कोरोना परीक्षण अब निजी ल्याबमा पनि

काठमाडौं, ३२ जेठ । अब निजी प्रयोगशालाहरुले पनि कोरोना संक्रमण परीक्षण गर्न पाउने भएका छन् । संकलित स्वावहरुको परीक्षण समयमै हुन नसकेको अवस्थालाई सम्बोधन गर्न सरकारले यस्तो रणनीति अगाडि सारेको हो । तर निजी अस्पतालले सरकारले तय गरेका सबै प्रक्रियाहरु भने पूरा गर्नुपर्नेछ । यसरी जाँच गर्दा लाग्ने खर्च भने सरकारले व्यहोर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पिसिआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर सरकारी मापदण्डअनुसार नै कोरोना परीक्षण गर्नुपर्ने नागरिक धेरै भएपछि ती प्रयोगशालाको क्षमताभन्दा बढी नमुना संकलन भएका छन् । नमुना धेरै संकलन हुँदा परीक्षणको नतिजा आउन एक हप्ताभन्दा बढी समय लाग्न थालेको छ । त्यस्तै विदेश जानका लागि भिसा वा निरोगिताको प्रमाणपत्रका लागि कोरोना परीक्षण गर्नका लागि तीनवटा अस्पतालमा नमुना संकलन गर्ने डा. गौतमले बताए । काठमाडौंको वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा नमुना संकलन हुनेछ ।