अमरराज आचार्य
दाङ, २८ जेठ । दाङका विभिन्न क्वारेन्टाइनमा बसेकाहरुको साझा गुनासो सुनियो– ‘हाम्रो गुनासो सुन्न कोही पनि आउँदैन, कसलाई सुनाउने हो ?’ सुशासनको प्रत्याभूति दिनका लागि सार्वजनिक निकायमा गुनासो सुन्ने अधिकारीको व्यवस्था गर्ने अभ्यास सरकारी निकायहरुले गर्दै आएका छन् ।
तर, भर्खरै थालिएको क्वारेन्टाइनको अभ्यासमा यो पक्ष अझै छुटिरहेको छ, जसका कारण गुनासो गर्ने ठाउँसमेत नपाएको क्वोन्टाइनमा रहेकाहरुले गर्दै आएका छन् । ‘क्वारेन्टाइनमा कोही पनि नआउने भएकाले गुनासोसमेत गर्न पाएका छैनौं’, उनीहरुको भनाइ छ– ‘टेलिफोनमार्फत जनप्रतिनिधिहरुलाई आफ्ना समस्या राख्दा कि त फोन उठ्दैन कि त समस्याको सुनुवाई नै हुँदैन ।’
महामारीको समयमा मानसिक आघातको समस्या पनि उत्तिकै हुने विज्ञहरु बताउँछन् । जनस्वास्थ्य विज्ञ दुर्गेशकुमार योगी भन्छन्– ‘यस्तो बेलामा उनीहरुको कुरामात्रै सुनिदिने हो भने त्यसले मानसिक आघातको अवस्था आउन दिँदैन ।’ तर क्वारेन्टाइनमा बस्नेहरुले कुरा सुनाउने ठाउँ नपाउँदा अर्को समस्या थपिने हो कि भन्ने चिन्ता थपिएको उनको भनाइ छ । धेरै संख्याका लागि एउटै शौचालयको प्रयोग गर्नुपर्ने बाध्यता, खानपिनको व्यवस्थापन सरकार आफैले जारी गरेको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसार नभएको, एउटै कोठामा धेरैजना बस्नुपरेको, खाना बोकेर घण्टौं टाढाबाट परिवारका सदस्य आउन परेको, पिउने पानीको पर्याप्तता र शुद्धतामा समस्या देखिएको, ओढ्ने–ओछ्याउने कपडाको उपलब्धतामा पनि समस्या देखिएको गुनासो क्वारेन्टाइनमा बस्नेहरुको रहेको छ ।
मानवअधिकार संगठनले जिल्लाका ३२ क्वारेन्टाइनको अनुगमन गरेको छ । ‘घोराही क्षेत्रका क्वारेन्टाइनमा बढी समस्या देखियो, अरु ठाउँमा खासै गुनासो आएन’, संगठनका सभापति ई. ऋषिराम शर्माले भने– ‘समस्या देखिनु एउटा कुरा हो, समस्या सुनाउने ठाउँ पाइएन भन्ने गुनासो धेरै सुनियो रझेना र गंगा माविमा रहेका क्वारेन्टाइनमा ।’ घोराही उपमहानगरपालिका वडा नं. २ गंगा माध्यमिक विद्यालय रामपुर क्वारेन्टाइमा बसेका एक व्यक्तिले आफूहरुको समस्या बुझ्न अहिलेसम्म कोही पनि नआएको बताए । ‘क्वारेन्टाइनमा कोही आउनु हुँदैन कसलाई हाम्रो समस्या सुनाउने ?’ उनले भने ।
पटक–पटक यसका बारेमा बताउन खोज्दा कुरा राख्नसमेत नपाएको उनको भनाइ रहेको छ । यसरी गुनासोसमेत सुनाउन नपाउँदा उनीहरुले अपहेलित महसुससमेत गर्न बाध्य छन् । विद्यालय नजिकैको बाटो भएर धेरैपटक जनप्रतिनिधिहरु ओहोर–दोहोर गरे पनि भित्र भने नपसेको उनले बताए । ‘शुरुको दिनमा आएर गएपछि कोही पनि फर्कनु भएको छैन’, उनले भने । आफूहरु बस्ने क्वारेन्टाइनमा खानेपानी र बत्तीको पनि समस्या रहेको उनी बताउँछन् । प्रायः क्वारेन्टाइनहरुमा सावुन तथा मास्कसमेत नपाएको उनीहरुको गुनासो रहेको छ । धेरैपटक सावुन, मास्क माग गरे पनि हालसम्म पाउन नसकेको त्यहाँ बस्नेहरुले बताए ।
‘खानेपानीसमेत गन्ध आउने भएकाले क्वारेन्टाइनमा रोग लाग्ने अवस्था रहेको छ’, उनले भने । जसले गर्दा पानीसमेत घरबाट ल्याएर खानुपर्ने बाध्यतामा उनीहरु छन् । गंगा माविको क्वारेन्टाइनमा अहिले महिला–पुरुष गरी ७० जना बस्दै आएका छन् । ‘हामीहरु भेडा बाख्राझैँ थुनिएर बस्नुपर्ने बाध्यता रहेको छ’, उनले भने । उनीहरुले २ वटा शौचालय प्रयोग गर्दै आएका छन् ।
सोही क्वारेन्टाइनमा बस्दै आएका अर्का व्यक्तिको पनि गुनासो उस्तै छ । क्वारेन्टाइनमा बस्दा आफूहरुले कुरा राख्न नपाएको बताए । ‘हामी घोराही उपमहानगरपालिकाका मेयरको वडाको क्वारेन्टाइनमा बस्दा पनि मेयरलाई देख्न पाएनौं’, उनले भने– ‘क्वारेन्टाइनमा बसेकालाई किन यस्तो व्यवहार ? हामी नागरिक होइनौं र ?’ यता घोराही उपमहानगरपालिका वडा नं. १८ रझेनामा रहेको क्वारेन्टाइनमा बसेकाहरुको पनि समस्या उस्तै रहेको छ । उक्त क्वारेन्टाइनमा ४८ जना बस्दै आएका छन् । ४८ जनाले एउटै शौचालय प्रयोग गर्नुपर्दा धेरै समस्या रहेको उनीहरुको भनाइ रहेको छ ।
पिसाव फेर्नका लागि १ घण्टासम्म पिसाब रोकेर पालो कुर्न रझेनाको क्वारेन्टाइनमा बसेकाहरुको बाध्यता हो । विद्यालयमा अरु शौचालय भए पनि प्रयोग गर्न नदिएको उनीहरुको गुनासो छ । २ वटा शौचालय भए पनि केही दिनअघि भारतमा मृत्यु भएको व्यक्तिको शवसँगै आएका एक व्यक्ति पनि रझेनामा बस्न थालेपछि एउटा शौचालय उनले प्रयोग गरे । त्यसपछि उक्त शौचालय अरुले प्रयोग नगर्ने गरेका कारण एउटै शौचालयको भरमा बस्नुपर्ने बाध्यतामा उनीहरु छन् ।
सेनिटाइजर, मास्कसमेत पाउन नसकेको उनीहरुको गुनासो रहेको छ । ‘समस्या त छन् नि, तर हामीले कसलाई आफ्नो गुनासो सुनाउने हो ? त्यो नै थाहा भएन’, क्वारेन्टाइनमा बस्ने एक व्यक्तिले भने । क्वारेन्टाइनको ब्यवस्थापन ज्यादै कमजोर हुँदा केही दिनअघि केही व्यक्तिहरु राति भागरे समुदायमा गएका थिए ।
तर घोराही उपमहानगरपालिकाले भने उनीहरुको गुनासो सुनेको र सम्बोधनको हरसम्भव प्रयास गरेको बताएको छ । नगरपालिकाका प्रवक्ता भरतमणि अर्यालले उनीहरुको माग बमोजिम न्यूनतम आवश्यकता पूरा गर्न आफूहरु प्रतिबद्ध तथा प्रयासरत भएको जानकारी दिए । ‘बाहिर कसले के भन्छ, फरक कुरा हो, हामीसम्म आएका गुनासा सुन्ने र सम्बोधन गर्ने कुरा भई नै रहेको छ’, उनले भने । अहिले जिल्लामा रहेका अधिकांश क्वारेन्टाइनहरुमा बस्नेहरुको गुनासो यस्तै रहेको छ ।
तुलसीपुर–८ स्थित अश्वारा माविमा रहेको क्वारेन्टाइनबाट एकजनाले गोरक्ष दैनिकको फेसबुक पेजमा म्यासेज पठाउँदै त्यहाँको अस्तव्यस्तताको चित्रण गरे । ‘६७ जना छौं, सामाजिक दूरी केही छैन । कोरोनाबाट बच्ने कुरा त परै जाओस् मानसिक रोग बढ्लाझै अवस्था छ’, उनको म्यासेजमा भनिएको छ । ‘संक्रमणका बारेमा र त्यसबाट जोगिने उपायका बारेमा जानकारी दिने गरे पनि हुने’, उनले आफूहरुको अपेक्षा यसरी लेखे ।
फ्रिडम फोरमसंगको सहकार्यमा तयार गरिएको ।