दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न प्रशासनको आग्रह

दाङ, ३२ जेठ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणको जोखिम न्यूनीकरण गर्दै जनतालाई सेवा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय दाङले दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न आग्रह गरेको छ । प्रशासनले आइतवार एक सूचना प्रकाशित गरेर यस्तो आग्रह गरेको हो । सूचनामा सरकारी कार्यालयहरु, शिक्षण संस्थाका कार्यालय, गैर सहकारी तथा निजी क्षेत्रका कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न आग्रह गरेको हो । सञ्चालन गर्दा २ मिटर दूरी कायम, मास्कको प्रयोग गर्ने, पटक–पटक सावुन–पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड अनिवार्य पालन गर्नुपर्ने सूचनामा भनिएको छ ।