डायरी : राजनीतिक परिणाम र विश्वासको खाँचो

विनोद पोख्रेल

२०७६ चैत ३ गते
नेपालको राजनीतिमा खास गरेर २०४६ को आन्दोलनको सफलतापछि राजनीतिका विकृत पक्षहरु या त भिœयाइए या त प्रयोग गरिए । जसको कारणले आजको नेपाली राजनीति बुझ्दैनन् । सकिने गरी अघि बढिरहेको छ । दुइतिहाईको वहुमत जुटाएको सरकारसमेत नयाँ कुरा गर्न त सफल छैन नै, सामान्यमै रहेका कुराहरुमा समेत जसरी अगाडि बढ्नसक्नुपर्ने हो त्यो पनि हुन सकेको छैन । विकृति भिœयाइँदा दिइने तर्कहरु सुन्दा म जहिले पनि चिन्तित त भएँ तर म आफू निर्णय गर्ने ठाउँमा भए न मेरो चिन्ता र मेरा तर्कको सुनुवाई हुने हो ।

यहाँ जे–जे विकृतिहरु भए ती सबै लेख्ने हो भने मात्रै पनि एउटा पुस्तक तयार हुन्छ होला । यहाँ न त जिम्मेवारी देखियो न नैतिकता, न त स्पष्ट राजनैतिक धारणा र त्यसप्रतिको प्रतिबद्धता देखियो न त वैचारिक मतभेद । यहाँ जहिले पनि जसलार्य पनि सत्ता केन्द्रित राजनीति मात्रै गरेको देखियो । लक्ष्य पनि छैन, रणनीति पनि छैन । एउटा स्थायी समूह छ त्यही समुहका व्यक्ति पनि आफ्नो स्वार्थ रक्षाका लागि समूह फेर्ने समेत गर्छन् र सफलता भनेको सत्ता मान्छन् ।

गर्नसक्नेको मनमा जे लहड जाग्यो त्यो ग¥यो । त्यसको परिणामसँग मतलव नै छैन । जिम्मेवारीको अनुभूति भए मात्र परिणामतर्फ ध्यान जाने हो । उद्देश्य जनता भए मात्रै जिम्मेवारीको मूल्यांकन हुने हो । सरकारी जग्गाजमिन पार्टीका केन्द्रीय सदस्यले ठेक्कामा लिएर त्यसबाट नाफा गर्ने चरित्रलाई राजनीति भन्ने कि सत्ताको लुट मान्ने ? यस्ता कति प्रश्न छन्, जसको उत्तर दिन कोही तयार छैन । प्रश्न गर्नेको संख्या पनि कमै छ । पाएसम्म आफैले त्यस्तो गर्न पाए हुन्थ्यो भन्ने सोच भएपछि प्रश्न उठ्ने कुरै भएन । लाज ठूलो कुरो रहेछ । लाज पचाएपछि जे गर्दा पनि हुने रहेछ ।

त्यस्तै आफू स्थापित हुनु क्षमता नभएकाहरुले लाज पचाउनै पर्ने रहेछ । अहिलेको नेपाली राजनीतिले यही प्रमाणित गरेको छ । मैले पाँच हजार मात्रै मारे भन्ने सत्तासीन पार्टीका अध्यक्ष छन् । तिनैलाई अरु के–के पुगेको छैन, जसरी कहिलेकाहीँ दुखेसो गर्छन् । रमाइलो उदाहरण दिने हो भने छिमेकी मुलुक भारतमा अहिले भूतपूर्व प्रधानमन्त्रीहरु कति होलान् ? तर नेपालमा भूतपूर्व प्रधानमन्त्रीहरुको मात्रै एउटा क्याबिनेट बनाउन सकिन्छ । उपप्रधानमन्त्रीको कुरो गर्दा त हाँसो नै उठ्छ । यस्तै परिवेश र यस्तै चरित्रले जनता राजनीतिबाट टाढा हुँदैछ । यसको परिणाम के हुने हो त्यो त थाहा भएन तर देश आर्थिक, सामाजिक, धार्मिक रुपले ओरालोतर्फ लागेको भने पक्कै हो ।

हिजो एकजनाले मानवअधिकारवादीहरुबारे आफ्नो तर्क राखे । उनका तर्क ती संस्थाको विरोधमा थियो तर तर्कहरु ठीकै थिए । जब कि मानव अधिकारको सम्मान संरक्षण हुनुपर्छ भन्नेमा म आफू पनि दृढ छु । मेरो आशय सबै गतिविधिहरु फेशनको रुपमा मात्रै छन् । आम नागरिकसँग कुनै कुराले प्रत्यक्ष सम्पर्क बनाउनसकेका छैनन् । राजनीतिको परिणाम यही र यस्तै हुने गर्छ ।

२०७६ चैत ४ गते
कहिलेकाहीँ एकपन्नाको नियमले अप्ठ्यारो पार्छ । हिजो त्यस्तै भयो । मैले राजनीतिमा विकृतिहरुको प्रभाव बढी परेको बारेमा बनेका विचारहरु व्यक्त गर्दै थिए । यो विचार व्यक्त गर्ने प्रेरणा यही चैत्रको १ गते डाक्टर नारायण खड्काको अन्तर्वार्ताले जगाएको हो । आफूलाई सुन्दा पनि नपच्ने तर्कहरु आए भने पनि प्रतिक्रिया जनाउन मन लाग्छ । नेपालका धेरै दलहरुमा वहुअध्यक्षीय प्रणालीको प्रयोग भइरहेको छ ।

अहिलेको नेकपा, राजपा, समाजवादी पार्टी, राप्रपालगायत राष्ट्रिय पार्टीले यही प्रयोग गरिरहेका छन् । यो उनीहरुको रहर पनि होइन । कुनै सैद्धान्तिक प्रयोग पनि हैन । नेता व्यवस्थापन गर्दा आएको समस्या हो । अहिलेसम्म कांग्रेसमा यो समस्या आएको छैन । तर अब कांग्रेसमा पनि यो विषयले छलफलको लागि स्थान पायो रे ।

वहुअध्यक्षीय प्रणाली भए नेता व्यवस्थापन गर्न सजिलो हुन्छ रे । मेरो विचारमा योभन्दा गलत तर्क अरु केही हुँदैन । पहिलो कुरो त व्यवस्थापन केको गर्ने हो, राजनीतिक दलले ? देशको राजनीतिको प्रशासनको वा नेताको ? नेताको व्यवस्थापन गर्ने चिन्ता भएको दलले जनताप्रतिको जिम्मेवारीलाई दुई वा तीन नम्बरमा राख्ने हो । त्यसतो दलबाट जनताले के आशा गर्ने ? धेरै अध्यक्ष भएका दलहरुले भागेको समस्याहरु हाम्रा अगाडि छन् ।

न त पूरै मिल्न सकिरहेका छन् न त पूरै अलग हुन नै सकिरहेका छन् । व्यक्तिको टकराव, महत्वाकांक्षाको द्वन्द्वदेखि विभिन्न कारणले त्यहाँ गुटहरु स्पष्ट रुपमा देखिइरहेका छन् । फुट्ने र जुट्ने एउटा सामान्य प्रक्रिया जस्तै भएको छ । त्यो देख्दादेख्दै आफूमा नभएको रोग वेसाउन तयार हुनेहरुलाई तीतो भाषामा या त षड्यन्त्रको पृष्ठभूमि तयार पार्ने प्रयास गर्नेहरु भनेर बुझ्नु पर्छ या त मूर्खहरु । नेताको व्यस्थापनकै कुरा गर्ने हो भने पनि कतिवटा नेताको व्यवस्थापन हुन सक्छ, वहुअध्यक्षीय शैलीमा ? आठ/दश जनाकै होला रे तर के त्यतिले समस्या सकिन्छ ? त्यसले अझ बढी आफ्नो गुटको निर्माण हुने हो र एकतामा अझ बढी नकारात्मक असर पार्ने हो । परिणाम भनेको कांग्रेस सकिने वा मासिने हो ।

अर्कोले किन ग¥यो त्यो बुझ्न नै चाहने हो भने त्यति गाह्रो पनि छैन र परिस्थिति सबैलाई थाहा नै छ । त्यसको परिणाम कति उत्पादक वा प्रत्युत्पादक छ त्यो पनि हाम्रा अगाडि छ । यो सबै देख्दादेख्दै अर्को विकृति भिœयाउने चर्चा गर्नेहरु कांग्रेसको हित चाहने पटक्कै छैनन् । फेरि दुःखसँग भन्न मन लाग्यो २०४६ को परिवर्तनपछि राम्रो कुरो के भिœयाइयो त्यो खोज्नु पर्छ तर नराम्रो कुरो भिœयाउन केही बाँकी छ जस्तो लाग्दैन । अब हुँदाहुँदा कांग्रेसमा वहुअध्यक्षीय प्रणालीबारे छलफल सुरु भयो रे । नेता एउटै हुन्छ र दलहरु यदि तिनीहरु राजनीतिक विचारको आधारमा संगठित छन् भने नेतृत्वलाई विश्वास गर्नुपर्छ । नेतृत्वले पनि आफूलाई खरो रुपमा योग्य प्रमाणित गर्न सक्नु पर्छ । विचारमा आधार नभएर दल भनेको सत्ताको लागि भ¥याङ मात्रै हो भने त्यहाँ विचारलाई कुनै स्थान हुँदैन ।