दाङ, ३० जेठ । सोनापुर सिमेन्ट उद्योगका टिप्परहरु चल्न नदिएको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१३ बडहराका १६ जना स्थानीयलाई दिनभर राखेर प्रहरीले साँझ छोडेको छ । जेठ २७ गते सिमेन्ट उद्योग, स्थानीयलगायतबीच भएको सहमति कार्यान्वयन गर्ने सहमतिमा उनीहरुलाई छोडिएको हो ।
विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयसँग जेठ २७ उद्योगले टिप्पर हिँड्ने बराह पेट्रोलदेखि बडहरा हुँदै झिंगौरा रतनपुर आउने सडकको बैकल्पिक मार्गको रुपमा गुर्जेखोलालाई आधार बनाएर मावन वस्ती नभएको ठाउँमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुरेर ग्राभेल गर्ने, उक्त सडकमा हिँड्ने टिप्परहरुका लागि टाइम कार्डको व्यवस्था गर्नेलगायतका सहमति भएका थियो ।
तर उक्त सहमतिविपरीत शुक्रवार विहान केही स्थानीयले सडकमा टिप्परलाई अवरोध गरेपछि प्रहरीले बडहराका १६ जना स्थानीयलाई पक्राउ गरेको थियो । तर स्थानीयहरुले भने अवरोध नगरेको घोराही–१३ बडहराका स्थानीय डुल्लीराम पोख्रेलले बताए ।
‘विगतमा भएका सहमति कार्यान्वयनका लागि दबाव दिन आफूहरुले आन्दोलन गरे पनि २७ गते भएको सहमतिपछि आन्दोलन गरेका छैनौं र शुक्रवार विहान पनि आन्दोलनमा हामी थिएनौं’, पोख्रेलले भने– ‘तर प्रहरीले अरुले घटनामा संलग्न नभएकालाई पक्राउ गरेर ल्याएर दुःख दिने काम गरेको छ ।’