कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा उपचार सुरु

तिर्थराज ज्ञवाली
देउखुरी,३० जेठ । कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा कोरोना संक्रमितहरुलाई राखेर उपचार गर्न सुरु गरिएको छ । देउखुरी उपत्यका अन्तरगतका चार पालिकाहरुको संयुक्त पहलमा राप्ती गाउँपालिकाको मौरीघाट स्थित राप्ती प्राविधिक शिक्षालयमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा शुक्रवारदेखि कोरोना संक्रमितको उपचार सुरु भएको हो ।

विहीवार राप्ती गाउँपालिका–ं १ , ३ र ४ मा कोरोना संक्रमित देखिएका ६ जना बिरामीलाई आइसोलेसन सेन्टरमा राखेर उपचार गर्न सुरु गरिएको छ । संक्रमित मध्य ५ जना पुरुष र १ जना महिला रहेको छन् ।

कोरोना संक्रमितलाई राख्नु अघि राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले सयुक्त रुपमा कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरको अवस्था,उनीलाई खानाको व्यवस्था, बस्ने बेडको अवस्था कस्तो भनेर निरीक्षण समेत गरेका थिए । आइसोलेसन सेन्टरमा ६ जना स्वास्थ्यकर्मीहरु खटिएका छन् ।

कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा राखिएका ६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन् ।

कोरोना पोजिटिभ देखिएका मध्य ६ जना नै भारतबाट आएर राप्ती गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएका थिए । १०० बेड क्षमता रहेको कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा देउखुरी क्षेत्रमा रहेका चार वटा स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पालैपालो खटाइएको निर्णय भएको छ ।