ट्रमा सेण्टर स्थापनामा प्रदेश सरकार

शिवराज खनाल
लमही, २८ जेठ । पटक–पटकको अवलोकन र अनुगमनपछि पनि लमहीमा ट्रमा सेण्टर स्थापनालाई संघीय सरकारले सार्थकता दिन नचाहेपछि प्रदेश सरकारले लमहीमै ट्रमा सेण्टर बनाउन अर्थपूर्ण प्रक्रिया सुरु गरेको छ । यसै महिना प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत लमहीमा ट्रमा सेण्टर स्थापनालाई प्राथमिकतामा राखेको थियो ।

अघिल्लो वर्ष पनि संघीय स्वास्थ्य मन्त्रालयका तत्कालीन योजना तथा अनुगमन शाखाका प्रमुख डा. विकास देवकोटा सहितको विज्ञ टोली आएर लमहीमा केन्द्रीय स्तरको ट्रमा सेण्टर बनाउने भन्दै यसमा स्थानीय सरकार र प्रदेश सरकारको पनि सहयोग र समन्वयको अपेक्षा गरेको थियो । अन्ततः संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा यो विषयमा केही सम्बोधन नगरेपछि प्रदेश सरकारले यसलाई निरन्तरता दिन प्रक्रिया थालेको हो ।

‘बजेट समेतको सुनिश्चितता भइसकेको छ, अबको दुई वर्षभित्र लमहीमा ट्रमा सेण्टर सञ्चालनमा आउने छ’—प्रदेशसभा सदस्य रेवतीरमण शर्माले गोरक्षलाई भने । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले हालै बजेट सुनिश्चिता समेत गरेको उनको भनाई थियो । मन्त्रालयले प्रदेश योजना आयोगलाई चिठी पठाएर वहुवर्षीय योजना सुनिश्चितताका लागि आग्रह गरेसँगै चालु आर्थिक वर्षकै लागि १५ करोड रुपैयाँ विनियोजन भएको थियो ।

तर चालु आर्थिक वर्षमा यो रकम खर्च हुने सम्भावना भने छैन । खर्च नभएको अवस्थामा पनि वहुवर्षीय योजना भएकाले बजेट फ्रिज नहुने बताइएको छ । यसैगरेर आगामी आर्थिक वर्षका लागि लमहीमा ट्रमा सेण्टर स्थापनाका लागि थप २३ करोड ४३ लाख ४२ हजार रुपैयाँ गरी झण्डै ४० करोडको लागतमा ट्रमा सेण्टर स्थापना हुने छ ।

पूर्व–पश्चिम राजमार्गको करिब मध्यविन्दुमा रहेको यो क्षेत्रमा विशेष गरी दुर्घटनाका विरामीहरुको उपचार गर्न महत्वपूर्ण हुने अपेक्षा प्रदेश सरकारले गरेको छ । राजमार्गमा हुने दैनिकजसो दुर्घटनाका घाइतेहरुले हेलिकोप्टर चार्टर गरेर समेत सुविधासम्पन्न अस्पतालमा जाने अवस्थालाई ध्यानमा राखी प्रदेश सरकारले लमहीमा निर्माण हुने ट्रमा सेण्टरालाई प्राथमिकता दिएको हो ।

‘बजेटको सुनिश्चितता भइसकेको छ, अबको करिब दुई वर्षभित्र ट्रमा सेण्टर सञ्चालनमा आउने छ’– प्रदेशसभा सदस्य शर्माले भने । अस्पताल सञ्चालनमा आएपछि विरामीलाई उपचारका लागि अन्यत्र रिफर गर्ने होइन, विशेषज्ञ चिकित्सकलाई चार्टर गरेर ट्रमा सेण्टरमा ल्याएर पनि विरामीको उपचार गरिने सांसद शर्माले बताए ।

यस क्षेत्रमा सुविधा सम्पन्न स्तरीय अस्पताल नहुँदा विशेष गरी दुर्घटनाका विरामीहरुले अकालमै ज्यान गुमाउने अवस्थासँगै अधिकांश दुर्घटनाका विरामीहरुले समयमा उपचार नपाएका कारण अङ्गभङ्गको अवस्था समेत व्यहोर्नुपर्ने वाध्यता रहेको छ । सवारी साधन चलेको बेलामा राजमार्गमा हरेक दिनजसो दुर्घटना भइरहन्छ । दुर्घटनामा परेर मानिसहरु घाइते हुन्छन् ।

उपचारको लागि लमही अस्पताल पु¥याइन्छ । प्राथमिक उपचार गरेर त्यहाँबाट नेपालगञ्ज या बुटवल पठाउने गरिन्छ । बुटवल या नेपालगञ्ज यात्राको क्रममा घाइतले एम्बुलेन्समा प्राण गुमाउने गर्छन् । उपचारको अभावमा राजमार्गमा हुने सवारी दुर्घटनामा परेका घाइतेले अकालमा ज्यान गुमाउनुपर्ने वाध्यतालाई यो अस्पतालले हटाउने लमहीका स्थानीय समाजसेवी शोभाराम पौडेलले बताएका छन् । ‘हामी धेरै आशावादी छौँ कि यो अस्पताल सञ्चालनसँगै यस क्षेत्रका धेरै दुर्घटनाका गम्भीर घाइतेहरुले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने छैन ।’

सरकारी निकायले ट्रमा सेण्टर निर्माणको कागजी प्रक्रिया तयारी गरिरहेका छन् । वहुवर्षीय टेण्डरमार्फत् लमहीमा सुविधा सम्पन्न अत्याधुनिक ट्रमा सेण्टर बनाइने प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए । प्रदेश सरकारले प्रथामिकताका साथ लमहीमा ट्रमा सेण्टर बनाउने योजनालाई समेटेको शर्माले बताए । यो अस्पतालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै विरामीलाई उपचार सेवा प्रदान गर्ने पनि बताइएको छ । लमहीदेखि पूर्व बुटवल र पश्चिममा कोहलपुरसम्मको भू–भागमा कहीँकतै सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिकले उपचारको लागि निकै सास्ती खेप्नुपरेको छ ।

४० करोडको लागतमा ट्रमा सेण्टर निर्माण हुने स्टिमेट तयार गरिएको छ । वहुवर्षीय ठेक्कामार्फत् दुई वर्षभित्र काम सक्ने गरी योजना अघि बढेको सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवले जानकारी दिए । ट्रमा सेण्टरको मुख्य भवन, आकस्मिक भवन, थेरापी भवन, क्यान्टिन तथा ब्लड बैंकलगायत अन्य पूर्वाधार बनाइने छ ।

पूर्व–पश्चिम राजमार्ग र लमही अस्पतालको बीच भागमा ट्रमा सेण्टर निर्माण गरिने छ । उद्यमशील सहकारी संस्थाको कार्यालय रहेको स्थानमा ट्रमा सेण्टर बन्ने र सहकारी संस्थाको कार्यालय सञ्चालनको लागि स्थानीय सरकारले अन्यत्र व्यवस्थापन गर्ने भएको हो । लमही नगरपालिकाले ३५ दिनभित्र सहकारी संस्थालाई कार्यालय अन्यत्र सार्न आग्रह गर्दै पत्र लेखेको थियो ।

सोही पत्रको आधारमा प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, प्रदेशसभा सदस्य सरस्वती गौतम, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्बासे सहित सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी, पूर्व अध्यक्षहरु सहितको विशेष बैठकले ट्रमा सेण्टरको लागि ठाउँ खाली गर्ने, सहकारी संस्थाको व्यवस्थापनको लागि विकल्पहरुको खोजी गर्न एउटा कार्यदल समेत गठन गरिएको छ ।