शनिवार संसदमा अभूतपूर्व एकता देखियो । राष्ट्रियताको सवालमा सधैँ र सबै ठाउँ अनि परिवेशमा यस्तै अभूतपूर्व एकता देखिओस् भन्ने आम नागरिकको चाहना रहेको हुन्छ । नेतृत्वको त्रास, स्वार्थ र आत्मबलको कमीका कारण यस्तो चाहना नागरिकले सधैँ पूरा भएका महशुस गर्न सक्दैनन् । विशेष परिस्थितिमा देखिएको यो एकताले एक हदसम्म नागरिकको यो चाहना पूरा गरिदिएको छ ।
अब नेपालको नक्सा औपचारिक रुपमा परिवर्तन भएको छ र त्यो संविधानको अनुसूचिमा उल्लेखित नेपालको निसान छापमा अंकित भएको छ । यस आधारमा भन्नुपर्दा अब कालापनी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा राष्ट्रको सम्पत्ति भएको छ । अब सरकार र नागरिकको दायित्व त्यो सम्पत्तिको संरक्षण गर्नु हुन्छ ।
भारत ठूलो देश छ, यसको नेपालसँग विभिन्न स्वार्थ गाँसिएका छन् । नेपालको पनि केही स्वार्थहरु भारतसँग गाँसिएका छन् । छिमेकीहरुका बीचमा हुने सम्बन्धमा स्वार्थका बुँदाहरु स्वाभाविक रुपमा हुन्छन् । तर, ती स्वार्थ पूरा गर्ने नाममा छिमेकीको सम्पत्ति हडप्ने, छिमेकीलाई भावनात्मक रुपमा चोट पु¥याउने र छिमेकिको अस्तित्व र स्वाभिमानलाई पूरै नजरअन्दाज गर्ने प्रवृत्तिले सम्बन्ध सुमधुर हुन सक्दैन । भारतले नेपालका भूमिहरुमा आफ्नो जवर्जस्तपना देखाइरहेका कारण भारतप्रति नेपालको जनस्तरमा नकारात्मक धारणा बनेको छ । संसदमा शनिवार प्रदर्शित भएको एकताले भारतलाई पनि नेपाली जनस्तरमा फैलिएको आफूप्रतिको नकारात्मकतालाई न्यूनीकरण गर्ने अवसर उपलब्ध गराएको छ ।
नेपाली सार्वभौम संसद्को निर्णयलाई स्वीकार्दै आफ्नो भूमिका पनि तदनुकूलको निभाउने हो भने यो परिस्थितिले नेपाल र भारतबीच सुमधुर सम्बन्धको निर्माण गर्ने छ । फेरि अर्को कुरा के हो भने यो निर्णय सरकारको एकांकी निर्णय होइन । संसदीय समितिहरुले पटक–पटक दिएको निर्देशनपछि सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो । र, त्यही नक्सालाई शनिवारको संसदले संविधानको अंशको रुपमा त्यसलाई अनुमोदन गरेको हो । त्यसकारण यो सवाल अब सिङ्गो सार्वभौम राष्ट्रको सवाल हो र सिङ्गो नेपाल अब यही नक्साका आधारमा आफूलाई सुन्दर बनाउने दिशामा उन्मुख हुने छ ।
संसदमा शनिवार एकता प्रदर्शन भएको मात्र होइन, त्यहाँ राष्ट्रिय भाव प्रदर्शन भएको हो । यो भाव आफैमा ऐतिहासिक छ । यो दिन इतिहासमा महत्वपूर्ण दिनका रुपमा अंकित हुने छ । यो ऐतिहासिक निर्णय प्रक्रियामा जोडिएका सबै बधाईका पात्र हुन् । कसैको अनावश्यक बुद्धिविलाश वा स्वार्थको बोलीले के भन्यो ? कति संख्या थियो ? त्यो अनावश्यक पक्षको चर्चा यस्तो ऐतिहासिक क्षणमा गर्न आवश्यक हुँदैन, तर त्यस्ता प्रवृत्तिलाई रेकर्डमा राख्न भने आवश्यक हुन्छ ।
यो सबै नेपालीलाई तरंगित बनाउने, उमङ्गको महशुस बनाउने र हामी एक छौँ भन्ने सन्देश प्रवाहित गर्नसक्ने महत्वपूर्ण निर्णयका लागि सिङ्गो जनता र संसद्लाई बधाई । आवश्यकता र मौकामा बलियो एकता देखाउन सबै दलहरु सफल होऊन् ।