प्रकोप र मानसिक तथा मनोसामाजिक हेरचाह

लक्ष्मी ढकाल

कोभिड–१९ का संक्रमित दैनिक बढ्दै गएका छन् । गत माघसम्म एकजना संक्रमित भएको नेपालमा जेठ अन्तिमसम्म आउँदा ५ हजार बढी पुगिसकेको छ । कोरोनाको ग्राफ दैनिक उकालो लाग्दै गएको छ । त्यो अवस्थामा मानिसमा नैराश्य पैदा हुने स्वाभाविकै हो । विहान उठ्नेवित्तिकै टेलिभिजनका स्क्रिनमा देखिने कोरोना समाचारले हामीलाई चिन्तित गराउने गरेको छ । हाम्रो ठाउँमा पनि विरामीको संख्या बढ्न थाल्यो । हामीलाई पनि गाह्रो हुने भयो । अब त विरामीको संख्या नघट्ने पो हो कि भन्ने सोचाई आउनसक्छ ।

सोचाईको साथसाथमा मनमा हाम्रो भावनामा पनि पविर्तन आउन सक्छ । सोचाईको साथमा डर चिन्ता हुनसक्छ । डर र चिन्ताको साथमा शरीरमा पनि परिवर्तन आउन सक्छ । शरीरमा छिटो–छिटो श्वास चल्ने, मुटु ढुकढुक बढ्ने अथवा मांशपेशीहरु तनावमा जान सक्छ । यतिमात्रमा सीमित नभई हाम्रा व्यवहारमा पनि परिवर्तन हुनसक्छ । जस्तो कि हामीले गरिरहेको काम कुरा छोड्न सक्छौँ अथवा त्यसको बारेमा कसैलाइ सोध्छौँ होला । यस्तो हुनु भनेको व्यवहारमा परिवर्तन भयो । सोचाईको परिवर्तन, भावनाको परिवर्तन, व्यवहारको परिवर्तन र शारीरिक प्रतिक्रियाको परिवर्तन हुनु भनेको मनोवैज्ञानिक परिवर्तन भयो ।

परिस्थितिमा सामाजिक पक्ष एकदम महत्वपूर्ण रहेको छ । हामी कसरी अरुसँग घुलमिल भएका छौँ । हाम्रो सम्बन्ध कस्तो छ ? त्यसैले हाम्रो मन, शरीर र समाजको सम्बन्ध एकदमै महत्वपूर्ण छ । यसैलाई हामीले मनोसामाजिक सहयोगको रुपमा लिन्छौँ । सामान्यतया चिन्ता, डर, आत्तिने कुराहरु, अलमलमा पर्ने कुराहरु, दुःखका कुराहरु, पीडाका कुराहरु, एक किसिमले समान रुपले हुन्छ भने कतिपयमा डर लिने, चिन्ता लिने तनाव लिने परिस्थितिअनुसार फरक हुन्छ ।

प्रकोपको अवस्थामा तनाव आउने कारणहरु निम्न छन् :
१. रोगको चिन्ता : कोभिड–१९ को बेलामा यो रोग मलाई लाग्छ या मेरा प्रियजनहरुलाई लाग्छ कि यो रोग लागिसकेपछि बाँचिँदैन, मर्ने नै हो भन्ने डर चिन्ताले तनाव आउँछ ।

२. स्वास्थ्य संस्थाको डर : धेरैजसोलाई स्वास्थ्य संस्था, हस्पिटल, क्लिनीक जान डर छ, त्यहाँ गयो भने रोग सर्ने हो कि अथवा जानै प¥यो भने कसरी जाने हो भन्ने कुराको चिन्ता हुन्छ ।

३. काम व्यवसायको चिन्ता : दैनिक मजदुरी गर्ने हाम्रा दाजुभाइ, दिदीबहीनीहरुलाई कामको तथा आर्थिक तनाव छ । कतिपयलाई घरबाटै अफिसको काम गर्नु परेको छ । Work from home भनिरहेको छ । कतिपयलई व्यापार व्यवसायको तनाव छ ।

४. सामाजिक विभेद : हामी मानिसमा जातको आधारमा, लिङ्गको आधारमा, वर्णको आधारमा हामी र म अथवा तिमीहरु भनेर समूहमा विभाजन गर्ने प्रथा छ । त्यहीअनुसार हामी कुनै समूहलाई विभेद गरिरहेका हुन्छौँ । कोभिड–१९ का कारणले कतिपय मानिसहरु क्वारेन्टाइनमा, आइसोलेशनमा बसिरहेकाहरु या अन्य कुनै विरामीहरुलाई सामाजिक विभेदीकरण गरिरहेको कुरा पत्रपत्रिकामा आइरहेको छ । यस्ता सामाजिक विभेद्का कारण पनि तनावको सिर्जना हुन्छ ।

५. आफन्त प्रियजनलाई केही हुन्छ कि भन्ने डर : त्यसैगरी कतिपयलाई मेरो आफन्त प्रियजनलाई केही हुन्छ कि मैले बचाउन सक्दिन कि, विदेशमा रहेका आफन्तलाई केही हुन्छ कि ? केही भइहाल्यो भने के गर्ने भन्ने चिन्ता हुनसक्छ ।

६. लकडाउनमा एक्लोपना : कोभिड–१९ को सामना गर्नको लागि, यसको रोकथाम गर्नको लागि, आफू बच्न र अरुलाई बचाउनका लागि हामी लकडाउनमा छौँ । कोही क्वारेन्टाइनमा या आइसोलेशनमा छौँ यो अवस्था भनेको एक्लोपनाको अवस्था हो ।

हामीले सामान्य अवस्थामा गरिरहेको कामभन्दा फरक हुनसक्छ अनि दिक्क लाग्न सक्छ । दुःख, चिन्ता लाग्न सक्छ, एक्लोबन्दा पीडा हुनसक्छ । यो भाइरस नयाँ भएकाले हरेक दिन नयाँ–नयाँ तथ्यहरु आइहेको बेला यसरी सर्छ, उसरी सर्छ हावाबाट सर्छ कि नाई ? यो गर्दा बढ्छ कि यो गर्दा कम हुन्छ कि भन्ने यावत अनिश्चतता कुराले हामीलाई तनाव बढाउँछ ।

यो समयमा बालबालिकाहरुको विद्यलय, कलेज बन्द छ । सबैजना घरमा हुनुहुन्छ । परिवारमा पनि चुनौती रहेको छ । कतिपय गृहिणीहरु काम गरिरहनुभएको छ । बालबालिकाहरु घरमा हुँदा उनीहरुको लागि समय छुट्याउनु प¥यो, त्यो अर्को किसिमको चुनौती थपिएको छ । डर र चिन्ता दिने कुराहरु कतिपय सान्दर्भिक हुन भने कतिपय डरचिन्ता गलत जानकारी र हल्लाले पनि हुने गर्दछ ।

तनाव व्यवस्थापन गर्ने टिप्सहरु :
१. यस्तो अप्ठ्यारो परिस्थितिमा मन दुःखी हुने, चिन्तित हुने, अलमलमा पर्ने, आत्तिने चिडचिडापन हुने हामी धेरैलाई हुने गर्दछ । यसलाई असामान्य परिस्थितिमा हुने सामान्य प्रतिक्रयाको रुपमा लिनुपर्ने हुन्छ । डर र चिन्ता हामीलाई प्रकृतिले दिएको हुन्छ । त्यसकारण हामीलाई सतर्क हुनलाई दिएको हो । तर बढी डर र चिन्ता हुनु भएन स्वीकार्नु पर्छ ।

२. आप्mनो विश्वासिलो आफन्त, साथीभाइ वा अन्य हितैसीसँग कुरा गर्दा फाइदा हुन्छ । यो अवस्थामा साथीभाइसँग भेट्न सुरक्षित वा सम्भव नहुने भएकाले फोनमा या अनलाइनमा कुरा गर्नुहोस् । आफ्नो मनको कुरा साटासाट गर्नुस् । उहाँहरुले आफ्नो दुःख, चिन्ता पोख्दा राम्ररी सुनिदिनुहोस् । सुनिदिए मात्र पनि मन हलुङ्गो हुन्छ । तर एकअर्कालाई त्रास बढाउने हल्लामा मात्र भने भुल्नु हुँदैन ।

३. यो समयमा हाम्रो दिनचर्या अरु दिनभन्दा फरक हुने भएकाले आफूलाई व्यस्त राख्ने योजना बनाउनुहोस् र त्यसै अनुरुप काम गर्नुस् । यो दिनलाई कसरी सदुपयोग गर्ने भनेर अगाडि बढ्दा सजिलो हुन्छ । दिन सुरु गर्दा नै मैले आज यी काम गर्छु भनेर योजना बनाउनुहोस् । त्यसमा आफूलाई स्वस्थ राख्ने, क्रियाकलाप, समयमा खाने, सुत्ने कुरा, व्यायाम, आफन्तसँगको समय, रमाइलो हुने या मन बहलिने कुरा, घरमै वा एकैठाउँमा बसेर गर्नसक्ने कुरा पनि राख्ने ।

४. कतिपय व्यक्तिहरु आप्mनो डर र तनाव कम गर्न धुम्रपान, मद्यपान वा लागुपदार्थमा झन फस्ने सम्भावना हुन्छ, यो कुरा याद गर्नुहोस् ।

५. यो अवस्था भनेको सर्तक रहने तर आतंकित नहुने समय हो । त्यसैले अहिलेको अवस्था के हो, सरकारले जारी गरेको सूचना के हो र अन्य तथ्यगत कुराहरुको बारेमा कुनै भरपर्र्दो आफन्त वा कुनै एक सञ्चार माध्यम वा सरकारी स्रोतलाई मात्र आप्mनो सुचनाको लागि प्रयोग गर्नुहोस । सही सूचना र जानकारीले हामीलाई समस्यासँग जुध्न सहयोग गर्दछ ।

६. सामाजिक सञ्जाल वा अन्य सञ्चार माध्यममा दिनभर समय बिताउने र नकारात्मक समाचार मात्र खोजी–खोजी पढ्ने, सुन्ने बानी हामी धेरैमा हुन्छ । साथै हामी अरुलाई पनि त्यही डर फैलाउने किसिमका समाचारहरु भनिदिइरहेका हुन्छौँ । यस्तो क्रियालापहरुले हामीलाई सजग रहनुभन्दा पनि आतंकित गराउन मात्र सहयोग गर्दछ । त्यसले यसलाई कम गरौँ बरु निश्चित समयमा निश्चित ठाउँबाट मात्र सूचनाहरु पढ्ने बानी बसालौँ ।

७. बिगे्रको, भत्केको मात्र होइन सप्रेको राम्रो भएको आश पलाउने समाचार पनि खोज्ने बानी बसाल्नु पर्दछ । कुनै हल्ला सुन्दा आफूले आफूलाई यी प्रश्नहरु गर्ने बानी गर्नुपर्छ ः के यो भरपर्दो स्रोतबाट सुनेको हो ? यो कुराको यर्थाथ कसरी थाहा पाउने ? कुनै भरर्दो व्यक्ति छ ? जसलाई फेरि सोध्न सकिन्छ ?

८. पहिले पनि मनमा गाह्रो हुँदा हामीले आफ्नो मनलाई सम्हाल्थ्यौँ । ती कुरा याद गरौँ र त्यसलाई फेरि पनि सदुपयोग गरौँ जस्तो कि व्यायाम, योग, ध्यान प्रार्थना, संगीत सुनेर, फिल्म हेरेर, पढेर, आफनो बालबालिकासँग समय बिताएर आदि (एकछिन याद गर्नुहोस्) ।

९. हामीले चाहेर या नचाहेर पनि मनमा आउने हाम्रा सोचाई, विचारले हाम्रो मनमा डर, रिसजस्ता भावनाहरुलाई बढाउने वा घटाउने गर्दछ । त्यसैले जब तपाईंको मनमा गाह्रो हुन्छ, अरुलाई यी प्रश्नहरु गर्नुहोस् । म के सोच्दैछु ? म मनमनै के कुरा गर्दै छु ? के सोचाई कतिको साचो हो ? यो सोचाई कतिको आवश्यक वा काम लाग्ने कुरा हो ? मैले यो कुरालाई कसरी लिँदा मलाई सजिलो हुन्छ ? समस्या समाधान गर्नु पर्ने हो भने कसरी समस्या समाधान गर्ने ?

१०. मनलाई र शरीरलाई आनन्द आउने किसिमका रिल्याक्सेसनहरु पनि गर्ने ।

११. शरीरमा कुनै चोटपटक या दुखाई भएमा हामी तुरुन्त डाक्टरकोमा जान्छौँ, डाक्टरको सहयोग लिन्छौँ । त्यसैगरी मनमा पनि अत्यधिक गाह्रो भएमा कसको सहयोग लिने ? कहाँ जाने ? भनेर जानकारी पाउनुपर्छ । अहिले विभिन्न संघसंस्थाहरुमार्फत् मनोविमर्शकर्ताहरुमार्फत् मनोविमर्श सेवा दिइरहेका छन् । ती संघसंस्था या मनोविमर्शकर्ताहरुको फोन नं लिइराख्ने गर्नु पर्दछ । सहयोग माग्न अप्ठेरो मान्नु हुँदैन । सहयोग माग्नु भनेको बलियो हुनु हो ।

(लेखक मनोविमर्शकर्ता हुन्)