एम्बुलेन्स चालकको दुःखेसो : हातमा पानी पनि दिन्नन्

अमरराज आचार्य
दाङ, ३१ जेठ । घोराहीका एम्बुलेन्स चालक प्रकाश चौधरी केही दिन अघि विरामी लगेर रुकुम गएका थिए । पानी खान मन लागेपछि पानी किन्न गए, उनलाई पसलेले पानी फालेर दिए । फालिदिएको बोत्तल समाएर गाडीतिर आएर पानी पिए । केही दिनपछि उनी फेरि रोल्पा विरामी लिएर गए, त्यहाँ पनि उस्तै व्यवहार पाए ।

आफूले कोरोना पोजेटिभ भएको विरामी नबोकेको उनलाई थाहा छ, तर पसलेहरुलाई उनले चित्त बुझाउन कन्भिन्स गर्ने मेसो मिलेको छैन । किनकि एम्बुलेन्स चालक घुमन्तेजस्तै हुन्, कहिले कहाँ त कहिले कहाँ । ‘हामीले कोरोना ल्याएर आएजस्तो व्यवहार गरिन्छ’–चौधरीले भने । कुनै ठाउँमा विरामी लगेर जानु पर्दा चाउचाउ, विस्कुट र पानी समेत बोकर जानुपर्ने उनले बताए । ‘अन्य सवारीका साधनका चालकहरुलाई सामान दिने गरे पनि एम्बुलेन्सका चालकहरुलाई सहजै सामान दिँदैनन्’ चौधरीले भने ।

यसरी महामारीको समयमा पनि सेवा दिँदा राम्रो व्यवहार पाउन नसक्दा दुःख लाग्ने गरेको उनी बताउँछन् । केही व्यक्तिले भने राम्रै व्यवहार गर्ने गरेको उनको भनाई छ । राम्रो व्यवहार पाउँदा नपाउदै पनि निरन्तर सेवामा लागिरहेका छन् । उनले घोराही उपमहानगरपालिका अन्तर्गतका क्वारेन्टाइनमा बसेका नागरिकलाई पनि बोक्ने गरेको बताए । तर अहिलेसम्म कोरोना भाइरसको संक्रमण भए नभएको भनेर उनले पिसिआर परीक्षण नभएको बताए ।

‘पिसिआर परीक्षण गरिदिए ढुक्क हुने थियो’–चौधरीले भने । पिसिआर परीक्षण गरिदिन आग्रह गरिएको उनको भनाई छ । आफू घरमा गए पनि सुरक्षित भएर बस्ने गरेको चौधरीले बताए । उनले २०७१ सालदेखि एम्बुलेन्स चलाउँदै आएका छन् ।

अर्का एम्बुलेन्स चालक महेश चौधरीले कोरोना भाइरस संक्रमण पोजेटिभ भएका नागरिक बोक्दै आएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १९ वटै वडासम्म पुग्ने गरेको बताए । संक्रमित बोक्ने भएकाले केही दिन अघि पिसिआर परीक्षण गरेका थिए । रिपोर्ट नेगेटिभ आएको बताए । ‘कोराना संक्रमित बोक्ने भएकाले पनि पिसिआर गर्न समस्या भएको छैन’–महेशले भने ।

एम्बुलेन्स चालकहरुले बाहिरी जिल्ला जानुपर्दा समस्या हुने गरेको बताए । ‘बाहिर जाँदा खानेकुरा बोकेरै जानुपर्ने वाध्यता छ’–महेशले भने । बाटोमा किनेर खान नपाउँदा बोकेर हिडनुपर्ने वाध्यता रहेको उनले बताए । पछिल्ला दिनमा केही सहज हुन थालेको उनी बताउँछन् ।

विरामी बोकेर जिल्ला बाहिर जाँदा एम्बुलेन्स बिग्रिए पनि बनाउनका लागि समस्या भोग्नुपरेको संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा दाङ ट्रेड युनियन संघका जिल्ला अध्यक्ष इन्द्रबहादुर केसीले बताए । ‘बाटोमा गाडी बिग्रिए बनाउनका लागि धेरै समस्या हुने गरेको छ’–केसीले भने ।

अहिले सबै एम्बुलेन्स चालकहरुको पिसिआर परीक्षण हुन नसकेको उनको भनाई छ । कोरोना संक्रमित भएका नागरिक बोक्ने एम्बुलेन्सका चालकहरुको पिसिआर गरिएको उनले बताए । ‘सबै चालकको पिसिआर परीक्षण गराउन आवश्यक छ’–केसीले भने । यसका लागि आफूहरुले आग्रह गरेको बताए । बाटोमा समेत केही किनेर खान समेत नपाउने उनले बताए । ‘केही किन्न जाँदा पनि भाग्ने गर्दछन्’ अध्यक्ष केसीले भने ।

फ्रिडम फोरमसंगको सहकार्यमा ।