फरक बाटो
यम रेग्मी
उपन्यासको अंश
२०४८ साल । माघ महिना । विहानी समय । हातखुट्टा खि¥र्याउने जाडो । पानी पर्दै र रोकिँदै गरेको पनि एक हप्ता भएको छ । पन्ध्र दिन भयो, सूर्यले दर्शन नदिएको । विहानीमा शीतलहर पनि चल्नथालेको छ । चारैजना किशोर उमेर केटा । तीन रात भयो, उनीहरूले घर छोडेको पनि । जब रात पर्छ तब परालको कुरेटोमा बास हुन्छ । सिरक पराल, डसना पराल । घर पनि परालकै छ, आजभोलि उनीहरूको ।
विहान भुरभुरे उज्यालो हुँदै थियो । परालको कुरुटेबाट फुट्ट–फुट्ट बाहिर निस्किए । एक–एकवटा घाँसका मुठाझैँ पराल बोकेर सुनपुरको पार्खेततिर लागे । ठूलो आलीको कुनामा पराल जम्मा पारे । सलाई झ्वार्रर कोरे र आगो बाले । एकछिन आगो दनदनी बल्यो । जाडोले खि¥र्याएका हात गोडा तताए । जब आगो बुत्न थाल्यो । आगोको निभ्दो क्रमसँगै आगो ताप्न बसेका चारै जना आगो नजिक–नजिक सर्छन् ।
‘ए गोइँठे ! आगो मर्न लाग्यो । गोइठा खोजेर लेर आ न ?’ रामे छिलिएर बोल्यो ।
रामेको बोलीले कालेको हाँसोको फोहोरा फुट्यो । लालेले पनि हातले मुख छोप्यो । धेरै बेरसम्म खुतखुत गरिरह्यो ।
‘तेरो बालाई भन गोइँठे । मा‘साले ! खुब अर्काको नाम बिर्गाछस् ! पण्डित बनेर ।’ गोइँठे रगत खाएको बाघ बनेर बोल्यो ।
‘भन्चु ! भन्चु ! स्वाद ! भन्चु । तँ पाजी गोइँठेलाई गोइँठे नभनेर के राजासाप भनौँ तो ?’ रामे पहिलेको भन्दा झन चर्को आवाजमा बोल्यो ।
गोइँठेले क्याप्पै निलूँलाझैँ गरेर रामेलाई हे¥यो मात्र । ऊ केही बोल्न खोज्दै थियो । रामेका विगतका रामधुलाई झल्यास्स सम्झियो र चुप लाग्यो ।
आगो नबलेर पुत्ताइरहेको थियो । कालेले फु ! फु ! गर्दै तीन पटक फुक्यो । तर बाल्न सकेन । धुवाँले पाकेका डल्ले खुर्सानीझैँ राता आँखा मिच्दै बोल्यो– ‘मरिसक्यो आगोसागो । दिनभरि घाम लाग्लाजस्तो छैन । खुब झगडा गरेर बस साले हो । आगो निभ्यो भने तिम्रो बाउले सलाई दिन्छ र ताप्छौ ?’
‘ए लाले ! चाँडै दाउरा र गोइँठा खोज्न जाओ तो ? केही भेटिन्छ कि ? खुब मामाघरझैँ धम्म परेर बस्छ साले !’ रामे लालेलाई धकेल्दै बोल्यो ।
लाले केही बोलेन । उमेर पनि ऊ सबैभन्दा सानो थियो । रिसाएको राँगोलेझैँ रामेलाई हेरिरह्यो ।
निभ्न लागेको आगोको फिलिङ्गालाई जम्मा पार्दै काले फेरि बोल्यो, ‘लालेलाई दाउरा खोज्न पठाएर के गर्छस् ? यो बच्चोले गू र गोबर पनि चिन्दैन । अस्ति गोइँठा भनेर मान्छेको सुक्या गु ल्याथ्यो, बिर्सिस् । गोइँठेको लुगामा लागेको गू अझै गनाइरा’छ । नपत्याए सुघ तो ।’
– ‘तेरो बाको लुगा गना होला ।’ गोइँठे एक पटक लगाएको लुगा पुलुक्क हे¥यो र जङ्गियो ।
गोइँठेको मुखतिर हेर्दै रामे र काले पेट मिचिमिची खुब हाँसे । लाले अस्तिको घटना सम्झेर लाजले अनुहार रातो बनाए ।
कालेले आगो बाल्न खुब प्रयास ग¥यो तर सकिरहेको थिएन । रामे झिझिर्दै बोल्यो, ‘नौ बजिसक्यो, छोड यार ! अब आगोसागो । बरु पेट पूजा गर्ने आइडिया लगा न । मलाई भोक लागिसक्यो ।’
‘पर्वते बाजेको छोरीको हिजोको त्यो ब्या, मा कसम ! त्यति धेरै भेराइटी मासु त कहिल्यै पनि देखेको थिएन यार ! जन्तीको बीचमा घुसेर खुब खाइस् यार तैँले त । तँलाई त कसैले देखेनन् होला ? मैले क्यापले हल्का मुख छोपेर पिलेटमा मासु हाल्दै थिएँ । चिनिहाल्यो यार पाँडे बसन्तेले । खाउँलाझैँ गरेर हेर्छ पो सालेले । कतै न उसकै बाउको ब्या खान गएझैँ । केही बोलेन न र हो । केही बोलेको भए । जन्तीकै अगाडि मासु र पुलाउको पिलेट मुखमा थेचेरिदिन्थे । टाप कस्थेँ । साले ! केही नबोलेर बच्यो ।’ कालेले ठूलै युद्ध जिते जसरी गर्वले बोल्यो ।
विना निम्ता ब्या खान गएपछि त हेपिहाल्छन् नि । लाले डराई–डराई शान्त स्वरमा बोल्यो ।
काले लालेको मुखमा पुलुक्क हे¥यो र बोल्यो–‘तेरो बाको ब्या हो र ? हामी कामी सार्कीलाई बाउनहरूले निम्ता गर्ने ? भाञ्जाभान्जी भनेर निम्ता गर्छन कि ज्वाई भनेर निम्ता पठाउँछन् र, ब्या खानलाई ? आफू त जाँ जसको ब्या भेटिन्छ, जन्तीको माझमा घुसिन्छ । मोज लुटिन्छ । ब्या हुन लाको था मात्र पाउनुप¥यो ।’
लाले हराएको चीज एक्कासी सम्झिएझैँ गरेर बोल्यो–‘एक ठाउँ जाने हो बे ?’
‘काँ’ ? रामे र काले एकैपल्ट बोले ।
– ‘भोजमा’
–‘कसको तेरो बाउको भोजमा ?’ रामे नपत्याएर बोल्यो ।
लाले पनि जोस्सिएर बोल्यो– ‘त सालेलाई बोल्यो कि गाली गर्न परिहाल्छ नि ? राम्ररी बोल्न सक्दैनस् ? तिमीहरु कोही सालेलाई पनि भन्दैन मैले ।’
‘नरिसा न मेरो प्यारो भाइ ! तँलाई मायाले पो गाली गरेको, भन न ! कहाँ हो ? मलाई त साह्रै भोक लागिसक्यो ।’ रामेले लालेलाई मायाले अँगालोमा कस्दै बोल्यो ।
लाले मुसुक्क हाँस्यो र बोल्यो–‘हिजो साँझ घरमा सुड्डाले सुड्डीसँग भन्दै थिए । पन्ध्र वर्षसम्म सानामा घिमिरे बाजेको घरमा कमैया बसे । उनकै घरको आँटो खाए । मोई खाए । जूठो खाएर ठूलो भए । उनकै घरको थाङ्ग्रामा सुते । थाङ्ग्रा कपडा लगाएर शरीरको लाज छोपे । आज उनलाई आपत पर्दा केही सहयोग गर्न पाइन । गोग्लीमा घिमिरे बुढा मरेको आज तेह्र दिन भयो रे ? जाने हो ? अझै गए पनि दह्रो तरिकाले खान पाइन्छ । खिर, आलुको अचार, चिल्लो पुरी, लस्सी… ।’
‘पहिल्यै भन्नु पर्दैन ? अघि नै पुगिन्थ्यो नि ! यस बेला भन्छ यार ! यो सालेले पनि ।’ कालेले नाकको सिगान स्वाक्क माथि तान्यो र बोल्यो ।
‘गोग्ली भनेको तैँती त हो नि । कति टाढा छ र ? दुगुरेर जाऔँ न । हल्का एक्ससाइज पनि भइहाल्छ । मज्जाले खान पाइयो भने दिनभरिलाई नो टेन्शन ।’ रामे जुरुक्क उठ्यो र बोल्यो ।
लाले र काले पनि जुरुक्क उठे । गोइँठेले के सोच्दैथियो कुन्नि ? ऊ उठेन । दाउराको झिँजोले परालको आगोको फिलिङ्गो कोट्याइरह्यो ।
‘तेरो बाको काट्टो खान चाँडै उठ न । ढिलो भइसक्यो ?’ गोइँठेको चाल देखेरले काले जङ्गियो ।
आफ्नो मरेको बाउलाई गाली गरेकोले गोइँठे मनमा चसक्क बिझ्यो । उसले बाउको अनुहारसम्म देख्न पाएन । ऊ गर्भे टुहुरो थियो । परेलीबाट बर्रर आँसु झा¥यो । पीडाले लगलग काप्दै बोल्यो– ‘साले ! तिमीहरु जाओ न । आ–आफ्नो बाउको काट्टो खान । जान्न म तिमी लाछीहरुसँग ।’
तिनै जनाले एकटकले गोइँठेलाई हेरेको हेरै भए । उसको रुवाईले एकछिन तीनै जनालाई दुःखी बनायो ।
‘केटीजस्तै रुन्छ साले ! रञ्चे । दाह्रीजुँगाले अनुहार ढाकिसक्यो, क्वाँ–क्वा रुन्छ । रुन लाज मान्दैनस् ? चाँडै उठ !’ लालेले गोइँठेको हात तान्दै बोल्यो । गोइँठे उठ्दैन । बल गरेर लालेको हात फुत्काउँछ । पहिलेकै गतिमा भुइँमा थचक्क बस्छ । उसले घोप्टो परेर रुन्चे स्वरमा भन्छ–‘मैले चिनेको पनि छैन, काट्टो खान जान पनि जान्न ।’
‘नाटक गर्छ यार ! यो सालेले पनि । भोकै बस्छस् दिनभरि ? भोकले पेटमा मुसा दगुर्न थाले भने बल्ल चाल पाउँछस् ? पीडा कति हुन्छ । खुब ठूल्ठूला कुरा गर्छ । मर्छस्, भोकभोकै ।’ रामेले थप्यो ।
– ‘मर्छु भोकभोकै तर जान्न ।’ गोइँठे आफ्नो अडान लिन्छ ।
– ‘जान्नस्’ रामेले फेरि सोध्छ ।
– ‘जान्न, जान्न, जान्न, जान्न भन्या सुनिनस्’ गोइँठे रिसले आगो बन्छ ।
–‘मर साले ! भोकले दिनभरि । जाऔँ केटा हो हामी ।’ रामे अगाडि–अगाडि लमक–लमक हिड्छ । उसको पछि–पछि काले र लाले लाग्छन् । देखिँदासम्म गोइँठे एकटकले तीन जनालाई हेरिरहन्छ । तीन दिनपछि युद्धमा हारेको कुकुरझैँ गोइँठे लुरुक्क पर्दै घरतिर लाग्छ ।
क्रमश …