समाचार टिप्पणी : ह्याकुलोले मिचिएको लकडाउन

  •   
  •  

अब बल नागरिकको कोर्टमा

अब लकडाउनलाई नागरिकहरुले ‘ह्याकुलोले मिचेझै’ अस्वीकार गर्न थालेका छन् र सरकार पनि त्यसको प्रतिवाद गर्ने मनस्थितिमा छैन । लकडाउनबाहेक अन्य विकल्पमा जान र त्यसका लागि गृहकार्य गर्न सरकार अनिच्छुकझैँ देखिइरहँदा नागरिकहरुले स्वतःस्फूर्तरुपमा विकल्प खोज्न थालेको देखिन्छ । केही दिनयता सरकारविरुद्ध काठमाडौं र बाहिर पनि प्रदर्शनहरु हुन थाले । काठमाडौंमा त व्यापारीहरुले समेत पसल खोल्न पाउनुपर्छ भन्दै प्रदर्शन गरे ।

सरकारले पनि लकडाउनलाई खुकुलो बनाउन थालेको समाचारहरु पनि यही बीचमा सुनियो । निकै दबाव महसुस गरेको सरकारले अन्ततः बुधबार राति लकडाउन खुकुलो बनाउने निर्णय नै ग¥यो । सरकारले तीन चरणमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरिसकेको हो । सरकारी निर्णयअनुसार पहिलो चरण हिजो बिहीबारबाटै शुरु भैसकेको छ । यो चरण २१ दिन कायम रहेने छ । त्यसको स्थिति हेरेर थप १५ दिनसम्म दोस्रो चरण र त्यसको स्थिति हेरेर फेरि १५ दिन तेस्रो चरण शुरु हुनेछ । यसबीच संक्रमणको अवस्था अहिलेभन्दा नराम्रो भयो भने यो तालिका परिवर्तन हुनसक्छ ।

लामो समय उकुस–मुकुसमा बसेका नागरिकहरुका लागि यतिको वातावरण पनि ठूलो राहत हो । अब यही वातावरणलाई अझ फराकिलो गराएर आफ्ना व्यवसायहरुलाई निरन्तरता दिनतर्फ नै हरेकको जोडबल हुनेछ । सरकारले तालिका परिवर्तन गर्ने भने पनि जनजीवनलाई फेरि बन्द राख्ने गरी निर्णय लिन भने गाह्रो हुनेछ । करको ताकेता गर्ने सरकारले अब पहिलेझैँ ठप्प पार्ने अवस्था बन्दैन, नागरिकको चाहनाले जितिसकेको अबस्था छ ।

तर, कोरोना संक्रमणको संख्या थपिने क्रम भने रोकिएको छैन । त्यसकारण अबको अवस्थामा सबै थप सजग हुन भने आवश्यक छ । कोरोना भाइरसका सन्दर्भमा विश्व स्वास्थ्य संगठनले हासिल गरेका पछिल्ला तथ्यहरु र हाम्रो आफ्नै पनि भोगाईले अब कोरोनासँगको लडाइँ अन्धाधुन्ध हुने छैन, व्यवस्थितरुपमा लड्ने योजना बनाएर हिँड्न सकिने अवस्थामा हामी उभिएका छौं । त्यसकारण पनि संक्रमणसँगको भयको मात्रा घटेको छ र जनजीवन सहज बनोस् भन्ने चाहना प्रकट भइरहेको छ । यो अवस्था भनेको ‘बल नागरिकको कोर्टमा आएको अवस्था’ हो । जनजीवन सहज हुँदै गर्दा कोरोनासँग बच्नका लागि नागरिकस्तरबाट अपनाइनुपर्ने सतर्कता नै यसबाट बच्ने सबैभन्दा प्रभावकारी कदम हुनेछ । सरकार त सहजताका लागि तयार भयो, तर सजगताका लागि नागरिकहरु तयार हुनुपर्ने अवस्थामा हामी पुगेका छौं ।

सामाजिक दूरी, सरसफाई, हात र श्वासप्रश्वासमा स्वच्छता, जमघटका तरिकाहरु, प्रविधिको अधिकतम् प्रयोगबाट अन्तत्र्रिmया गर्ने अभ्यासलाई अब संस्कारका रुपमा ग्रहण गर्न जरुरी छ । कसरी सक्दो कम भीडभाड बनाउन सकिन्छ भन्ने कुरामा व्यक्ति–व्यक्तिको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।

जनस्वास्थ्यविज्ञहरुले यो अवस्थालाई संक्रमणबाट मुक्त भएको अबस्थाका रुपमा नबुझ्न नागरिकहरुलाई अनुरोध गरिरहेका छन् । आत्मानुशासनमा रहने र आनीबानीमा परिवर्तन गर्न सक्ने हो भने खुकुलो अबस्थामा हुने जोखिम त्यसै न्यून हुने उनीहरुको तर्क छ । तर, संक्रमणमुक्त भएझैं उन्मत्त भएर हिँड्न थाल्ने हो भने त्यसले झनै खतरा निम्त्याउनेतर्फ उनीहरुको खबरदारी छ ।

बन्दाबन्दी गर्नुभन्दा खोल्नु जोखिमयुक्त काम भएकोले यसको पालना गराउँदा सम्झौताहीन बन्नुपर्ने र पिसिआर टेस्टको दायरा धेरै बढाउनुपर्ने सुझाव विज्ञहरू दिन्छन् । कोरोना संक्र्रमणको खोप बनेको छैन, सानो लापरबाहीले हाम्रो परिवार, आफन्त तथा समुदायमा गम्भीर असर पर्न सक्छ भन्ने कुरा सबैले सम्झनुपर्नेमा उनीहरुको जोड रहेको पाइएको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने खालको खानपिनमा जोड दिनुपर्नेमा पोषणविदहरुले सुझाव दिइरहेका छन् ।

सरकार अत्यन्त तयारीका साथ स्रोत साधनको परिचालन गर्नसक्ने गरी प्रस्तुत हुने र नागरिक जीवनलाई अनुशासित र सजग बनाउने कुरामा पनि उत्तिकै जोड दिनुपर्ने कुरामा सबैको सहमति देखिन्छ । खुकुलो अबस्थाबाट हुने जोखिमबाट बच्न नागरिक तयार हुनैपर्छ । एकजनाको लापरबाहीले भयावह अवस्था आउन पनि सक्छ । सबैको प्रयत्न आफूले पनि लापरवाही नगर्ने र अरुलाई पनि गर्न नदिने कुरामा केन्द्रित हुन आवश्यक छ । बल अब नागरिकको कोर्टमा छ ।

सजगता र अनुशासित जीवनशैलीले त्यो बललाई राम्रोसँग ‘डिफेन्स’ गर्न सकिन्छ । कोरोनाले कसैको ज्यान मागेको हैन, नयाँ र सभ्य संस्कृति निर्माणमा योगदान खोजेको हो भन्ने कुरा बुझ्न सकिन्छ । हाम्रो अनुभव पनि छ, संकटबाट पार पाउनका लागि नयाँ संस्कार बसाल्न हामी सक्षम हुन्छौं । माओवादी युद्धको उत्कर्षताका संकटकाल र लगातारको रातिको कर्फ्यूले हामीलाई बिहे तथा अन्य पर्वहरु रातभर मनाउने परम्परालाई विस्थापन गर्न र दिउँसोमै रमाउने संस्कृति बसाल्न मद्दत ग¥यो । त्यो संस्कृतिले अपराधको संख्या घटाएको तथ्यांकले देखाउँछ । अहिले पनि कोरोनाले त्यस्तै नयाँ संस्कृति अपेक्षा गरेको छ ।