संकटका बेला आम नागरिकको सहयोगीका रुपमा भूमिका निर्वाह गर्ने एम्बुलेन्स चालकहरुमै स्वसुरक्षाको चुनौतीसँगै सामाजिक तिरस्कारको समेत अवस्था देखिएको छ । दाङ जिल्लामै सञ्चालनमा रहेका करिब ५ दर्जन जति एम्बुलेन्स यसैको शिकारमा परेका छन् । पसलबाट पानी माग्दा पनि टाढैबाट दिने, खाना खाने कहाँ र कसरी भन्ने पनि निक्र्यौल नभएको तथा उनीहरुलाई घरमै पनि परिवारका सदस्यले आशंका गर्ने अवस्था देखिएको छ । जसका कारण एम्बुलेन्स चालकहरुले सामाजिक न्याय र सम्मान पाउनसकेको अवस्था छैन ।
कोरोनाको विश्वव्यापी संक्रमणसँगै सबैभन्दा अग्रपंक्तिमा भूमिका निर्वाह गर्ने सामाजिक अभियन्ताहरु पनि छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधिहरुले संक्रमण व्यवस्थापनमा खेलेको भूमिका अपरिहार्य छ । तर त्यो भन्दा पनि गहन भूमिकामा एम्बुलेन्स चालकहरु रहेका छन् । संक्रमणको सवालमा आफू र आफ्नो परिवारलाई समेत जोखिममा राखेर सेवा दिइरहेको अवस्थामा पनि राज्यको ध्यान एम्बुलेन्स सञ्चालन कार्यविधि बनाउनतर्फ उन्मुख भएको अवस्था छैन । संकटको समयमा सामाजिक अभियन्ताका रुपमा रहेका एम्बुलेन्स चालकहरुको सुरक्षाका सवालमा राज्य गम्भीर हुनुपर्छ भन्ने आम नागरिकको मान्यता रहेको छ । तर पनि स्थानीय सरकार एम्बुलेन्स सञ्चालनको विधि निर्माणमा गम्भीर देखिएका छैनन् ।
एम्बुलेन्स चालकहरुमै केही प्रश्न पनि उठेका छन् । केही एम्बुलेन्सहरुले लागूऔषध समेत बोकेको अवस्था देखिएको छ । एम्बुलेन्स चालकहरु सबैले लागूऔषध बोक्ने उद्देश्य बनाएका हुँदैनन् । कतिपय एम्बुलेन्सलाई नक्कली विरामी बनेर पनि फसाइन लागेको अवस्था छ । कतिपयले जानीजानी पनि पूर्व सावधानीलाई बेवास्ता गरिरहेको अवस्था पनि छ । तर पनि एम्बुलेन्स चालकहरुलाई सामाजिक अभियन्ताका रुपमा आम नागरिकले ग्रहण गर्न सकेको अवस्था छैन । एम्बुलेन्स चालकहरुलाई सामाजिक सुरक्षाको व्यवस्थापनसँगै स्वसुरक्षाको समेत व्यवस्थापन गरिनु आवश्यक छ ।
त्यसका लागि पिपिईको उपलब्धता सम्बन्धित संस्थाले व्यवस्थापन गर्नु पर्दछ । तर सम्बन्धित संस्थाले केही एम्बुलेन्सलाई ठेक्कामा पनि दिएको अवस्था छ । यसमा निष्पक्ष छानवीन हुन आवश्यक छ । एम्बुलेन्सलाई मुनाफा कमाउने माध्यम बनाएका गैरसरकारी संस्थाहरु यतिबेला गम्भीर हुन आवश्यक छ । त्यसका लागि स्थानीय सरकारले एम्बुलेन्स सञ्चालन कार्यविधि जारी गरी सो विपरित सञ्चालनमा आउने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाउनु पनि उत्तिकै आवश्यकता हो । कोरोनाको विश्वव्यापी संक्रमणसँगै विरामीहरुलाई बोक्ने एम्बुलेन्सलाई पनि विरामीमैत्री र संक्रमण फैलने अवस्था शून्य हुने गरी सञ्चालनमा ल्याइनु पर्दछ । जसले एम्बुलेन्स चालकहरुको आत्मसम्मान हुने छ ।