प्रियास्मृति ढकाल
नेपालगञ्ज, २९ जेठ । गएको जेठ ४ गते नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको जीवनजल नपाएरै क्वारेन्टाइनमा मृत्यु भयो । न उनले क्वारेन्टाइनमा औषधि पाए न त उनलाई उपचारका लागि सदरमुकाम नेपालगञ्ज लैजान एम्बुलेन्स । नरैनापुरबाट नेपालगञ्ज करिब ४० किलोमिटर पश्चिम पर्छ । दीपेन्द्र प्रावि क्वारेन्टाइनमा बसेका युवकको मृत्युले नरैनापुरका अन्य क्वारेन्टाइनमा बस्दै आएका स्थानीयलाई अझै झस्काइरहन्छ ।
दीपेन्द्र प्रावि क्वारेन्टाइनदेखि करिब ६ सय मिटर नजिकै रहेको जय किसान मावि क्वारेन्टाइनमा बस्दै आएका एकजना युवा भन्दै थिए–‘कोरोनाको डर छैन, तर यहाँ अरु कुनै विरामी परे उपचार नपाएर मरिन्छ कि भन्ने डर छ ।’ बाँकेमा करिब तीन सयको हाराहारीमा कोरोना संक्रमित पुग्दा नरैनापुरमा मात्रै संक्रमितको संख्या एक सय १८ पुगिसकेको छ । दुई हप्ता बढी भयो नरैनापुरमा अहिले पनि निषेधाज्ञा कायमै छ र नेपाली सेना परिचालन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह भन्छन्–‘क्वारेन्टाइनमा एकजनाको मृत्युपछि यहाँसम्मको त्रास सिर्जना भयो कि क्वारेन्टाइनमा बसेकाहरु नै भागे ।’ नेपाली सेना नै परिचालन भएपछि गाउँपालिकाले अहिले केही राहतको सास फेरेको छ । चर्को गर्मीमा टिनको छानोमा बनाइएको क्वारेन्टाइनमा बस्नेहरुको अवस्था विजोग छ । भौतिक पूर्वाधार अभाव र स्थानीय सरकारको गैरजिम्मेवारीका कारण अधिकांश क्वारेन्टाइन भय गराउने खालका मात्रै छन् । न स्वास्थ्यकर्मी न त खानपिनको राम्रो व्यवस्था । नरैनापुरमा त झन विद्युत नै छैन ।
एउटा क्वारेन्टाइनमा पाँच स्वास्थ्यकर्मी खटाउनुपर्ने मापदण्ड छ । यस्तै आइसोलेशनमा मेडिकल अधिकृतकै नेतृत्वमा चिकित्सक परिचालन गर्नुपर्ने मापदण्ड छ । विटक नरैनापुरमा मात्र होइन बाँकेका अधिकांश पालिकामा रहेका क्वारेन्टाइन र आइसोलेशन भगवान भरोषामा छन् । डुडुवा गाउँपालिका–३ शाहपूर्वामा रहेको आइसोलेशनमा १५ जना कोरोना संक्रमितलाई राखिएको छ ।
उक्त आइसोलेशनमा राखिएको १० दिनको दिन संवाद्दाता पुग्दा उनीहरुसँग न सेनिटाइजर थियो न त हात धुनलाई साबुन, न त्यहाँ स्वास्थ्यकर्मी थिए न त एम्बुलेन्स नै तयारी अवस्थामा राखिएको थियो । जब कि कोरोना संक्रमित राखिएको आइसोलेशनमा चिकित्सकसहितको टोली र एम्बुलेन्स तयारी अवस्थामै हुनुपर्ने हो । ‘भद्रगोल आइसोलेशनले मृत्युको त्रास सिर्जना गरिरहेको छ’ एकजना संक्रमितले भने । गाउँपालिकाका उपप्रमुख शाहिदा वानुले फोन गरेपछि स्वास्थ्य सेवा केन्द्रका प्रमुख खड्क रोका हस्याङफस्याङ गर्दै आए । आइसोलेशनको भद्रगोल व्यवस्थापन ढाकछोप गर्दै उनी भन्दै थिए– ‘गाउँपालिकाबाट साबुन मगाएका छौँ आज साँझसम्म आइहाल्छ ।’
बाँकेमा संक्रमितको संख्या बढ्न थालेपछि गाउँ–गाउँमा आइसोलेशन स्थल बनाइएका छन् । क्वारेन्टाइनकै मापदण्ड नपुगेका ठाउँलाई आइसोलेशन केन्द्रमा परिणत गरिएका कारण जोखिम झन् बढेको अधिकारकर्मीहरु बताउँछन् । नेपाल बार एसोसिएशनका केन्द्रीय उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ अव्यवस्थित क्वारेन्टाइन र आइसोलेशनका कारण मानिसहरुको ज्यानै जोखिममा परेको बताउँछन् । आइसोलेशन कक्षका लागि चारखुट्टे खाट, विजुली बत्ती, एम्बुलेन्स र चिकित्सकलाई अनिवार्य शर्त बनाइएको छ । तर कोरोना अस्पताल खजुरा वाहेक अधिकांश पालिकामा चिकित्सक छैनन् ।
कोभिड–१९ जिल्ला स्तरीय संकट व्यवस्थापन समितिका संयोजक रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ जनशक्ति अभावका कारण प्रत्येक आइसोलेशनमा चिकित्सक परिचालन गर्न नसकिएको बताउँछन् । तर उनी भन्छन्–‘प्रत्येक पालिकाका लागि अनकल डाक्टर तोकिएको छ । जहाँ समस्या आउँछ त्यहाँ उनीहरु तत्काल पुग्नुहुने छ ।’ बोलाउने वित्तिकै जाने गरी डाक्टरलाई ‘स्ट्यान्ड बाइ’ राखिएको भए पनि नरैनापुर र राप्ती सोनारीका लागि त्यो सम्भव छ त ? ती पालिकाका प्रमुखहरु सिधैं भन्छन्–‘त्यो व्यावहारिक छैन्, न भनेको समयमा फोन लाग्छ न त एम्बुलेन्स नै पाउँछ ।’
अधिकांश क्वारेन्टाइन र आइसोलेशन सेण्टर विद्यालयमा सञ्चालन गरिएका छन् । बाँकेको खजुरा गाउँपालिका वाहेक अन्य सबै पालिकाले क्वारेन्टाइन र आइसोलेशनमा बस्नेलाई खाना र खाजाको व्यवस्था गरेका छन् । संघीय सरकारको मातहतमा सञ्चालन हुने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा भने प्रदेश ५ सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरिरहेको छ । जिल्लामा मापदण्डअनुसारको एक मात्र आइसोलेशन अस्पताल यही हो ।
नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, जानकी, वैजनाथ, र राप्तीसोनारीमा गरी १३ वटा आइसोलेशन सेण्टर सञ्चालनमा छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ क्वारेन्टाइनमा केही सुविधा थपेर जसोतसो आइसोलेशन सेण्टर बनाएको बताउँछन् । उनी भन्छन्–‘जिल्लाका आइसोलेशन सेण्टरहरू भरिभराउ छन् । थप संक्रमित पुष्टि भएमा अरू आइसोलेशन केन्द्र बनाउनुपर्ने खाँचो छ ।’ बाँकेमा अहिलेसम्म संक्रमितको संख्या करिब तीन सयको हाराहारीमा पुगिसकेको छ । एकजनाको मृत्यु समेत भइसकेको छ भने निको भएर फर्किनेको संख्या सयको हाराहारीमा छ ।
फ्रिडम फोरमसंगको सहकार्यमा ।