तत्काल विद्यालय नखोल्न विद्यार्थी संगठनको चेतावनी

दाङ,३२ जेठ । कोरोनाको उच्च जोखिमका बेला नीजि विद्यालयहरुले असारदेखि पठानपाठन गर्न लागेकोप्रति दाङमा क्रियाशिल तीन बिद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।

नेविसंघ अनेरास्ववियु, अखिल क्रान्तिकारीको संयुक्त बैठकले नीजि विद्यालयहरुले शुल्क असुल्ने नियतका साथ विद्यालय खोल्ने तयारी गरेको भन्दै विद्यालय नखोल्न आग्रह गरेको छ । यी संगठनहरुले चर्को शूल्क असुल्ने बहानामा विद्यार्थीहरुको स्वास्थ्य प्रति खेलवाड गर्न खोजेको आरोप समेत लगाएका छन् ।

त्यसैगरि चैत महिनामा शैक्षिक संस्थाहरु सञ्चालन नभएकाले नीजि तथा सामुदायिक विद्यालयहरुले लिएको शुल्क फिर्ता वा समायोजन गर्न पनि विद्यार्थी संगठनहरुको माग छ । यसैगरि वैशाखदेखि हालसम्म पठनपाठन पूर्ण रुपमा सन्चालन नहुँदासम्म कुनै पनि बहानामा शूल्क नलिन आग्रह गरेका छन् ।

नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष टोपवहादुर बुढाथोकी, अनेरास्ववियुका संयोजक जंग रोका र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष अनिल केसीद्धारा संयुक्त हस्ताक्षेरीत विज्ञप्तीमार्फत कोरोना जोखिम कम नहुँदासम्म आफ्ना बालबालिकाहरुलाई विद्यालय भर्ना नगर्न पनि अनुरोध गरेका छन् । यसैगरि कुनै पनि बहानामा मागिने शुल्क नबुझाउन पनि संगठनहरुले अभिभाजकहरुलाई अनुरोध गरेका छन् ।