै एक गास भात र एकसरो टालोको लागि देशदेखि परदेशसम्म भौतारिनुप¥यो । शनि ग्रह भनेको मेहनती तथा परिश्रमको कारक ग्रह यो हो । यो ग्रह कमजोर हुँदा काम गरेर खाने जनता, पाखुरी बजारेर खाने जनता, पसिना पोखेर खाने जनता, प्रकृतिसँग जुधेर खाने जनता अन्योलको भुमरीमा पर्न बाध्य भएका छन् । हातमा हलो, कुटो, कोदालो भए पनि त्यसलाई प्रयोग गर्ने कहाँ र कहिले ? भन्ने प्रश्नको जवाफ आजसम्म पनि कसैले दिन सकेका छैनन् । राहु ग्रह भनेको षड्यन्त्र कारक ग्रह हो । यो ग्रह कमजोर हुँदा जनताले जस्तो अवस्थामा पनि आफ्नो दुःख र पीडाको पैची फर्काउने हिम्मत कसेका छैनन् ।
आज सबै कुरा नेताका कारण दुःख भोगिरहँदा समेत नेतालाई षड्यन्त्रमा फसाउने, कुनै धन्दा रचेका छैनन् र सोचेका छैनन् । केतु ग्रह भनेको पर्दाभित्रबाट नकारात्मक भूमिका खेल्ने ग्रह हो । यो ग्रह कमजोर रहँदा जनताले कहिल्यै पनि अरुका कुरा सेनन्, अरुका कुरा मानेनन् र अरु देशका जनतालाई हेरेनन् । केवल सदासर्वदा आशावादी बन्दै गए र आफ्ना देशका नेतालाई स्वागत–सम्मान गर्दै गए । यसरी जनतालाई नौवटै ग्रह कमजोर हुँदा आज जुन दशा भोग्नुपरेको छ यो आफैमा दयनीय र सोचनीय अवस्था छ । यसरी जनताका नौ ग्रह बिग्रनु र जनताका यो देशा लाग्नुमा सत्ताधारी व्यक्ति, शक्ति, समूह, संगठन, मोर्चाको अहम् भूमिका हुँदाहुँदै पनि जनता त्यसलाई जानेर मात्र बसिरहेका छन् । अब पनि यसैगरी चलिरहने हो र चलाइरहने हो भने बिग्रेका ग्रह र बिग्रेका दशाले भोलिको भयानक कसैले रोक्न नसक्ने र छेक्न नसक्ने कुरालाई मध्यनजर गर्दै शासक वर्ग चनाखो नहुने हो भने त्यसको अनुतलीय घाटा सत्ताधारीलाई नै हो ।