बंगलाचुलीमा जनप्रतिनिधि, स्वयमंसेवक र भान्सेमा पनि कोरोना संक्रमण

दाङ,३१ जेठ । दाङको बंगलाचुली गाउँपालिका–६ मा एक जना जनप्रतिनिधिसहित क्वारेन्टाइनमा स्वयमसेवक काम गर्ने एक जना र अर्का भान्सेलाई पनि कोरोना संक्रमण देखिएको छ । आइतवार घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा वडा नं. ६ मा ४४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित ४४ जना मध्य एक जना वडा सदस्य,एक जना क्वारेन्टाइन स्वयमसेवक र एक जना क्वारेन्टाइनमा भान्सेका काम गर्ने रहेका परेका छन् । क्वारेन्टाइन व्यवस्थापनमा खटिदै आएका ५४ बर्षीय पुरुष जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको बंगलाचुली गाउँपालिका वडा नं. ६का वडा अध्यक्ष बेदुलाल जिसीले जानकारी दिएका छन् ।

वडा अध्यक्ष जिसीका अनुसार वडा नं. ६ को आधारभुत विद्यालय रिभाव क्वारेन्टाइनमा खटिएका २४ बर्षीय र सोही क्वारेन्टाइनमा भान्सेको काम गर्दै आएका ३० बर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उक्त क्वारेन्टाइनमा राखिएका ३५ जना मध्य शनिवार दुई जना कोरोना संक्रमण देखिएको थियो ।

उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । दाङका सवैभन्दा धेरै कोरोना संक्रमित देखिएको बंगलाचुली गाउँपालिकाको वडा नं. ६ मा मात्र ४७ जना कोरोना संक्रमित रहेका छन् । बंगलाचुली गाउँपालिकामा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका आइतवार ५६ जना कोरोना संक्रमण फेला परेको थियो । उनीहरु मध्य दाङका ४८ र प्युठानका ८ जना रहेका छन् । संक्रमित मध्य सवैभन्दा धेरै बंगलाचुली गाउँपालिकाको वडा नं. ६ का ४४ जना रहेका छन ।

उनीहरु मध्य ३२ जना पुरुष र १२ जना महिलाहरु रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् । जसमा ५ जना बालबालिकाहरु समेत रहेका छन् ।