दाङ, ३० जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखाले अध्यक्ष सविन प्रियासनमाथि भएको दुव्र्यवहार घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारवार्ही गर्न माग गरेको छ । घोराही–१५ न्यूरोड निवासी साजन भण्डारीलगायत केही युवाले अध्यक्ष प्रियासनमाथि दुव्र्यवहार गरेका भन्दै उक्त घटनाको छानबिन गरेर दोषीलाई कारवाही गर्न महासंघले स्थानीय प्रशासनसँग माग गरेको हो ।
महासंघका सचिव भूपेन्द्र वलीले शुक्रवार जारी गरेको विज्ञप्तिमा अध्यक्ष प्रियासनमाथिको दुव्र्यवहार सिंगो दाङको पत्रकारितामाथिको आक्रमण भएको उल्लेख गरिएको छ । जेठ २९ गते घोराही–१४ शहीद लखनपार्क नजिक महासंघ अध्यक्ष प्रियासनमाथि दुव्र्यवहार भएको थियो । स्थानीयले टिप्पर रोकेको सन्दर्भमा पत्रकार सम्मेलन भएकाले आइदिन आग्रह गरेपछि अध्यक्ष प्रियासन आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै सो स्थानमा पुगेका थिए । अध्यक्ष प्रियासनले सहमति कायम गर्ने प्रयास गर्दा भण्डारीलगायत युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार गरेका हुन् । दुव्र्यवहार गर्दा पनि जिम्मेवारीबोध गरेर आफ्नो काममा फर्किएका अध्यक्षलाई त्यसपछि पुनः घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले स्थानीय र टिप्पर सञ्चालकबीच सहमति कायम गराउनका लागि आएर समन्वय गरिदिन आग्रह गरेपछि अध्यक्ष फेरि सो स्थानमा पुगेको विज्ञप्तिमा उल्लेख छ । स्थानीयसँग सौहाद्रतापूर्वक छलफल चलिरहेको सन्दर्भमा पुनः भण्डारीलगायतका युवाले अध्यक्षको मोटरसाइकलको चाबी खोसेर हातपात गरेका थिए’, विज्ञप्तिमा भनिएको छ– ‘यति हुँदासम्म पनि संयमता अपनाएका अध्यक्ष तथा सम्पूर्ण सञ्चारजगतको चरित्र हत्या गर्ने उद्देश्यले विहीवार राति भण्डारीलगायतका युवाले सामाजिक सञ्जालमा विभिन्न भिडियो राखेर सम्पूर्ण सञ्चारकर्मीको नै चरित्रहत्या गर्ने प्रयास गरेका छन् ।’ संस्थागत जिम्मेवारी अनुसार काममा खटिएका अध्यक्षमाथि केही अराजक युवाहरुको तर्फबाट भएको यस किसमको दुव्र्यवहारप्रति गम्भीर आपति प्रकट गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच प्रेस युनियन र प्रेस संगठन दाङले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर अध्यक्ष प्रियासनमाथि भएको घटनाको विरोध गरेका छन् । प्रेस संगठन दाङका संयोजक प्रकाश चौधरी र सहसंयोजक जेएन सागरले जारी गरेको विज्ञप्तिमा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा पाँच नं. प्रदेश संयोजक एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनमाथि भएको दुव्र्यवहारको भत्र्सना गर्दै दोषीलाई कारवाही गर्न माग गरिएको छ । ‘असहमतिका कुरा आपसी छलफलबाटै समाधान गर्न सकिने हुँदाहुँदै सहजीकरणका लागि बोलाएर प्रियासनमाथि गरिएको दुव्र्यवहार सिंगो पत्रकार र सञ्चारजगतमाथिकै दुव्र्यवहार भएको महसुस हामीले गरेका छौं’, विज्ञप्तिमा उल्लेख छ । त्यसैगरेर नेपाल प्रेस युनियन दाङले पनि महासंघका अध्यक्ष प्रियासनमाथि भएको घटनाको भत्र्सना गरको छ । युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले विज्ञप्ति जारी गरेर सबै पक्षको विश्वासिलो नागरिक समाजको रूपमा रहेको नेपाल पत्रकार महासंघ र त्यस्को नेतृत्वले जिल्लाका कुनै पनि स्थानमा पर्ने गरेका समस्याको समाधानका लागि सहजीकरण गर्दै आएको र उक्त दिन पनि सो कार्यमा खटिएको समयमा केही उच्छृंखल व्यक्तिहरूले संस्थाकै मानमर्दन हुनेगरी अध्यक्षमाथि दुव्र्यवहार सहित अध्यक्ष प्रियासन चढेको मोटरसाइकलको चाबी जबर्जस्ती खोसी नियन्त्रणमा ल्याउने कार्य आफैमा आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ । पत्रकारहरूको मनोबल गिराउने गरी धम्की दिने व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्न पनि युनियनले माग गरेको छ । त्यसैगरेर महिला पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मी आचार्यले पनि विज्ञप्ति जारी गरेर महासंघका अध्यक्ष प्रियासनमाथि भएको घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरिएको छ ।