रिपोर्ट नआउँदै घर, तर…

भद्रगोल सूचना, सामाजिक त्रास

लिलाधर वली
दाङ, ३१ जेठ । एक साता पहिले देउखुरीको राजपुर गाउँपालिकाको एउटा क्वारेन्टाइनमा बसेकाहरुको रिपोर्ट नआउँदै घर फर्काइयो । किनकि गाउँपालिकाको समन्वयमै उनीहरु घर फर्किएका थिए । उनीहरु सबैको कोरोनाको पिसिआर परीक्षणमा सबै नेगेटिभ आएको सूचना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिवेदन दिए पनि उनीहरु घर फर्के ।

अन्ततः रिपोर्ट सबैको आइसकेको थिएन । प्रतिष्ठानले फेरि घर फर्किएकामध्ये तीन जनामा कोरोना परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ देखिएपछि गाउँपालिकालाई समस्या परेको थियो । किनकि राप्ती स्वास्थ्य प्रतिष्ठानको गलत रिपोर्टका कारण उनीहरु रिपोर्ट आउनुभन्दा एक दिन अघि नै क्वारेन्टाइनबाट घर फर्किसकेका थिए । रिपोर्ट पोजिटिभ आएपछि गाउँपालिकाले पुनः उनीहरुलाई घरबाट ल्याएर आइसोलेशन सेण्टरमा राखेको थियो । अहिले उनीहरुको उपचार भइरहेको छ ।

राजपुर गाउँपालिकामा गलत सूचनाका कारण क्वारेन्टानमा बसेका घर फर्किका थिए । तर अहिले गलत सूचना होइन घोराही उपमहानगरपालिका केही वडाका क्वारेन्टाइनमा बसेका लापरवाही गरेर घर फर्किएका छन् । कोरोना परीक्षणको रिपोर्ट नआउँदै उनीहरु क्वारेन्टाइनबाट घर फर्किएका हुन् । उनीहरुमध्ये शनिवार घोराही उपमहानगरपालिका वडा नं. १ को सिमलतार आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २८ जना रिपोर्ट नआउँदै घर फर्किएको वडाध्यक्ष राममणि पाण्डेयले बताए ।

क्वारेन्टाइनमा २१ दिन बसेका र घर जानका लागि आत्तिएकाले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको वडाध्यक्ष पाण्डेयले बताए । ‘क्वारेन्टाइनमा २१ दिन बिताएका र घर जान आत्तिएकाहरुलाई घर जान दिएका हौँ’–वडाध्यक्ष पाण्डेयले भने–‘उनीहरुलाई रिपोर्ट नआउँदासम्म घरमै सामाजिक दूरी कायम राखेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौँ ।’

लामो समयसम्म क्वारेन्टाइनमा बस्दा उनीहरु स्वयम् आत्तिएको र क्वारेन्टाइन निर्माण गरिएको विद्यालयको मर्मत सम्भार गर्नुपर्ने बाध्यताले गर्दा उनीहरुलाई घर पठाउनुपरेको उनले बताए । उनीहरु सबैजना भारतबाट फर्किएका हुन् । तर अरु भने अझै क्वारेन्टाइनमै बसेको बताएका छन् ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. ६ को माध्यमिक विद्यालय जजरागाउँको क्वारेन्टाइनमा बसेका १८ जना रिपोर्ट नआउँदै घर फर्किएका छन् । भारतका विभिन्न ठाउँबाट फर्किएर २४ देखि २६ दिनसम्म वडाले बनाएको क्वारेन्टाइनमा बसेका उनीहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रिपोर्ट नआउँदै घर फर्किएका हुन् ।

उनीहरुको गएको २१ गते स्वाब संकलन गरिएको थियो । ‘स्वाब संकलन गरेको दश दिन भइसक्दा पनि रिपोर्ट नआएपछि उनीहरु आत्तिएर घर फर्किएका छन्’–वडाध्यक्ष बुढाथोकीले भने–‘मैले यतिका समय क्वारेन्टाइनमा बसिसकेकाले अब नआत्तिन आग्रह गरेको थिएँ, तर उहाँहरु नमानेर घर पर्कनुभयो ।’ घर फर्किएकाहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दा उनीहरुले बरु आपूmहरु रिपोर्ट पोजिटिभ आए आइसोलेशन अस्पतालमा बस्न तयार छौँ, तर क्वारेन्टाइनमा बस्दैनौँ भनेर घर फर्किएको वडाध्यक्ष बुढाथोकीले बताए । घर फर्किएहरुलाई रिपोर्ट नआउँदासम्म होम कवारेन्टाइनमा बस्न आग्रह गरेको बताएका छन् । उनीहरु पनि भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

पिसिआर परीक्षणका लागि रिपोर्ट आउन ढिला गरेको भन्दै घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय गिठेपानीबाट १३ जना घर फर्किएका छन् । स्वाब संकलन गरेको एक हप्ता बढी समय हुँदा पनि रिपोर्ट नआएपछि उनीहरु शुक्रवार घर फर्किएका थिए । यी प्रतिनिधिमुलक घट्नाका मात्र हुन, क्वारेन्टाइन निर्माण गरिएको स्थलमा सुरक्षा व्यवस्था नहुनु र रिपोर्ट आउन ढिलाई गर्दा धेरै क्वारेन्टाइनमा बसेका आत्तिएका छन् । कपितय क्वारेन्टाइनबाट भाग्ने समेत गरेको खबरहरु आइरहेका छन् ।

५ हजार बढी स्वाब परीक्षणको प्रक्रियामा
यसैबीच घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पिसिआर मेसिन खरिद भइसकेको बताउँदै अबको एक सातापछि दैनिक एक हजारको स्वाब परीक्षण गरिने बताइएको छ । प्रतिष्ठानको प्रशासन स्रोतका अनुसार प्रतिष्ठानमा मेसिन आइपुगेको छ । मेसिनलाई सञ्चालनमा ल्याउन थप केही सामान तथा जडान प्रक्रियाका लागि कम्तिमा एक साता लाग्ने पनि प्रतिष्ठान स्रोतले बताएको छ । हाल कम्तिमा ५ सयको परीक्षण गर्दै आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अर्को मेसिन जडान भएपछि दैनिक एक हजारको स्वाब परीक्षण सम्पन्न हुने पनि बताइएको छ ।

हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ हजार बढी व्यक्तिको स्वाब परीक्षणको क्रममा रहेका छन्. । नेपाल भित्रैबाट आएकाहरुलाई भने अझै पनि सरकारले आरडिटी परीक्षण गरी घर फर्काउने गरिएको छ । त्यसको समन्वय स्थानीय सरकारले गरिरहेको छ । स्वाब परीक्षण नै गरिनुपर्ने दाङसहित छिमेकी जिल्लाहरको ५ हजार एक सय ३५ जनाको स्वाब परीक्षणको क्रममा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् । प्रतिष्ठानमा हालसम्म गरिएको ६ हजार ४३ स्वाब मध्य एक सय ७९ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

स्वाब परीक्षणका क्रममा नयाँ मेसिन आइसके पनि केही पाठपुर्जाहरु आउन ढिलाई भएका कारण स्वाब परीक्षणमा ढिलाई भएको बताए । ती पाठपुर्जाहरु आउने क्रममा रहेकाले यही हप्ताभित्रै दुई वटा मेसिनबाट स्वाब परीक्षण हुने बताइएको छ । अहिले दैनिक ४ सयदेखि ५ सयसम्म स्वाब परीक्षण गर्दै आएको प्रतिष्ठानले नयाँ मेसिन रनिङ गरेपछि दैनिक एक हजार जनाको स्वाब परीक्षण गर्ने जनाएको छ ।

फ्रिडम फोरमसंगको सहकार्यमा ।