विद्यार्थी मूल्यांकनको गतिलो अवसर

विष्णुकुमार देवकोटा
एसईई परीक्षा दिने विद्यार्थीका समग्र क्षमताको मूल्यांकनको बल्ल अवसर जुरेको छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणले यो अवसर सम्बन्धित विद्यालयलाई जुटाइदिएको छ । सरकारले संक्रमणका कारण एसईई परीक्षा गराउन नसकेपछि अन्ततः सम्बन्धित विद्यालयकै स्वमूल्यांकनका आधारमा विद्यार्थीहरुलाई माथिल्लो कक्षा चढाइने निर्णय ग¥यो ।

सरकारले यसअघि नै कक्षा १२ सम्मलाई स्कुल तहको शिक्षा भनिसकेको अवस्थामा १० कक्षाको एसईई परीक्षा संघीय इकाईको कुनै बोर्डले लिइरहनुको अर्थ थिएन । १२ कक्षासम्मलाई स्कुल लेभलमा गाभिसकेको अवस्थामा बोर्डले तीन घण्टे परीक्षा गराएर विद्यार्थीहरुलाई अपग्रेड गरिनु भनेको आफैले भर्ना गरेका शिक्षकहरुको मूल्यांकनलाई अविश्वास गरेजस्तै थियो ।

यसअघिको परीक्षा प्रणालीलाई हेरौं । तात्कालीन एसएलसी परीक्षा होस् वा हालको एसईई परीक्षाको कुरा । तीन घण्टाको समयमा विद्यार्थीहरुको नलेज(ज्ञान)लाई मात्र मूल्यांकन गरिन्थ्यो । तर विद्यार्थीभित्र भएको स्कील(सीप) र एट्टीच्युड (प्रवृत्ति)को कुनै मूल्यांकन हुँदैनथ्यो । अब सम्बन्धित विद्यालयले स्वमूल्यांकन गरी कक्षा अपग्रेड गर्दा उनीहरुलाई यी तीनै विषयवस्तुको समग्र मूल्यांकन गर्नेछन् । किनकि वर्षभरी पढाएको विद्यार्थीमा रहेका ज्ञान, विद्यार्थीमा लुकेको सीप र खुवीलाई पनि विद्यालयहरुले अनुशरण गर्न सक्नेछन् । सायद संघीय सरकारले तय गरेका मूल्यांकनका मोडालिटीमा यी तीनै विषयबस्तु समेटिने अवसर प्राप्त भएको छ ।

समग्रमा भन्नुपर्दा यो बर्ष कोरोनाको संक्रमण देखाएर विद्यार्थीहरुको एक शैक्षिक सत्र नै खेर जाने हो कि भन्ने अवस्था देखाएको थियो । अन्ततः विज्ञ समूहको सिफारिसमा विद्यार्थीहरुलाई अपग्रेड गर्ने निर्णय लियो, यो स्वागतयोग्य विषय हो । यसलाई विद्यार्थी र अभिभावकले पनि कुनै हीनताबोध र आश्चर्यजनकरुपमा लिनु पर्दैन । किनकि अब मूल्यांकनका आधारहरु फेरिएका छन् । विद्यालयको स्वमूल्यांकनले विद्यार्थीहरुमा रहेको अन्तर्निहित सीपलाई निरुत्साहित अवश्य गर्ने छैन । किनकि क्षमता भएका विद्यार्थीहरुले १२ कक्षाको परीक्षामा यो प्रस्फूटन गर्न सक्नेछन् । त्यसपछिको उच्च शिक्षामा पनि देखाउन सक्नेछन् ।

यहाँ कोरोनाको संक्रमणले यो अवसर जुटाइदियो, यसलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिँदै सम्बन्धित विद्यालयहरुलाई नै स्वमूल्यांकनको अवसर कक्षा ११ सम्म प्रदान गर्नेछ भन्ने हाम्रो अपेक्षा पनि हो । परीक्षा नै नलिएर कक्षा उत्तीण गराउने अभ्यास यसअघि एकपटक नेपालमै पनि भएको हो । स्पष्ट मिति भने मलाई याद भएन । विश्वका अन्य मुलुकहरुमा पनि यस्ता अभ्यासहरु छन् । बंगलादेश स्वतन्त्र भएको बर्ष पनि विद्यार्थीहरुलाई परीक्षा नै नदिलाएर कक्षा उत्तीर्ण गराइएको थियो । एसर्ईई परीक्षाका विषयमा अभिभावकहरुमा यसअघि जुन कुराको सेटिङ भइसकेको थियो, यसलाई पनि यो निर्णयले परिवर्तनमुखी संस्कृतिको विकास गर्नेछ ।

विद्यार्थीको प्रतिभा मार्नका लागि यो निर्णय भएको भन्न मिल्दैन । किनकि एसईईमा सरकारी परीक्षा प्रणालीले दिएको अभ्यासमा पृथक क्षमता भएका विद्यार्थीहरुलाई पनि सम्बोधन गर्नेछ । कक्षा १२ सम्मको सबै स्कुललाई दिएको अवस्थामा परीक्षा लिने अधिकार अर्को निकायलाई किन ? यो प्रश्नको उत्तर कोरोनाको संक्रमणले दिएको छ । स्वमूल्यांकनका मापदण्ड बनाउँदा विद्यार्थीहरुका सबै क्षमताहरुलाई मूल्यांकन गरियोस् ।
शिक्षाविज्ञ देवकोटासँग गरिएको कुराकानीमा आधारित