कोरोना रोग व्यवस्थापनमा ८३ लाख बढी खर्च

संघसंस्था तथा व्यक्तिबाट ६२ लाखको राहत

लिलाधर वली
दाङ, २९ जेठ । घोराही उपमहानगरपालिकाले हालसम्म ८३ लाख बढी रकम कोरोना व्यवस्थापनमा खर्च गरेको छ । नेपालमा कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउनको घोषणा गरेदेखि हालसम्म क्वारेन्टाइन व्यवस्थापन, कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री, विभिन्न खाद्यान्न सहयोगसँगै सीमामा अलपत्र परेका नागरिकहरुलाई घोराहीसम्म ल्याउनका लागि ८३ लाख ४८ हजार ७ सय ५ रुपैयाँ खर्च भएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

घोराही उपमहानगरपालिकाले कोरोना भाइरसको जोखिमका कारण लकडाउन घोषणा गरेपछि आर्थिकरुपमा विपन्न, छाकवास बसेका ५ हजार ५ सय ४८ परिवारहरुलाई बैशाखको १५ गतेसम्म १८ लाख १७ हजार बढी मूल्यको खाद्यान्न सहयोग गरेको घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख उमेश शर्माले जानकारी दिएका छन् । शाखा प्रमुख शर्माका अनुसार घोराही उपमहानगरपालिकाले आफै खरिद गरेर २० हजार २ सय ५० केजी चामल, २८ सय केजी दाल, ११ सय ५० किलो नून, २१ सय लिटर तेल, ११ सय ५२ पिस नुहाउने सावुन र ११ सय ४० पिस कपडा धुने सावुन खरिद गरेर वितरण गरेको छ ।

त्यस्तै विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोगमा ६२ लाख ३१ हजार ३ सय २५ रुपैयाँ मूल्यको खाद्यान्न उपमहानगरपालिकाले विपन्न परिवारलाई राहत वितरण गरेको छ । जसअन्तर्गत १ लाख ८ हजार ४ सय ८७ किलो चामल, ८ हजार ६ सय ४८ किलो दाल, ५ हजार ७ सय ७० किलो नून, ४ हजार १ सय ९१ लिटर तेल र ६ हजार ४ सय ८४ पिस नुहाउने सावुन घोराहीका १९ वटै वडाका विपन्न परिवारलाई वितरण गरेको जनाएको छ । यो रकम उपमहानगरपालिकाको आन्तरिक खर्चभन्दा बाहेकको खर्च हो । संघसंस्थाको इच्छाअनुसार विभिन्न वडामा वितरण गरिएको थियो ।

बैशाख १५ यता लकडाउनका कारण आर्थिकरुपमा समस्या परेका विपन्न परिवारलाई रोजगारी दिन शुरु गरेको छ । निःशुल्करुपमा राहत वितरण गर्दा धेरै मानिसहरु राहतका लागि आउन थालेपछि उपमहानगरपालिकाले लकडाउनकै कारण छाकबास बस्ने अवस्थामा पुगेका परिवारलाई रोजगार दिन थालेको हो ।

क्वारेन्टाइन व्यवस्थापनमा २७ लाख बढी खर्च
घोराही उपमहानगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा २७ लाख बढी रुपैयाँ खर्च गरेको छ । विदेशबाट आउने नागरिकसँगै देशभित्रका विभिन्न स्थानबाट आउने मानिसहरुलाई राख्नका लागि घोराहीका १९ वटा वडामा ८५ स्थानमा क्वारेन्टाइन निर्माणका लागि २७ लाख ६ हजार ४ सय १२ रुपैयाँ खर्च गरेको जनाएको छ । ८५ स्थानमा ३ हजार ४ सय १६ बेड क्षमता रहेको क्वारेन्टाइन निर्माण गरेको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

क्वारेन्टाइनमा आवश्यक फर्निचर, सुत्नलाई बेड, तन्ना, झुललगायतका सामग्री खरिदमा उक्त रकम खर्च भएको आन्तरिक व्यवस्थापन शाखाका प्रमुख बाबुराम पन्थीले जानकारी दिएका छन् । जसअन्तर्गत बैशाखसम्म क्वारेन्टाइन व्यवस्थापनका लागि २ लाख ३० हजार र बैशाख १५ देखि हालसम्म २४ लाख ७६ हजार ४ सय १२ रुपैयाँ खर्च गरेको छ । उपमहानगरपालिकाले घोराही–३ कुइरेपानीमा नगरस्तरीय क्वारेन्टाइन निर्माण गरेको छ भने बाँकी १९ वटै वडामा ८४ वटा वडास्तरीय क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना संक्रमित थपिदै गएपछि उपमहानगरपालिकाले संक्रमितको घोराहीमै उपचार गर्ने गरी ५० बेड क्षमताको आइसोलेसन सेन्टरसमेत निर्माण गरेको छ । घोराही उपमहानगपालिका–१० दक्षिण अमराईमा निर्माणाधीन अवस्थामा रहेको फनपार्कको भवनलाई भाडामा लिएर निर्माण गरिएको आइसोलेसन अस्पतालमा १० जना कोरोना संक्रमितलाई राखेर उपचार गर्न शुरु गरिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिएका छन् ।

स्वास्थ्य सामगी खरिदमा २८ लाख
त्यस्तै घोराही उपमहानगरपालिकाले कोरोना रोग नियन्त्रण तथा रोकथाम र संक्रमितको उपचारका लागि आवश्यक सामग्री खरिदका २८ लाख बढी रुपैयाँ खर्च गरेको छ । चैत ११ गतेदेखि हालसम्म १३ लाख १८ हजार १ सय ९७ रुपैयाँको स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिआई, परीक्षणका लागि थर्मल, पञ्जा, मास्क, स्वाव संकलनका लागि आवश्यक पर्ने सामग्री, सेनेटाइजरलागयतका आवश्यक औषधि खरिद गरेको आन्तरिक व्यवस्थापन शाखाका प्रमुख बाबुराम पन्थीले जानकारी दिएका छन् ।

उनका अनुसार थप स्वास्थ्य सामग्री खरिदका लागि १५ लाख २० हजार बढीको बोलपत्र आह्वान गरेको समेत बताए । ‘संकटको शुरुका दिनहरुमा इमर्जेन्सी सामग्रीहरु आकस्मिकरुपमा किन्न परेको थियो’, प्रमुख पन्थीले भने– ‘नत्र आवश्यक प्रक्रिया पूरा गरेर मात्र सामग्री खरिद गर्ने गरेका छौं ।’ उनका अनुसार अहिले उपमहानगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरिरहेकाले खर्च रकम बढ्ने बताए ।

अलपत्र यात्रुको उद्धारमा ८ लाख
यसैगरी घोराही उपमहानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई उद्धार गर्न ८ लाख बढी रकम खर्च गरेको छ । रोजगारीका क्रममा भारत गएका नागरिकहरु फर्कने क्रममा सीमा क्षेत्रमा आएर अलपत्र पर्ने अवस्था आएपछि उपमहानगरपालिकाले त्यस्ता नागरिकहरुको उद्धार गरेको छ । भारतका विभिन्न स्थानबाट कृष्णनगर नाकासम्म आएका २ हजार ९५ जनाको उद्धार गरेको हो । उनीहरुलाई घोराहीसम्म ल्याउनका लागि ८ लाख ६ हजार २ सय रुपैयाँ खर्च भएको घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख उमेश शर्माले जानकारी दिए । त्यस क्रममा घोराहीसँगै छिमेकी पालिका तथा छिमेकी जिल्लाहरुका नागरिकहरुको समेत उद्धार गरिएको उनले बताएका छन् । उद्धारमा उपमहानगरपालिकाले करिब १५ बससँगै उपमहानगरपालिका सवारी साधन समेत प्रयोग गरेको जनाएको छ ।

कोरोना राहत कोषमा ६६ लाख बढी
घोराही उपमहानगरपालिकाले कोरोना राहत कोषमा ६६ लाख ५ हजार ९ सय ११ रुपैयाँ जम्मा गरेको थियो । उपमहानगरपालिकासँगै कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायतको रकम उक्त कोषमा जम्मा गरेको थियो । तर अहिले उक्त रकम सकिएको वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख शर्माले जानकारी दिए । संकटमा परेका व्यक्तिलाई सहयोगसँगै विभिन्न सामग्री गरिदका क्रममा कोषको रकम सकिएको उनले बताए ।

फ्रिडम फोरमसंगको सहकार्यमा ।