कमिरेचौर,२९ जेठ । सोनापुर मिनिरल्स आयल प्रालिले बंगलाचुली गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको छ । सोनापुर मिनिरल्स आयल प्रालिले बिहिबार १ सय २० बोरा चामल १ सय २० पोका तेल र १ सय २० किलो नुन सहयोग गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीलाई मध्यनजर गर्दै देशभर भएको लकडाउनको समयमा गाउँपालिकाको क्वारेन्टाइन तथा आईसोलेशनमा बसेका स्थानीयलाई खाना खुवाउन सहयोग होस् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरेको हो ।
राहत सामग्री सोनापुरका प्रतिनिधिले बंगलाचुली गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत नेवबहादुर वली र उपाध्यक्ष यमुना घर्तीलाई हस्तान्तरण गरेका थिए । यसैविच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाङ जिल्ला सचिव तुलसीराम पुन (सुवास)को अगुवाईमा विभिन्न व्यक्तिहरुले सहयोग गर्ने क्रम निरन्तर जारी रहेको छ ।
पुनको पहलमा समाजसेवी नवलसिङ जिएम तथा गोर्खा ईन्टरनेस्नल बोर्डिङको तर्फबाट २ सय ५० किलो चामल , २५ किलो मसुरो दाल , ३० किलो चना , ३० किलो केराउ , ८ किलो प्याज र ५ किलो नुन सहयोग प्राप्त भएको छ ।
त्यसैगरी व्यवसायी नारायण पौडेल र राजेश आचार्य द्वारा ११ वटा कमल सहयोग प्राप्त भएको छ । नेकपा नेता सुवास पुनको पहलमा यस अघि पनि खाद्यान्न तथा तरकारी,कपडा,खेलकुदका समग्रीहरु प्राप्त भएको छ ।