क्वारेन्टाइका गुनासो सुन्न टेलिफोन व्यवस्था

दाङ, २८ जेठ । दाङका क्वारेन्टाइनमा रहेकाहरुले आफूहरुको गुनासो सुन्ने निकाय नभएको बताइरहेको बेला जिल्ला प्रशासन कार्यालय दाङले उनीहरुको गुनासो सुन्ने व्यवस्था मिलाएको छ ।

कार्यालयले क्वारेन्टाइमा रहेकाहरुको गुनासो सुन्नका लागि अलग टेलिफोनको व्यवस्था गरेको हो । जिल्ला प्रशासन कार्यालय दाङले बुधवार एक सूचना प्रकाशित गरेर ‘जिल्लाका कुनै पनि क्वारेन्टाइनमा गुनासो भएमा जिल्ला प्रशासन कार्यालयको फोन नम्बर ०८२–५६३५४० मा सम्पर्क गर्न’ आग्रह गरेको छ ।

‘क्वारेन्टाइनहरुलाई व्यवस्थित र गुनासोरहित बनाउने हाम्रो प्रयास हो’, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने– ‘त्यसैले यो अभ्यास शुरु गरेका हौं ।’ उनले उक्त नम्बरको टेलिफोनमा जुनसुकै समयमा पनि फोन उठ्ने र त्यहाँ टिपाइएको गुनासो तत्काल सम्बन्धित निकायले सम्बोधन गर्ने गरी व्यवस्थापन गर्दै लैजाने पनि बताए । यस्तो व्यवस्था संभवतः नेपालमै पहिलो पटक गरिएको हो ।