विश्वव्यापी कोरोना भाइरसका संक्रमणका कारण स्थगित गरिएको एसइई परीक्षा अन्ततः यस अघिको मोडेलमा नहुने भएको छ । गत चैत ६ गतेदेखि परीक्षा सञ्चालनको अन्तिम तयारी भइरहेकाबेला कोरोना संक्रमणको महामारी नियन्त्रण उच्च स्तरीय संयन्त्रले एकाएक एसइई परीक्षा स्थगनको सूचना जारी गरेसँगै परीक्षा रोकिएको थियो । परीक्षाको उपयुक्त समय कुरिरहँदा कोरोनाको संक्रमणको जोखिम पनि न्यून हुन नसकेको अवस्थामा नेपाल सरकारले परीक्षा नगरी सम्बन्धित विद्यालयको स्वमूल्याङ्कनका आधारमा विद्यार्थीहरुलाई माथिल्लो कक्षा चढाउने निर्णय बुधवारको मन्त्रिपरिषदले गरेको छ ।
शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समूहको सिफारिसका मुख्य तीनवटा बुँदाहरुमा छलफल गरी मन्त्रिपरिषद्मा प्रस्ताव गरेपछि सरकारले सम्बन्धित विद्यालयको मूल्याङ्कनका आधारमा विद्यार्थीहरुलाई माथिल्लो कक्षा चढाउने तयारी भएको छ । सम्भवतः केही दिनमै शिक्षा मन्त्रालयले सबै तहका शिक्षा समन्वय ईकाईमा यो विषयमा केही मापदण्ड बनाएर परिपत्र गरेपछि विद्यालयहरुले यस अघिका मूल्याङ्कनका आधारमा विद्यार्थीहरुलाई ग्रेडिङ गर्ने छन् । यसमा सम्भवतः कुनै पनि विद्यार्थीहरु असफल भने हुने छैनन् । सम्बन्धित विद्यालयले गरेको स्वमूल्याङ्कनलाई आधार मानेर माध्यमिक शिक्षा परीक्षा बोर्डले सम्बन्धित विद्यार्थीलाई ग्रेडसिट र सर्टिफिकेट पनि उपलब्ध गराउने छ ।
कोरोनाको संक्रमणको जोखिमलाई तेछ्र्याएर एसइई परीक्षार्थीहरुलाई एक शैक्षिक–सत्र ढिला कुनै पनि हालतमा गरिनु हुँदैन भन्ने आम शिक्षाविद र विद्यार्थी अभिभावकको चाहनालाई यो निर्णयले सम्बोधन गरेको छ । एसइई परीक्षाका लागि ठूलो लगानी गरेका अभिभावक र मिहिनेत गरेका विद्यार्थिहरुलाई कोरोनाको विश्वव्यापी महामारीले आप्mनो अन्तरनिहित खुवी प्रदर्शन गर्न यो अभ्यासले रोकेको छ । कतै भविष्यमा यो व्याचलाई कोरोना व्याचका रुपमा पनि हेरिने सम्भावना रहन्छ । यद्यपि यो विषम परिस्थितिमा परीक्षा लिनु सम्भव पनि थिएन । यसलाई आम अभिभावक, विद्यार्थी र विद्यालयहरुले स्वीकार्नु पर्दछ ।
किनकि १२ कक्षासम्मको शिक्षालाई सरकारले माध्यमिक शिक्षाका रुपमा अभ्यास थालिसकेको छ । त्यसपछिको उच्च शिक्षाले नै विद्यार्थीको इच्छा र रुची अनुसारको शैक्षिक गन्तव्य कोर्ने बाटो खुल्ने छ । यो अर्थमा विद्यार्थीहरुलाई माथिल्लो कक्षा अध्ययनको अवसर प्रदान गर्न यो विकल्प खोजिनु स्वाभाविक पनि हो । यसलाई सबैले स्वागत गरेका छन् ।
हो, सरकारले यस अघि तोकेको चैत ६ गतेदेखि नै एसइई परीक्षा सञ्चालन गरेको भए यो विषम परिस्थिति आउने अवस्था हुँदैनथ्यो । तर त्यो समयमा सरकार समग्रमा चुकेकै हो । तर संक्रमणको विश्वव्यापीकरणसँगै पछिल्लो समयमा पुरानै मोडेलमा परीक्षा सञ्चालन गर्ने सम्भावना पनि थिएन । त्यसैले सरकार यो निर्णय लिन वाध्य भयो । तर पनि अब यसको साँचो सम्बन्धित विद्यालयलाई आएको छ । विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयहरुले कसरी मूल्याड्ढन गर्ने छन् भन्ने विषयमा शिक्षाको माथिल्लो ईकाईले केही मोडालिटी दिने छ । जसमा विद्यार्थीमा रहेको अन्तरनिहित सीप र खुवीलाई पनि सम्बोधन गर्न सकियोस् भन्ने आम अभिभावकको चाहना रहेको पनि छ । एसइईको तयारीमा कति अभिभावकहरुले अतिरिक्त समय लगानी गरिरहेका हुन्छन्, कतिपयले अतिरिक्त कोचिङ कक्षाको व्यवस्थापन गरिरहेका हुन्छन् ।
विद्यालयहरुले पनि विद्यार्थीहरुलाई एसइई परीक्षामा विद्यार्थीलाई अब्बल मिहिनेत गरिरहेका हुन्छन् । यी सबै लगानी र मिहिनेतलाई पनि स्वमूल्याङ्कनको मोडालिटीले सम्बोधन गरिनु पर्दछ । विद्यार्थीहरुलाई उच्च शिक्षाका अवसरमा कोरोना व्याचका रुपमा हेरिने वातावरण अवश्य सिर्जना हुने छैन । स्वमूल्याङ्कन प्रक्रियामा विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमतालाई सम्बोधन गर्ने व्यवस्थाको सिर्जना होस् । यो मूल्याङ्कनले एसइई परीक्षाको एकरुपतामा अनेकता प्रदर्शन गर्ने छैन भन्ने हाम्रो अपेक्षा हो । एसइई परीक्षाको प्रतीक्षामा रहेका विद्यार्थीहरुलाई उच्च शिक्षामा सफलताको शुभकामना व्यक्त गर्दछौँ ।