कोरोना, लकडाउन र राजनीति

युवराज शर्मा

कोरोना भाइरस एउटा भयानक सरुवा रोग हो । यस रोगको औषधि यद्यपि अत्तोपत्तो छैन । डाक्टर, विज्ञहरु पनि धेरै परेसानीमा छन् । यस रोगले धनी र गरिब भनेन । अमेरिकाजस्तो विशाल र धनाढ्य देश नि अक्क न बक्क बन्यो । सबैभन्दा धेरै मान्छेहरु अमेरिकामा यस रोगबाट मरेका छन् भने नेपालजस्तो सानो देश पनि अछूतो भएन । रोगको जन्मथलो चीनको वुहान सहर हो । तर चीन जस्तो प्रविधि, जनशक्ति, उपकरण र अर्थनीति राम्रो थियो । त्यहाँका स्वास्थ्यकर्मीहरुले रोग नियन्त्रण गर्न अग्रसर भए ।

यस रोगको प्रकृति हेरेर उपचारका प्रविधिहरु अपनाउन सरकार सफल भयो । उसले अपनाएका प्रविधिहरुमा लकडाउन, आइसोलेशन र क्वारेन्टाइन मुखय थिए । जसलाई चिनिया प्रविधि भनिन्छ । स्वास र श्राव परीक्षण गर्ने उपकरणहरुको कमी भएन भने स्वास्थ्यकर्मीहरुको अभाव थिएन । नागरिकलाई रोगको जानकारी गराएर नागरिकलाई चेतनाको भावना जगाउन सुरक्षा निकायहरु सफल थिए । त्यसैले वुहान सहरलाई लकडाउन गर्न चीन सफल भयो । अन्य स्थानहरुमा कोरोना भाइरस जसलाई कोभिड–१९ फैलन दिएन ।

रोगीलाई आइसोलेशनमा राखेर राम्रो उपचार गरेको हुँदा चाँडैभन्दा चाँडै नियन्त्रणमा लिएर अर्थनीतिमा प्रभाव पर्न दिएन । सरकारका जनप्रतिनिधिहरुको लगनशीलता र कार्यतत्परता देखाउन सकेका थिए । बाहिरी देशमा नागरिकलाई आफ्नो देश फिर्ता पठाइदिए र त्यहाँका मानिसहरु बाहिरबाट आएकालाई क्वारेन्टाइनमा १४ दिनदेखि २१ दिनसम्म राखेर स्वास र स्राव परीक्षण गरी स्वास्थ्यलाई घर पठाइयो भने विरामीलाई आइसोलेशन पठाइएको थियो ।

नेपालले लकडाउनमा प्रहरीहरुको कार्य रोग र त्यसबाट बच्ने प्रविधि सम्बन्धमा ज्ञान गराउन उनीहरुलाई त्यससम्बन्धी तालिम गराइएन । उनीहरुलाई त्यस रोगका पोष्टर, पमप्लेट र ज्ञानबद्र्धक, विषयवस्तुहरुको बोध गराउने काम सरकारबाट सम्बन्धित निकायहरुले गरेनन् । प्रहरीहरुलाई हातमा सिट्टी र अर्को हातमा लाठी लिएर सडकमा पठाइयो । कतिपय प्रहरीहरु पैदल थिए भने पहुँच पुगेका बाइक र गाडीमा घुम्थे । प्रहरीहरुको काम नागरिकलाई सम्झाउने, बुझाउने र माक्स लगाएर आवश्यक काममा निस्कनुपर्नेसम्बन्धी ज्ञान गराउन सकेनन् ।

उनीहरुमा जो पढेलेखेका थिए उनीहरुको बोली र व्यवहार सरल थियो । तर चाकडी र चाप्लुसीमा रमाउनेहरुको हैकम ठूलो स्वर थियो । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका नेताहरु नै सत्तामा छन् । उनीहरुले पनि पुरानो शैली अपनाएकोमा आफ्नो कामको प्रशंसा गर्थे । प्रहरी र माओवादी बीचको द्वन्द्वजस्तो वातावरण नागरिक र प्रहरीहरु बीचमा देखिने वातावरण बनेको थियो । त्यसैले गाउँले किसानहरुले बारीमा उब्जाएको तरकारी बेच्न पाएनन् । धेरै नोक्सानी भयो । दूधको विक्री घट्यो । सरकारले रोगलाई शान्त बनाएर मान्छेहरुलाई रोगबाट मुक्ति दिलाउने काम भएन । स्वास्थ्यकर्मीहरुले उपकरणहरु, पिपिई र सुरक्षा नीति दिन स्वास्थ्य मन्त्रालय पछि प¥यो । कोरोना बढ्दै गयो ।

खाद्य आपूर्तिमा नेपाली कमजोर घरपरिवाट छन् । अरु समय विदेशमा गएर धन कमाई ल्याएपछि घरपरिवार पाल्न सक्छन् । यस्तैवर्गका मान्छेहरु खेतीपाती गर्नेवर्ग हुन् । यो वर्गलाई सरकारले बुझेन । अहिले भारतबाट फर्कनेहरु यस्तै वर्गका छन् । अन्य मुलुकबाट आउनेहरु पनि धेरैजसो यस्तैवर्ग छन् । यिनीहरुलाई कृषि क्षेत्रमा कस्तो नीति अपनाएर राहत दिने हो ? वा अनुदान प्रदान गर्ने हो ? यस सम्बन्धमा सरकारी नीति प्रष्ट छैन । सहकारीको नामबाट अर्बौं रकम बाँड्दै आएको कार्यशैली अपनाउने नीति पाइन्छ ।

यसले नागरिकको कृषि कार्यमा झुकाव बढाउने छैन । धेरै खेतीपाती गर्नेवर्गलाई निराश बनाउने छ । लकडाउनले खेती गर्नेलाई कुनै सहयोग पु¥याएको छैन । गाउँबाट बजार आउन पाउँदैन । वीऊ, मल, ओखती, उपकरण गाउँमा पाइन्न । लकडाउन खुकुलो बनाइन्न र आवागमन व्यवस्थापन गराइन्न भने कस्तो लकडाउन हो ? यति लामो समयसम्म नागरिकले पीडा भोग्नु परेको छ । उपलब्धि शून्य छ । आर्थिक अवस्था संकटमा परिसकेको छ । देश धरापमा छ । सत्ता चलाउनेहरु चिल्ला गाडीमा घुम्छन् । मीठो मसिनो खान्छन् । उनीहरुलाई नागरिकको संकट बुझ्नसकेका छैनन् ।

क्वारेन्टाइन, शाीन्त, सुरक्षा र मानसिक सन्तुष्टिको आधार बनेनन् । यातनागृह बनाइयो । मृत्यु वरण गर्नेहरु पनि धेरै क्वारेन्टाइनमा बसेकामध्येहरु पर्छन् । यस्ता क्वारेन्टाइनमा सुधार गर्न नसक्ने सरकरी कार्यलाई गणतन्त्र भन्न सकिन्न । अहिले लकडाउन गरेर नागरिकको आवाज नसुन्ने नेताहरुको बानी बस्यो ।

नेपालमा राजनीतिक दलहरुले परिवर्तन ल्याएको गाँथा गाउँछन् । तर सरकार नेकपाको दुईतिहाईको छ । कार्यशैली पञ्चायती व्यवस्थाको अनुकरणात्मक छ । रजर्शी ठाँटमा सत्ता चलाउनेहरुको शैली छ । नेकपाको नयाँ रुप राजनीतिमा देखिन्न । नागरिकले राणाकालीन दमन शैली भोगिरहेका छन् । गणतन्त्रको अनुभूति गर्न पाएका छैनन् । सरकारले कोरोना रोकथामका लागि अर्बौं रकम खर्च भयो भन्छ । तर क्वारेन्टाइन यातनागृह र मृत्युवरण स्थल बने । कहाँ खर्च भयो ? भन्ने शाहस नागरिकसँग छैन ।

कस्तो राजनीतिक परिवर्तन हो भन्न सक्ने नेताको आवश्यकता छ । सबै क्षेत्रमा अवसरको खोजी मात्र छ । सरकारमा बसेकाहरुले कुर्सीको लडाई नगर । नागरिकलाई कोरोना भाइरसबाट बच्ने, आर्थिक समस्या निभाउने र काम गरेर खान पाउने व्यवस्था चाँडै गर । धेरै अबेर भयो । समय बित्दै छ । समयको महत्व बुझ्न नसक्ने व्यक्तिलाई अचानोको घाउ थाहा हुँदैन । समयमा सुधार गरौँ । नागरिकको आक्रोश बढ्दै गयो भने नेताहरुको अस्तित्व गुम्ने छ, हराउने छ । नागरिक दुःखी बन्ने छन् । गणतन्त्र मनपरी गर्ने राजनीति बन्दै छ ।