प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड

अघिल्लो आबभन्दा कम आकार, स्वास्थ्य र कृषिमा जोड

गोरक्ष समाचारदाता
बुटवल, १ असार । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षभन्दा ६ करोड रुपैयाँ कम गरी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोख्रेलले ३६ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमध्ये चालुतर्फ ३४ दमलव ६४ प्रतिशत अर्थात १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पुँजीगततर्फ ५१.२२ प्रतिशत अर्थात १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ १४.१४ प्रतिशत अर्थात ५ अर्ब १४ करोड ५० हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।

बजेट आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजश्व बाँडफाँडबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँडबाट ८ करोड ५६ लाख, वित्तीय समानीकरणतर्फ १७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८ करोड ३६ लाख समपूरक अनुदानतर्फ ४८ करोड ३३ विशेष अनुदानबाट र २१ करोड र चालु वर्षको खर्च हुन नसकेको रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ ।

प्रदेश ५ सरकारले अघिल्लो वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको थियो । स्वास्थ्य, कृषि र रोजगारी प्रवद्र्धनमा बजेट केन्द्रित बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालका रुपमा स्तरोन्नति गर्ने घोषणा गरेका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गंगालाल हृदयरोग रोग केन्द्रको सहकार्यमा मुटुरोग उपचार गर्ने गरी बजेट छुट्याएका छन् ।

आव २०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री समेत रहेका मुख्यमन्त्री पोख्रेलले रुकुमपूर्व, नवलपरासी, भिम अस्पताल, कपिलवस्तु र बर्दियाको जिल्ला अस्पतालको स्तरोन्नतिका लागि १५ करोड बजेट बिनियोजन गरेको बताए । उनले १०९ वटै पालिकामा मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम सञ्चालन गर्न १ करोड बिनियोजन गरेको बताए ।

पोख्रेलले कपिलवस्तुको बिवराजमा सरुवारोग अस्पताल निर्माण गर्न १ करोड तथा दाङको लमहीमा ट्रमा अस्पतालका लागि ५ करोड बजेट बिनियोजन गरेको बताए । आव ०७७/७८ मा बाँकेको खजुरामा प्रदेश बिश्व बिद्यालयको स्थापना गर्ने घोषणा गर्दै मुख्यमन्त्री पोख्रेलले त्यसको लागि ७ करोड बजेट बिनियोजन गरेको बताए ।

सञ्चार क्षेत्रको पनि समूचित विकास गरिने भन्दै विज्ञापन वितरण प्रणाली वैज्ञानिक बनाउने तथा सञ्चारसम्बद्ध संस्थाहरुको विकासका लागि सहकार्य गर्ने बजेटमा उल्लेख गरिएको छ । प्रदेश ५ सरकारले विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार सिर्जना गर्न ५१ करोड १४ लाख बजेट विनियोजन गरेको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री पोख्रेलले युवाहरुलाई कृषिमा लगाउने उद्देश्यले बजेट बिनियोजन गरेको बताए । उनले लकडाउनका बीच कृषि एम्बुलेन्स सञ्चालन गरिएको उल्लेख गर्दै कृषिलाई बजेटमा पर्याप्त बजेट बिनियोजन गरेको बताए ।

उनले कोरोना भाइरस नियन्त्रण गर्न प्रत्येक पालिकालाई ५/५ लाख विनियोजन गरेको जानकारी दिए ।उनले प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ कोषमा १५ करोड ६ लाख संकलन भएको जानकारी दिँदै अहिलेसम्ममा ७ करोड ८९ लाख विभिन्न शीर्षकमा निकासा भएको बताए । आगामी वर्षमा पनि प्रदेश सरकारले कोभिड–१९ कोषमा १० करोड विनियोजन गरेको उनले बताए । सरकारले घोषणा गरेको लकडाउन तथा अन्य नीति निर्देशनहरु पालना गरेर सरकारी योजनाअनुसार अघि बढेकोमा प्रदेशवासीलाई उनले धन्यवाद ज्ञापन समेत गरेको छन् । कोभिड–१९ विरुद्धको लडाइँमा सरकारलाई आगामी दिनमा पनि साथ र सहयोगका लागि उनले अपेक्षा गरेका छन् ।