संकटको समयमा एम्बुलेन्स चालक : ‘सम्मान र स्वास्थ्य सुरक्षा व्यबस्था आवश्यक’

अमरराज आचार्य
दाङ, १ असार । कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिएको बर्गमध्ये एउटा बर्ग हो, एम्बुलेन्स चालक । तर, उनीहरुलाई यो बेला काम गर्दा अपमानित हुन परेको छ भने पैसाले किनेको पानीसमेत हातमा नदिएर अछुतजसरी उपलब्ध गराइएको पाइएको छ । ‘दुःख ग¥यौं तर सुरक्षा र सम्मान पाएनौं’ भन्ने गुनासो एम्बुलेन्स चालकहरुको रहेको छ ।

अग्रपंक्तिमा खटिनेहरुलाई यस्तो महामारीको समयमा अघिपछि भन्दा बढी सम्मानका साथ हेर्नुपर्ने र उनीहरुको स्वास्थ्य सुरक्षाका लागि विशेष व्यवस्था गर्नुपर्ने औल्याउँछन्, जनस्वास्थ्यविज्ञ दुर्गेशकुमार योगी । ‘आफ्नो स्वास्थ्य जोखिममा राखेर अरुको सेवामा संलग्नलाई सम्मान गर्नुपर्दछ’, योगीले भने । अग्रमोर्चामा खटिने डाक्टर, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, टेक्निसियन, सञ्चारकर्मी सबैलाई सम्मान गरिनुपर्ने उनको भनाइ रहेको छ । विभिन्न स्थानमा एम्बुलेन्स चालकहरुलाई पानीसमेत फालिदिने समाचार बाहिरिएको भन्दै त्यस प्रकारको कार्यले जनताको जीवनराक्षामा खटिने योद्धाहरुलाई निरुसाहित बनाउँछ । अपमान अनुभूति गर्न परेमा तथा नराम्रो व्यवहार भोग्नुपरेमा उनीहरुले काम छोड्न सक्ने खतरातर्फ पनि सचेत हुनुपर्ने उनी बताउँछन् ।

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ मा एम्बुलेन्स चालकले नियमितरुपमा स्वास्थ्य जाँच गराउनुपर्ने उल्लेख छ । निर्देशिकामा प्रत्येक बर्ष स्वास्थ्य परीक्षण गर्ने भनिएको भए तापनि महामारीका समयमा उनीहरुलाई उच्च सजगताका साथ सुरक्षित राख्ने र नियमित परीक्षण गर्ने अभ्यास गर्ने गरिन्छ । त्यसकारण एम्बुलेन्स चालकहरुलाई सुरक्षित र स्वस्थ्य राख्नका लागि यस्तो बेला थप रणनीति पनि बनाउन सकिने योगी बताउँछन् । निर्देशिकामा राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेबमोजिमको प्राथमिक उपचारको तालिम प्राप्त गरेको हुनुपर्ने समेत व्यवस्था गरेको छ । त्यसकारण एम्बुलेन्स चालक अप्ठ्यारो अवस्थाका सहारासमेत हुन् भन्ने बुझ्न सकिने बताउँछन्, संयुक्त एम्बुलेन्स चालक संघ दाङका अध्यक्ष इन्द्रबहादुर केसीले बताए ।

कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा स्वास्थ्यकर्मीलगायत अन्य व्यक्तिहरुले क्वारेन्टाइनमा राखिएका मानिसहरुसँग अनावश्यक भेटघाट नगर्ने, क्वारेन्टाइनमा राखिएका मानिसहरुलाई कुनै पनि जीवित प्राणीको सम्पर्कमा आउन नदिने, क्वारेन्टाइनमा लैजानुपर्ने व्यक्तिहरुको यातायात स्कटिङको लागि छुट्टै टोली र सवारी साधनहरुको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । यो व्यवस्थाअनुसार पनि एम्बुलेन्स चालकहरुलाई संक्रमितबाट जोगाएर सुरक्षित राख्नका लागि रणनीति बनाउन सकिन्छ ।

यस प्रकारको महामारी पहिलोपटक भएकाले पनि केही उनीहरुको सुरक्षा र स्वास्थ्यको सन्दर्भमा योजना बनाउन अलमल देखिएको हुनसक्छ भन्दै योगी भन्छन्– ‘तर उनीहरुका लागि योजना बनाएरै अगाडि बढ्दा सामाजिक सम्मान पनि बढ्छ ।’ दाङ जिल्लामा अहिले सरकारी तथा संस्थाहरुका गरी ७१ वटा एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् । तीमध्ये कोरोना संक्रमित बोक्ने एम्बुलेन्स भनेर १४ वटा एम्बुलेन्सलाई विशेष जिम्मेवारी दिइएको छ । ती एम्बुलेन्सलाई कोरोनामैत्री एम्बुलेन्स भनिएको छ । जिल्लाका एम्बुलेन्स चालकहरुमध्ये कसैलाई संक्रमण भने देखिएको छैन । एम्बुलेन्स चालक संघका अनुसार हालसम्म ६ जना एम्बुलेन्स चालहरुको पिसिआर परीक्षण गरिएको छ ।