दाङ,३० जेठ । पश्चिम दाङको हापुरेमा एक व्यक्तिको त्रिशुलले हानेर हत्या गरिएको छ । बबई गाउँपालिका–३ धनवासको गुन्द्रीबजार निवासी करिव ४६ बर्षीय नारायणप्रसाद डाँगीको त्रिशुल हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
सोही ठाउँ २४ बर्षीय बालाराम वलीले शुक्रवार (आज) विहान घर नजिकै रहेको दुर्गा भगवतीको मन्दिरको त्रिशुल झिकेर घर नजिकै चौतारी बसेका डाँगीलाई हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।
त्रिशुल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर ल्याउदै गर्दा बाटोमा मृत्यु भएको थियो । मदिराले मातेका वलीले पेट र घाटीमा त्रिशुलले हानेर घाइते बनाएका थिए । डाँगीको हत्या गरेपछि आफुले आत्महत्याको प्रयास गरेको घट्नास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी सिंहले बताए ।
‘‘घर नजिकै चौतारीमा बसेका डाँगीको हत्या गरेपछि निज वलीले समेत आत्महत्याको प्रयास गरेको देखिन्छ’–डिएसपी सिंहले भने–‘उनले बन्चोरोले आफ्नो संवेदनशिल अंग लिंगलगायतका ठाउँमा काटेका छन् ।’ घाइते अवस्थामा घर नजिकैको खरकट्टीबाट वलीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
हत्याको आरोपित वलीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी सिंहले जानकारी दिएका छन् । घट्ना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । जनता माध्यामिक विद्यालय हंसपुरको क्वारेन्टाइनमा भान्सेका रुपमा काम गर्दै आएका वलीलाई धेरै रक्सी खाने गरेपछि विहिवार निकालिएको थियो ।
फाइल फोटो