बज्रस्वाँठहरू टेबुल ठटाइरहन्छन्

मनोज पौडेल

नेपालको राजनीतिक विकासको इतिहास र शृंखला हेर्ने हो भने सधैँ भारत परस्त छ । ई.सं.१९४७ मा भारत स्वतन्त्र हुनुपूर्व ब्रिटिस इस्ट इण्डिया कम्पनीले नेपाल सरकारसँग वार्तालापमा तपाईहरुको भूमि (१८१६ को सुगौली सन्धि अघिको, ग्रेटर नेपाल) फिर्ता लैजानुस् र उपभोग गर्नुस् भन्यो तर तत्कालीन शासकवर्गले राणा विरोधी आन्दोलन झन चर्किनसक्छ भन्ने डरले त्यो प्रस्ताव स्वीकार गरेनन् । आफ्ना पुर्खाको रगतको सम्मान र राष्ट्रियता कति रहेछ त तत्कालीन शासकमा ।

त्यै पनि हामी कहिलेकाहीँ सुन्ने गर्छौंं राणाहरुले धेरै राम्रो काम गरेका थिए, देशप्रेमी थिए । उनीहरु राम्रा होइनन् अवसरवादी र भ्रष्ट हुन् । नेपालले राजनेताहरु राम्रो नपाउँदा पोखिएको आवेश मात्र हो वा अज्ञानता बुझ्न गाह्रो छ । नेपालको भारतप्रतिको (तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनी) चाकडीको सिलसिला विशेषतः जङ्गबहादुर राणाको उदय पश्चात झाङ्गिएको देखिन्छ । प्रजातन्त्रको उदय पश्चात २००७ सालदेखि अहिलेसम्म हामीले भिजन भएका र देश र जनताको समग्र विकासको दीर्घकालीन खाका कोर्नसक्ने नेताहरु पाउन सकेनौँ ।

समय–समयमा नेपाली रानीतिमा ‘कू’ भइरहे र बारम्बार आन्दोलनहरु गरिए, एउटै उद्देश्यका लागि.. २००७, २०४६, २०६२/०६३ । राजनीतिक दलहरु सीमित पार्टीगत र वैयक्तिक स्वार्थमा अल्झिरहे, परिणाम नेपालको राजनीति स्थिर हुन सकेन । मौसम फेरिए जसरी सरकारहरु फेरिए ।
पछिल्लो समयमा नेपाली राजनीतिमा भारतीय तथास्तुवाद अझ बढी हाबी भयो । उसले आफ्नो स्वार्थमा नेपालको दरिद्र मानसिकता बोकेका नेताहरुलाई नचाई नै रह्यो । त्यसमा अहिलेको सरकारमा बसेका, प्रतिपक्ष, मधेश केन्द्रित दल कोही पनि अछूतो छैन । फलस्वरुप हामी विकासमा पछाडि रह्यौँ, जहिले पनि गरिबीको रेखामा दबिरह्यौँ ।

हामी हाम्रो देशको नीति नियम कानुनको निर्माण, राजनीति आन्दोलन र त्यसको संरक्षणको लागि लैनचौर धाउँछौँ, उसले टोपी हामीलाई लगाइदिन्छ, उसैको इसारामा हामी नाच्छौँ र नाटक मञ्चन गर्छौंं, जनमानसमा भारतीय विस्तारवाद मुर्दावाद भनेर । अहिले जति राष्ट्रियताको पक्षमा बोल्ड निर्णय भएका छन् ती सबै नयाँ पुस्ताको देन हो, चाहे त्यो सदनमा होस् वा सडकमा तर पनि हामी पुराना अनुहारसँग पाकेका छैनौँ र त उनीहरु कुर्सी मोहले थाकेका छैनन् ।

हामी जनता सधैं नेताको चाकडी गर्नमा मस्त रह्यौँ, उनीहरुलाई नैतिकवान हुन दिएनौँ, भ्रष्ट बनाउन तल्लिन रह्यौँ, आफ्ना सीमित स्वार्थलाई लिएर । हामी एक आपसमा लडिरह्यौँ, उनीहरु हामीलाई लडाएर सधैँ देशलाई लुछिरहे । किनकि आपसमा लड्नु हाम्रो संस्कृति हो, सभ्यता हो, जातियता, दलित, गैरदलित, पछाडि पारिएका, अल्पसंख्यक, वञ्चितीकरणमा परेका आदि आदि नाममा । हामीले किन नेपालको भूगोलभित्र वंशजको आधारमा बस्ने सम्पूर्ण नेपाली नेपालका नागरिक हुन् र उनीहरु वाहेक अन्यलाई नेपालको वास्तविक नागरिक मानिने छैन र गैरनेपाली नागरिक सबै किसिमको राजनीतिक अधिकारबाट वञ्चित रहनेछ भनेर नलेख्ने ।

संविधानले एक मात्र शब्द सम्बोधन गरोस्, त्यो हो नेपाली । मधेशी, जनजाति, दलित, आदि किन लेखिरहनु प¥यो । एकै देशका समान नागरिकलाई विविध नाम तथा उपनामहरु दिनु वर्तमान समाजको लागि औचित्यहीन छ । अन्यथा विभेद हट्छ भन्ने कुरामा विश्वास गर्न सकिँदैन । सबैले क्षमताको आधारमा जिउन र खान पाउनुपर्छ न कि नाता–कृपा वा जन्मको आधारमा ।

हाम्रो नीति, नियम, कानुन र संविधान जति उदार र प्रजातान्त्रिक विश्वमा कुनै पनि देशको छैन । छिमेकी रिझाउन हामीले आफ्नो खुट्टामा आफै बञ्चरो हानिरहेका छौँ । हामीले अंगिकृत नागरिकलाई राजनीतिक अधिकार दिएका छौँ, जुन शतप्रतिशत गलत कुरा हो । एक भारती नेपालको बुहारी हुन सक्ला, ज्वाईं हुन सक्ला तर नेपालकी छोरी वा छोरा हुन सक्तैन । एउटा गैरनागरिक अरुको देशमा कुनै पनि आधारमा जति बसे पनि ऊ बंशज नागरिक जत्तिको राष्ट्रवादी हुन सक्दैन, उसलाई आफ्नै जन्मथलोको मायाले ओतप्रोत पारेको हुन्छ, यो मेरो बुझाई हो ।

यसमा हामीले आफूलाई राखेर हेर्न जरुरी छ, के हामी कुनै देशमा बसेकै आधारमा आफ्नो राष्ट्रप्रेम भुल्न सक्छौँ त ? अहँ, कदापि सकिँदैन । अब यो कुरा तुरुन्तै संविधान संशोधन गरेर सच्याउन जरुरी छ । आफ्नो सवलता र हिम्मत देखाउ सरकार र नाङ्गेझार पार अराष्ट्रिय तत्वहरुलाई र सच्याउ हिजोको दिनमा भएका सम्पूर्ण गलत र राष्ट्रहित विपरितका निर्णयहरु ।

संसद्मै नेपालको संविधानको खिल्ली उडाउनेहरुलाई पनि हामी कार्वाही गर्न सक्दैनौँं । राष्ट्रिय सार्वभौम सत्ता र सम्प्रभुत्वको सवालमा विमति राख्ने मात्र होइन संशोधन प्रस्तावमा पनि विरोध दर्ता गर्नेलाई वाक स्वतन्त्रताको नाम दिएर वकालत गर्नेहरु त झन ती भन्दा ठूला गद्दारहरु हुन् । चुनावको बेला १–२ लिटर पेट्रोल, १–२ छाक मासु–भात, ५००–१००० रुपैयाँमा आफ्नो मत बेचेका छौँ होला । असारमा बजेट सक्नलाई हतार–हतार काम गर्ने, नसकिएका कार्यक्रमहरुको विशेष जमघट र छलफलबाट बिल भर्पाई र माइन्युट उठाएर अनियमितता गरेका छौँ होला ।

दुईचार पैसामा र स्पोन्सरको लोभमा सत्यलाई तोडमरोड गर्ने र पार्टीको झण्डाले समाचार बेरेर निष्पक्ष समाचारको पत्रकारिता पनि गरेका छौँ होला । सानातिना ग्रामीण योजनाहरुमा उपभोक्ता समितिमा बसे पैसा खान पाइन्छ भनेर लडामति पनि गरेका छौँ होला । आफ्ना निजी कामका लागि कर्मचारीलाई पोस्ने र भ्रष्टाचारलाई टेवा दिने हामी सर्वसाधारणदेखि बौद्धिकवर्ग सबैले गरेकै छौँ होला । त्यसैको परिणाम अहिले कोरोना कहरको बेलामा पनि लाछी प्रवत्ति हाबी भएको देख्न सकिन्छ ।

यहाँ इमानदार र कर्तव्यनिष्ठ हामी कसैले पनि चित दुखाउनुपर्ने कारण छैन …जो–जससँग सम्बन्ध राख्दछ । राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, सम्प्रभुताको सवालमा हामीले शून्य सहनशीलता अपनाउनै पर्छ । यो भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता जस्तो नबनोस्, म प्रार्थना गर्छु । यस सवालमा हरेक नेपालीको धारणा एक हो, यदि यसको विपरित कोही छ वा जान्छ भने कुरो स्पष्ट छ ऊ नेपाली होइन उसको नागरिकता खारेज गर सरकार र कठघरामा उभ्याउ ।

केही समयदेखि मैले समय मिलेसम्म प्रतिनिधिसभाको बैठक हेरिरहेको छु । ती बैठकहरु हेर्दा र सुन्दा थाहा भयो, हामीले बुद्धि नभएका बज्रस्वाँठहरुलाई त्यहाँ पठाएका रहेछौँ । सही–गलत छुट्याउन नसक्ने, हावादारी र तथ्यहीन कुरा बोल्दा पनि बडो गर्वका साथ टेबुल ठटाइरहेका हुन्छन्, मन्दबुद्धिहरु । राजनीतिज्ञहरु त हामीले पाएकै हौँ । यिनै अल्पबुद्धिहरुको जमातले गर्दा हो हामी पछाडि परेको । बिना प्रमाण र तथ्य बेतुकका कुरा गर्ने प्रधानमन्त्रीज्यू र ताली बजाएर यस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्तिलाई प्रोत्साहन गर्ने माननीयज्यूहरुको सडेगलेको मानसिकताभित्रको ल्याकत, बौद्धिक स्तर र तर्कशीलता पनि देखियो ।

अनि हामी ती अल्पबुद्धिहरुको पछाडि लाग्ने भेँडाहरु हौँ, हामी कहिल्यै नेपाली जनता हुन सकेनौँ, फगत पार्टीका भोट संख्या, उनीहरु स्ट्राइकर र हामी गोटी । यो पाराले नेपाल स्विटजरल्याण्ड त होइन बुरुण्डी भने पक्कै हुन्छ, म विश्वस्त छु । तर पनि म यस कुरामा आशावादी छु । हामी नेपाली अब सचेत भइसकेका छौँ र अवश्य नयाँ समृद्धिको थप बलियो इतिहास कोरिने छ र हामी खुशी तथा सुखी रहने छौँ । अब नेपाली राजनीतिको कुनै पनि कदम आलोकाँचो नबनोस् । परालको आगो नबनोस् । समय बदलिन्छ, समयसँगै इतिहास र विचार पनि बदलिन्छ र हुन्छ नयाँ अध्यायको सुरुवात । चेतना भया ।