लम्की क्वारेन्टाइनमा सामूहिक बलात्कारका तीन आरोपीमाथि अनुसन्धान शुरु

चाँदनी आचार्य
कैलाली, १ असार । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलामाथि जबर्जस्ती करणी आरोप लागेका लम्कीकै तीनजना युवाविरुद्ध पीडित महिलाले जाहेरी दर्ता गरेसँगै उनीहरुविरुद्ध थुनामाराखी थप अनुसन्धानका लागि म्याद थपको तयारी गरेको छ ।

पीडित महिलाले जबर्जस्ती करणीको आरोपमा दिएको किटानी जाहेरीका आधारमा आरोपी तीनजना युवालाई आइतबार पक्राउ गरी जवर्जस्ती करणी आरोपमा अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको कैलालीका प्रहरी नायब निरीक्षक तथा प्रवक्ता प्रतीक विष्टले जानकारी दिएका छन् ।

लम्कीचुहा नगरपालिका–१ स्थायी ठेगाना भएका ३१ बर्षीय महिलामाथि जवर्जस्ती करणीका आरोपित सोही वडाका तीनजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रवक्ता बिष्टले बताए । उनले क्वारेन्टाइनमा बसेकी महिलामाथि स्वास्थ्यकर्मी एवं क्वारेन्टाइन ब्यवस्थापनमा स्वयंसेवकका रुपमा कार्यरत २२ बर्षीय किशोर परियार, २० बर्षीय लक्ष्मण बि.क. र १८ बर्षीय सर्जन बि.क.लाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताए ।

भारतको बैंग्लोरबाट आएकी महिला क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । शनिबार राति क्वारेन्टाइन व्यवस्थापनमा खटिएकै युवाहरुले आफूमाथि सामूहिक बलात्कार गर्नुका साथै भिडियो बनाई पैसासमेत मागेको पीडित महिलाको आरोप छ । उक्त घटना बाहिर आएपछि लम्कीका स्थानीयले दोषीमाथि कडा कारबाहीको माग राख्दै नाराजुलुस गर्नुका साथै वडा कार्यालय तोडफोडसमेत गरेका छन् ।